कुमारी बैंकले घोषणा गर्यो ८.६७ प्रतिशत लाभांश

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद(कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने व्यवस्था रहेको छ । उक्त प्रस्तावित लाभांश अघिल्लो दुई आर्थिक वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने बैंकले ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नगद लाभांश पारित गर्न सीबीआईएल क्यापिटलले डाक्यो साधारणसभा

काठमाडौं । सीबीआईएल क्यापिटलले आगामी कार्तिक ५ गते साधारणसभा आव्हान गरेको छ । क्यापिटलले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा १५औं वार्षिक साधारणसभा डाकेको हो । सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि क्यापिटलको असोज २० गते एक दिन बुक क्लोज हुने छ । यससँगै असोज १९ गतेसम्म कारोबार गरेका सेयरधनीहरु उक्त सभामा भाग लिन तथा प्रस्तावित नगद लाभांश पाउन योग्य हुनेछन् ।

२० प्रतिशत बोनसपछि डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३८८.४२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १६६६.१० रुपैयाँमा भएको थियो । शहिदपथमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत सोमबार कम्पनीको बजार पुँजीकरण १९ अर्ब २६ करोड रुपैयाँ थियो ।