जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न
काठमाडौं । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ शेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारोबार हेर्ने हो भने कूल कारोबार रकमको ३१ प्रतिशत हिस्सा यस क्षेत्रको छ । त्यस दिन १७ अर्ब ५० करोडको कूल कारोबार भएको थियो । त्यसमध्ये जलविद्युत् क्षेत्रको पाँच अर्ब ५० करोड बराबरको शेयर कारोबार भएको थियो । बिहीबार सबैभन्दा बढी न्यादी हाइड्रोको शेयर एक हजार ३४४ मा कारोबार भयो भने सबैभन्दा कम खानीखोलाको ३८० मूल्यमा कारोबार भएको थियो । जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिशेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको शेयरमा उछाल आएको तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउने गरेको छ । पछिल्लो दुई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । हुन पनि बजारको कारोबार र शेयर मूल्यको अवस्था हेर्ने हो भने चिलिमे, बुटवल हाइड्रोपावरलगायत कम्पनीको शेयर त्यस्तो आकर्षक देखिएको छैन तर अन्य कम्पनीको मूल्यमा अस्वाभाविकरूपमा बढेको देखिएको छ । पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्थाको आधार मानेर भन्दा पनि हल्लाको भरमा शेयर कारोबार भएको जानकार बताउँछन् । प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्याङ्कनबिनै शेयरमा हुने चलखेलका विषयमा नियमन निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ । नियमन प्रभावकारी किन भएन ? निरन्तर गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् नियमन आयोगका पदाधिकारीलाई मन्त्रालय बोलाएर सोबारे जानकारी लिएकी छिन् । उनले सर्वसाधारण लगानीकर्ता मर्काका पर्न नहुने भन्दै त्यसबारे आफ्नो जिम्मेवारी निर्वाह गर्न आयोगलाई आग्रह गरेकी छिन् । जलविद्युत् कम्पनीमा अनावश्यकरूपमा चलखेल गरी अप्राकृतिकरूपमा शेयरको मूल्य बढाई सर्वसाधारण लगानीकर्तालाई जोखिममा पार्ने तथा वास्तविक प्रवद्र्धक ओझेलमा पर्ने स्थिति उत्पन्न नहुने वातावरण बनाउन उनले आग्रह गरेकी हुन् । मन्त्री भुसालले जलविद्युत्को विकासमा जनताको लगानीको प्रतिफललाई सुनिश्चित गर्न तथा स्वस्थ पूँजीको निर्माण गरी सक्षम जलविद्युत् उत्पादन कम्पनीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएकी छिन् । लकिङ खुलेपछि छाडा विद्युत् नियमन आयोग ऐन, २०६४ र नियमावली, २०७५ अनुसार जलविद्युत् डेभलपरले साधारण शेयर जारी भएको तीन वर्षपछि आफ्नो शेयर बिक्री गर्न पाउँछन् । तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले शेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा राइट शेयर र बोनस शेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा शेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको सर्वसाधारण लगानीकर्ताको बुझाइ छ । बजार प्रभावित गरे कारबाही बैंकको ऋणसमेत नियमित गर्न नसक्ने आयोजनाको शेयर निरन्तर ‘बुलिस’ हुने गरेको अवस्थाबारे विद्युत् नियमन आयोगले नियमन गर्दै आएको छ । जलविद्युत् कम्पनीका लगानीकर्ताले आपसी मिलेमतो गर्ने र आफैँ किन्ने तथा सोही समूहका व्यक्तिले अर्को ब्रोकरबाट खरिद गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्ने गरेको गुनासोबारे आयोगका प्रवक्ता डा रामप्रसाद धितालले कानुनअनुसार नियमन भएको दाबी गरे । उनले विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले बजारको वास्तविकता बुझेर मात्र शेयर खरिद तथा बिक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे । रासस
साताको शेयर बजारः ७९ अर्बको कारोबार, नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा
काठमाडाैं । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिदबिक्री भए । साताभर नै जलविद्युत् उपसमूहको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । साताभर पाँच कारोबार दिन नै नेप्सेमा सुधार भई नै रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको थियो । त्यसदिन नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुग्यो । कूल दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता शेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४०.३८, होटेल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको थियो । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही ८१ करोड ९२ लाख २४ हजार पाँच सय ६० बराबरको कारोबार भयो । साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा उछाल देखियो । यस्तै कारोबार रकम १४ अर्बको हाराहारीमा रह्यो । त्यस दिन नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लियो । कूल दुई सय २५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयरमा उछाल देखियो । सो दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ६७ करोड ४८ लाख ५५ हजार आठ सय ६० बराबरको कारोबार भयो । सोमबार आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्सुरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो । साताको तेस्रो दिन मङ्गलबार नेप्सेमा उछाल देखियो भने बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब बराबर पुग्यो । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखियो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुग्यो । त्यस दिन नेप्से ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ मूल्यमा खरिदबिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लाग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ८९ करोड ५८ लाख ९३ हजार पाँच सय ३६ बराबरको कारोबार भयो । त्यस दिन १३ कम्पनीको शेयरमा सर्किट लाग्यो । साताको चौथो दिन बुधबार नेप्सेमा झिनो मात्रै सुधार भयो तर कारोबार रकम रु १५ अर्ब ४५ करोड बराबर भयो । त्यस दिन नेप्से ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुग्यो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुग्यो । कूल दुई सय ३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार सात सय ५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आयो । सो दिन पनि कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६८ करोड ३० लाख ७१ हजार सात सय एक बराबरको कारोबार भयो । बुधबार छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । साताको अन्तिम दिन नेप्सेमा कीर्तिमान कायम भयो । यस्तै बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब बराबर पुग्यो । विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६.४१ अङ्कले बढेर तीन हजार एक सय ७९ मा पुग्यो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यसदिन माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६२ करोड ७९ लाख ९७ हजार आठ सय बराबरको कारोबार भयो । बिहीबार सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने ?
काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज (असार ३० गते शनिबार) आईपिओ बाँडफाँड गरेको हो । क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये १ लाख ०६ हजार २ सय ९२ आवेदन रद्ध भएकाे छ । रद्द भएपछि बाँकि रहेका २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियाे । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ ।