कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट, किन्नेको ओइरो

काठमाडौं । बुधबार नियमित कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट लागेको छ । ११ बजेर २ मिनेट नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७४३.८० रुपैयाँमा खुलेको थियो । त्यसको केही अवधिमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०२.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७२.९० रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ७२९.३० रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर बेच्नेको भन्दा किन्नेको ओइरो लागेको छ । हालसम्म ११ लाख ८० हजार ७९१ कित्ता सेयर किन्नेको चाप देखिएको छ । कम्पनीले सेयरधनीलाई लाभांश र लाभांशपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । बुधबार बिहान एक सूचना प्रकाशित गर्दै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त बोनस सेयरको लागि कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, १७ प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । उक्त प्रस्तावलाई कम्पनीको साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा भदौ २६ गते बिहान ११ बजे जुम मार्फत बस्दै छ । सभामा जाने प्रयोजनको लागि आगामी भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८५ करोड रुपैयाँ कायम हुने छ । त्यसपछि कायम हुने उक्त चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्ने छ ।  

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सिबिआईएल क्यापिटलले सञ्चालनमा ल्याएको दुई फण्डको प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक रहेको क्यापिटलले ‘सिटिजन्स म्युचुअल फण्ड १’ र ‘सिटिजन्स म्युचुअल फण्ड २’ नामक योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ योजनाको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट योजनाका ईकाईधनीलाई कर समेत ४० प्रतिशत अर्थात ३२ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २को नाफाबाट पनि इकाईधनीलाई ४० प्रतिशत (कर सहित) अर्थात २२ करोड ४९ लाख रुपैयाँ बराबरको प्रतिफल दिने प्रस्ताव गरेको छ । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई क्यापिटलको सभाले पारित गरेपश्चात मात्रै सम्बन्धित योजनाका इकाईधनीले सो मात्राको प्रतिफल पाउने छन् ।  

रुरु जलविद्युतले एकैपटक घोषणा गर्यो दुई वर्षको लाभांश, बोनस र नगद कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाले एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । भदौ १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकैपटक आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले दुई वर्षको साधारण सभा पनि एकैपटक आव्हान गर्ने छ ।