माउन्टेन इनर्जीको आईपीओ भर्नुभयाे ? बुधबार अन्तिम दिन

काठमाडौं । माउन्टेन इनर्जी नेपालले जारी गरेकाे प्राथमिक सेयर(आईपीओ) मा आवेदन दिने भाेलि अर्थात बुधबार(मंसिर ३ गते) अन्तिम दिन रहेकाे छ । गत कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला भएकाे संस्थाकाे उक्त आईपीओमा सर्वसाधारणले भाेलि साँझ ५ बजेसम्म भर्न पाउने छन् । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । यससँगै, सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरको लागि आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् । कम्पनीको सेयरमा इच्छुक लगानीकर्ताले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गते(बैंकिङ समय भित्र)सम्ममा आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था रहेको बिक्री प्रबन्धकले जानकारी गराएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ। कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि कूल १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।

अपि पावरको सेयर मूल्य समायोजन

काठमाडौं । अपि पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो । समायोजन पश्चात संस्थाको पहिलो कारोबार भोलि अर्थात मंसिर ३ गतेदेखि प्रतिकित्ता २६३ रुपैयाँबाट शुरु हुने छ ।

कोरोना भ्याक्सिन बनेको खबरले भारतीय सेयर बजारमा उछाल, सेन्सेक्सले ४४ हजार पार गर्यो, नेपाली सेयर मार्केट के होला ?

काठमाडौं । आज भारतीय सेयर बजारमा निकै उछाल आएको छ । आज बजार खुला भएको केही समयमै बजार एकाएक वृद्धि भइहरेको छ । आज सेन्सेक्सले ४४ हजार पार गरेको छ । यस्तै, निफ्टीमा पनि ९० अंकको वृद्धि भएको छ अहिले यसले १२ हजार ८ सय ७० आसपासको कारोबार गरिरहेको छ । यो भारतीय सेयर बजारमा अहिले सम्मकै बढी वृद्धिदर हो । धेरैले यसलाई कोरोनाको भ्याक्सिनसँग जोडेका छन् भने कतिले अमेरिकी राष्ट्रपति जोन बाइडनको जितसँग जोडेका छन् । हिजो, अमेरिकी बजार पनि निकै उछाल आएको थियो । फार्मा कम्पनी मार्डाद्वारा कोरोना खोप उत्पादन गरेको घोषणापछि विश्वभरका सेयर मार्केटमा उछाल आइरहेको छ । विश्वका अधिकांश देशको सेयर बजारमा उछाल आइरहेको बेला अब नेपालको सेयर बजारले भने कुन रुप लिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ । दशैंपछि खुलेको नेपाली बजारमा निकै उत्साह देखिएको थियो । विगत लामो समयदेखि खस्केको सेयर बजारमा दशैंपछि भने निकै उछाल आएको थियो । मार्केट बढेर १७ सय १८ विन्दु पार गरेको थियो । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसुचक १८ सय ८१.४५ विन्दुमा पुगेको थियो । अझै पनि सेयर बजार बढ्ने अपेक्षा धेरैको छ ।