अजोड इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । जसमध्ये अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५९.१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७८.१० रुपैयाँले बढी हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जसमध्ये मनकामना स्मार्ट लघुवित्तको ६२.४० रुपैयाँले बढेर प्रतिकित्ता ६८७.२० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा लाइफको भने ६०.१० रुपैयाँले बढेर प्रतिकित्ता ६६१.९० रुपैयाँ पुगेको छ । त्यसैगरी, टप गेनरको टप फाइभमा ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका कम्पनी रहेका छन् । यूनाईटेड इदी मार्दी आर बी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य क्रमशः ४.१६ र ४.०७ प्रतिशतले बढेको छ । समग्रमा सोमबारको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म उकालो लागेको बजार त्यसपछि ओरालो लागेर न्युनतम २९४० बिन्दुसम्म झरेको थियो । त्यसपछि बजार बन्द हुनु १० मिनेट अघिदेखि उकालोको बाटो तय गरेको बजार अन्ततः ०.२७ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले बढेर २९४७.७० बिन्दुमा पुगेको छ । त्यस्तै, बजारमा ९ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबारको बजारमा अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । टप लुजरको टप टेनमा सबै हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.४७ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले घटेर प्रतिकित्ता ६९४ रुपैयाँमा झरेको छ ।
मर्जरमा जान लागेको घोडीघोडा लघुवित्तले बोलायो पहिलो साधारणसभा, स्वाप रेसियो कति ?
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आगामी असोज १६ गते पहिलो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे कैलालीको होटल रुबसमा उक्त सभा आव्हान गरेको हो । सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्था र यूनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जमा जाने प्रस्तावलाई पारित गर्दै छ । उक्त मर्जर प्रयोजनको लागि घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्तको स्वाप रेसियो १ बराबर ०.५० तोकिएको छ । यससँगै सभाले पारित गरेपश्चात घोडीघोडा लघुवित्तको १०० कित्ता सेयर हुनेले यूनिक नेपालको ५० कित्ता सेयर पाउने छन् । संस्थाले मर्जर सम्बन्धमा नेपाल राष्ट बैंकबाट २०७८ भदौ १५ गते प्रारम्भिक सैद्धान्तिक सहमति पाइसकेको छ । मर्जर सम्बन्धमा २०७७ कार्त्तिक २१ गते दुई संस्थाबीच प्रारम्भिक समझदारी भएको थियो । त्यससँगै कार्त्तिक २३ गतेदेखि नै संस्थाको सेयर कारोबार रोक्का रहेको छ । यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ । थप सामाग्री: नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का, १४८ वटालाई हटाइयो सूचीकरणबाट
राप्ती हाइड्रोले २९ करोडको आईपीओ जारी गर्ने
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै उक्त प्रकृया अघि बढाएको हो । कम्पनीले एक सय अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानिय र सर्वसाधारणलाई गरी कूल २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डको स्वीकृति पाएसँगै कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।