सेयर बजारबारे संसदमा झुट बोले अर्थमन्त्री शर्माले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार बारे संसदमा झुट बोलेका छन् । सेयर बजारबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच कुनै कुरा नभएको भनेर अर्थमन्त्री शर्माले झुट बोलेका हुन् । आज (शुक्रबार) प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको भन्दै झुट बोलेका हुन् । ‘मैले गभर्नरसँग फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर, त्यो सत्य होइन,’ अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भनेका छन् । तर, अर्थमन्त्री शर्माले यो विषयमा झुट बोलेका हुन् । गत भदौ २१ गते अर्थमन्त्री शर्माको सचिवालयबाट प्रेसित प्रेस विज्ञप्तिमा ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्रालयको ध्यानाकर्षण भएको’ जानकारी दिएको थियो । यस्तो छ मन्त्रालयले पठाएको प्रेस विज्ञप्ति पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं, २१ भदौ शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । जसलाई संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भदौ २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको सञ्चालक समितिको बैठकले पारित गरेपछि मात्रै सेयरधनीलाई सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ पुग्ने छ । साथै, संस्थाले बोनस सेयरमा लाग्ने लाभांश करको व्यवस्था भने गरेको छैन । जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी २०७७ असोज २५ गतेदेखि एकीकृत कारोबार समेत शुरुवात गरेकोले घोषित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ । उक्त घोषित लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई १३.०४ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।