नेप्सेमा निरन्तर रेकर्ड ब्रेक, एकैदिन २ अर्बले बढ्यो कारोबार, ७ कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । पछिल्लो समय सेयर कारोबार मापक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले निरन्तर नयाँ नयाँ रेकर्ड राख्दै आएको छ । बुधबार नयाँ रेकर्ड राखेको परिसूचकले बिहीबार पनि दोहोरो अंकले बढेर अर्को नयाँ उचाईमा पुग्न सफल भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक १६.३२ अंकले बढेर ३१७८.९१ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । सो दिन नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । बजारमा एकैदिन २ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुधबार १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कूल २२५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अपर तामाकोशीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६२ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ८७३ रुपैयाँ रहेको छ । त्यसैगरी, विभिन्न ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । बिहीबार पाँचथर पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ३.९९ प्रतिशतले घटेर प्रतिकित्ता ५३० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २२ रुपैयाँले घटी हो ।
नेप्सेमा साढे १५ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेबलमा बढ्यो
काठमाडौं । आज पुँजी बजारमा ९ कम्पनीको मुल्य सर्किट लेबलमा बढेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युिनयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एनआरएन इन्फ्रास्टक्चर, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद विक्री भए । सबैभन्दा बढी रकम बराबरको कारोबार हुने ५ कम्पनीमा अपर तामाकोशी, अरुणभ्याली, अरुण काबेली, अपि र आइसीएफसी फाइनान्स कम्पनी रहे । अपर तामाकोशीको ६८ करोड ३० लाख, अरुणभ्यालीको ५७ करोड ३७ लाख, अरुण काबेलीको ५६ करोड १२ लाख,अपिको ५३ करोड १७ लाख र आईसीएफसी फाइनान्स कम्पनीको ५१ करोड ५१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ । आज नेप्से ०.९४ अंकले बढेर ३१६२.४१ विन्दुमा पुगेको छ । आजको बजारमा पनि जलविद्युत समुहमा उछाल आएको छ भने होटल तथा टुरिजम समुहमा पनि राम्रै उत्साह देखिएको छ । नेप्सेका अनुसार होटल तथा टुरिजम १०२.९१, जलविद्युत १४४.७९ र निर्जीवन बीमा समुह ४३.८ ले बढे । यस्तै, माइक्रोफाइनान्स समुहको उपसुचक ७.९९ अंकले र जीवन बीमा समुहको उपसुचक १०.०५ अंकले बढेका छन् । अरु समुहका उपसुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह १४.१७, ट्रेडिङ समुह ४९.६५, विकास बैंक ४१.१२, फाइनान्स कम्पनी समुहको उपसुचक १९.६६ अंकले घटे । म्यानुफ्याक्चरिङ प्रोडक्सन समुह ३.८४, अन्य समुह १२.४३, म्युचुअल फण्ड ०.११ र इन्भेष्टमेन्ट समुहको उपसुचक १.०३ अंकले घटेका छन् । आजको बजारमा जेविल्स फाइनान्सका लगानीकर्ताले ४.१७ प्रतिशत, एचआईडीसीएलका लगानीकर्ताले ३.३९ प्रतिशत, गोर्खाज फाइनान्स र बेष्ट फाइनान्सका लगानीकर्ताले ३.१६ प्रतिशत तथा एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.१३ प्रतिशतले गुमाए । आजको कारोबार समयभित्र ७४ कम्पनीको सेयरमूल्य बढ्यो भने १०५ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
मानुषी लघुवित्तको आईपिओ बिक्रि खुला
काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाले आज (साउन २७ गते बुधबार)देखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेकाे छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेकाे हाे । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको छ । त्यस्तै, ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न संस्थाले जनाएको छ । यससँगै इच्छुकले छिटोमा साउन ३१ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्मा माग बमोजिम बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन बिक्री खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जानकारी गराएको छ । हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने छ ।