तीन लघुवित्तसहित ५ कम्पनीको बोनस सेयर सूचीकृत, प्रुडेन्सियल इन्स्योरेन्सको सेयर परिणत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । साउन २२ गते शुक्रबार मात्रै विभिन्न ५ कम्पनीको कूल ३४ लाख १८ हजार ६८९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये अधिकांश लघुवित्त वित्तीय संस्था रहेका छन् । नाडेप लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको छ । त्यसमा नाडेपको १० प्रतिशत अर्थात ३ लाख ६८ हजार कित्ता, मिथिलाको १२ प्रतिशत अर्थात १ लाख ४६ हजार ०८९ कित्ता र फर्वाड माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ०३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, इन्स्योरेन्स समूहको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र फाइनान्स समूहको रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५.६० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ । यससँगै, इन्स्योरन्समा संस्थापकको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत स्वामित्व कायम भएको छ ।
दुई दिनमै १५ लाखले भरे सानिमा लाइफको आईपीओ
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोश्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार साउन २१ गते अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जनाले २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ । सम्बन्धित समाचार आईपीओ ल्याउन लागेको सानिमा लाइफले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने
नेप्सेको सम्पूर्ण प्रणाली अब दुई दिन नचल्ने, यस्तो छ कारण
काठमाडौं । पुँजीबजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट अब दुई दिन नचल्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले साउन २२ गते (शुक्रबार) र साउन २३ गते (शनिबार) दुई दिन नेप्सेको सबै प्रणाली पूर्ण रुपमा नचल्ने जानकारी गराएको हो । नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि उक्त २ दिनका लागि साइट बन्द गर्न लागेको हो । साथै, नेप्सेले यथाशिघ्र छिटो मर्मत तथा स्तरोन्नति काम सकेर सञ्चालनमा ल्याउने समेत जनाएको छ ।