मौद्रिक नीतिको पर्खाइमा सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

काठमाडौं । लगानीकर्ता चालु आर्थिक वर्षको मौद्रिक नीतिको पखाईमा रहेका छन् । पछिल्लो समयमा सेयर बजार सामान्य अंकले वृद्धि हुनुले बजारका लगानीकर्ताले मौद्रिक नीति कुरेर बसेको भन्ने बुझिन्छ । बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले आइतबार जस्तै सोमबारको बजारमा पनि झिनो अंकको वृद्धि भएको छ । सोमबारको बजार अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशत अर्थात १.४७ अंकले बढेर ३१०९.६० बिन्दुमा पुगेको छ । बजारमा कुल २२४ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर १४ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ६२८ रुपैयाँमा भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको अग्रस्थानामा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । अरुण भ्यालीसहित बढी कारोबार गर्नेको शीर्ष ६ स्थानमा सबै हाइड्रो कम्पनी रहेका छन् । अपर तामाकोशीको ५८ करोड ९९ लाख, अपि पावरको ५३ करोड ८० लाख, सिनर्जी पावर डेभलपमेन्टको ५० करोड ४५ लाख, यूनाईटेड मोदी हाइड्रोपावरको ४५ करोड ९० लाख र नेशनल हाइड्रोपावरको ४२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सो दिन आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डभेलपर्स, यूनियन हाइड्रोपावर र ज्योति विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, नाङ्दी ग्रुप पावरको ९.९९, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.९८ र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

राधी विद्युतको हकप्रद सेयर मुक्तिनाथ क्यापिटलले निष्काशन गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयर मुक्तिनाथ क्यापिटलले निष्काशन गर्ने भएको छ । कम्पनीले १ बराबर १.४७५२ अनुपातको हकप्रद सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्तिसँगै क्यापिटलले कम्पनीको चुक्ता पुँजीको १४८।५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । हालै बोनस सेयर वितरण पश्चात कायम भएको चुक्ता पुँजीको सो प्रतिशत अर्थात ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

…अर्थात ‘मन्थ अफ दी आईपीओ’

काठमाडौं । साउन महिना ‘मन्थ अफ दी आईपीओ’को जस्तै भएको छ । यो महिना ७ कम्पनीका करिब २ अर्ब रूपैयाँ बराबरका आईपीओ जारी हुँदै छन् । ७ वटा कम्पनीमध्ये केहीले आईपीओ जारी गरिसकेका छन् भने केही कम्पनीले आईपीओ जारी गर्ने मिति तय गरिसकेका छन् । यससँगै साउनको अन्त्यसम्ममा ७ कम्पनीले कूल एक करोड ८२ लाख ३० हजार ३६ कित्ता आईपीओ बजारमा ल्याइसक्ने छन् । साउनमा मात्रै ३ वटा कम्पनीले आईपीओ जारी गरिसकेका छन् । यो अवधिमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र मैलुङ् खोला जलविद्युत कम्पनीले आईपीओ जारी गरिसकेका हुन् । जसमध्ये  मध्यभोटेकोशी जलविद्युत कम्पनीले गत साउन ४ गतेदेखि स्थिगित आईपीओको पुनः निष्काशन खुला गरेको हो । गत बैशाखमा बिक्री खुला भएको कम्पनीको आईपीओ सरकारले निषेधाज्ञा गरेको कारणले स्थगित भएको थियो । कम्पनीले स्थानीयवासीलाई ६ लाख अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । यससँगै स्थानीयवासीले यो साउन महिनाभित्र उक्त आईपीओमा आवेदन दिन पाउने छन् । त्यस्तै, तेह्रथुम पावर कम्पनीले गत साउन ५ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले स्थानीयवासीलाई ४ लाख कित्ता अर्थात ४० करोड रुपैयाँ बराबरको सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । मैलुङ् खोला जलविद्युत कम्पनीले पनि गत साउन १४ गतेदेखि आईपीओ निष्काशन गरी बिक्री बन्द समेत गरिसकेको छ । कम्पनीले सर्वसाधारणलाई कूल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसैगरी, सानिमा लाइफ इन्स्योरेन्सले साउन महिनामै अर्थात हाल आईपीओ जारी गरिरहेको छ । गत साउन २० गतेदेखि बिक्री खुला भएको कम्पनीको आईपीओ आजदेखि बिक्री बन्द हुँदै छ । कम्पनीले सर्वसाधारणलाई कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । थप तीन कम्पनीको आउँदै माथिका ४ वटा कम्पनी बाहेक थप ३ वटा कम्पनीले पनि यही महिनामा आईपीओ जारी गर्न मिति तय गरिसकेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था, साहस उर्जा र बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीले साउन भित्रै आईपीओ बिक्री खुला गर्न लागेका हुन् । जसमध्ये मानुषी लघुवित्तले सर्वसाधारणलाई र अन्य दुई कम्पनीले भने स्थानीय वासिन्दालाई आईपीओ बिक्री गर्न लागेका हुन् । कसले कति ? साउन २७ गतेदेखि मानुषी लघुवित्तको मानुषी लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दै छ । संस्थाले सो दिनदेखि एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न संस्थाले जनाएको छ । यससँगै इच्छुकले आगामी साउन २७ गतेदेखि छिटोमा साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्मा माग बमोजिम बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन बिक्री खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जानकारी गराएको छ । हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ । साउन २९ गतेदेखि साहस उर्जाको काठमाडौं । साहस उर्जाले आगामी साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता अर्थात ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर जारी गर्ने छन् । उनीहरुले साउन २९ गतेदेखि छिटोमा भदौ ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने छ । आईपीओमा ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । त्यस्तै, आयोजनाको इजाजतपत्र वहाल रहने अवधि २०७१ असोज २ गतेदेखि २१०६ असोज १ गतेसम्म रहेकोले विद्युत उत्पादन अनुमति पत्र २९ वर्ष बाँकी रहेको छ । र, साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३, प्रतिसेयर आम्दानी २२.४२ र सञ्चित नाफा ४० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.५६, प्रतिसेयर आम्दानी २१.८७ र सञ्चित नाफा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । बुद्धभुमि नेपाल हाइड्रोले साउन ३२ गतेदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक सेयरधनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटका बासिन्दाहरुका लागि सेयर बिक्री गर्न लागेको हो । उक्त आईपीओको बिक्री बन्द छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गते हुनेछ । सो अवधिमा इच्छुक बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन पाउने छन् । उनीहरुले ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । न्यादी हाइड्रोले भदौ १ गतेदेखि त्यस्तै, न्यादी हाइड्रोपावरले पनि आईपीओ जारी गर्ने प्रकृया पुरा गरी बिक्री खुला गर्ने मितिसमेत तय गरिसकेको छ । कम्पनीले आगामी भदौ १ गतेदेखि कुल १८ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक सेयरधनीहरुका लागि १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्काशन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको जानकारी गराईएको छ । यससँगै स्थानिय बासिन्दाले छिटोमा भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्ममा कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् । आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटलले जनाएको छ । त्यस्तै, कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले भने बुद्धनगरमा रहेकको कम्पनीको कार्यालयबाट आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनएमबि क्यापिटल रहेको छ ।