साउदको जवाफः मलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न कानुनले रोकेको छैन
काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिएका छन् । सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा संलग्न भएको भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा प्रमुख कार्यकारी अधिकृत साउँदले नेप्से प्रमुखको हैसियतमा कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान कानुनले आफूलाई नरोकेको जवाफ दिए । ‘हाम्रो संचालक समितिको आचार संहिताले के भन्छ भने रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्ने छैन । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यहीँ प्रावधान अन्तर्गत यो सेयर कारोबार गरिएको हो । नियम मिचेर यो काम गरिएको होईन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनु पर्यो नि ?’ उनले भने । प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न समाचार माध्यामले सेयर कारोबारसम्बन्धि विद्यमान ऐन, कानुनको व्यवस्था नबुझि सर्वोच्च सिमेन्टको ओटिसी सेयर नियमक निकाय आफैले खरिद बिक्री गरेको भनेर झूटा समाचार सम्प्रेषण गरेको दावी समेत गरे । बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा गराउँदै नेप्से जस्ता नियाम निकाय आफैले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न भएको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानुनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गरे । उनले आफैमाथि प्रश्न उठ्ने गरी गैर जिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानवीन गरेर दोषीमाथि कारबाही गर्ने चेतावनी समेत दिए । समितिकी अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलगायतका नियामक निकायलाई सचेत गराइन् । उनले नेप्सेजस्ता संस्थाहरुलाई नीति र विधि अनुसार चलेर सेयर बजारलाई स्वस्थ ढंगले अघि बढाउन आग्रह गरेकी छिन् । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियामक निकायहरु आफैले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानुनी व्यवस्था गर्ने चेतावनी दिए । उनले रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भएपनि सेयर बजारमा त्यो नियम उलंघन गर्ने काम गरिएको भन्दै आपत्ति जनाए ।
तेह्रथुम पावरकाे आईपीओ भदौ ९ देखि खुल्ने
काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेकाे हो । कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारी, ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरु र ७ लाख ४४ हजार कित्ता सर्वसाधारणकाे लागि छुट्याएकाे छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
छोरीको सेयर कारोबारमा मलाई मुछ्न मिल्दैनः अध्यक्ष ढुंगाना
काठमाडौं । अध्यक्ष भिष्मराज ढुंगानाले छोरीमार्फत् गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ । आईतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण दिएका हुन् । बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यहरुलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए । बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उप कार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारमा भित्र पर्ने व्यवस्था धितोपत्र सम्बन्धि कुनै पनि ऐनमा व्यवस्था नभएकाले अध्यक्ष ढुंगानालाई सो विषयमा विवादमा तान्न नमिल्ने तर्क गरे । ‘धितोपत्र सम्बन्धि ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको छ, र विवाहित छोरीले सेयर खरिद बिक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ, हामीले अर्थ मन्त्रालयलाई पनि सोही प्रावधान खुलाएर स्पष्टिकरण दिएका छौं,’ उनले भने । सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुन विपरित छोरीको नाममा १० हजार कित्ता सेयर जारीको अनुमति पाउनु भन्दा करिव ३ साता अघि खरिद गरेको आरोप लागेको थियो । सोही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको हो । बैठकमा बोल्दै समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यहरुलाई पूँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैले गरेको भन्दै आपत्ति जनाएका थिए । उनले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनि बोर्डका सदस्यहरुलाई प्रश्न पनि गरे । यता, बोर्ड अध्यक्ष ढुंगानाले भने विवादित छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको जवाफ दिए । उनले विवाहित छोरी परिवारका सदस्य नरहने धितोपत्र सम्बन्धि ऐनमा स्पष्ट व्यवस्था भएकाले छोरीको सेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्क समेत गरे । समितिका सदस्यहरुले परिवारलाई सेयर बाँडफाँड गरेर गलत काम नगर्न बोर्डका पदाधिकारीहरुलाई सचेत गराएका थिए ।