नेपाल बङ्गलादेश बैंकको साधारणसभा मंसिर २ गते, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आगामी मंसिर २ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे आफ्नो २७औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । बैंकले निर्वाचन भने भौतिक रुपमा कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा गर्ने निर्णय गरेको छ । सभाले बैंक सञ्चालक समितिको बैठकको प्रस्ताव बमोजिम सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ३.५० प्रतिशत नगद (करसमेत) गरी कूल १५.५० प्रतिशत लाभांश पारित गर्दै छ । सभामा जाने प्रयोजनको लागि बैंकले आगामी कार्त्तिक १५ गते बुक क्लोज गर्दै छ । त्यस्तै, सभाले कूल ६ जना सञ्चालकलाई निर्वाचित गर्ने भएको छ । बैंकको आगामी ४ वर्षे कार्यकालको लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकलाई निर्वाचित गरिने विशेष प्रस्ताव रहेको छ ।
कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँमा झरेको छ । यससँगै बुधबारको पहिलो कारोबारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ६०७ रुपैयाँ हुने छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ७१९ रुपैयाँमा कारोबार भएको थियो ।
सन् २०२० देखि सेयर बजारमा फरक प्रबृत्ति, यसपाली पनि दोहोरिने संकेत
काठमाडौं । सेयर बजारमा कारोबार गर्नेहरुले दिनैपिच्छेको मूल्य अन्तरमा खेल्ने गर्छन् । एक दिनमै हुने उतारचढाव पनि कारोबारीहरुका लागि कमाउने अवसर बन्छ । तर, लगानीकर्ता भने दैनिक हुने उतारचढाबप्रति त्यति ध्यान दिदैनन् । उनीहरुलाई आफूले लगानी गरेको कम्पनी कस्तो छ, कति प्रतिफल दिन सक्छ, कम्पनीको आगामी योजना के कस्ता छन्, भविष्यमा कम्पनी कस्तो बन्न सक्छ भन्ने जस्ता प्राविधिक, आधारभूत र अन्य परिस्थितिजन्य कुराहरुको विश्लेषण गरेर लगानी व्यवस्थापन गरिरहेका हुन्छन् । सेयर लगानीकर्तालाई कम्पनीले दिने प्रतिफलको खास महत्व रहन्छ भने कारोबारीलाई दैनिक मूल्य अन्तरको महत्व बढी हुन्छ । तर, नेपाली पुँजी बजारमा लगानीकर्ता र कारोबारी खासै छुट्टिने गरेका छैनन् । एक व्यक्ति कुनै समय लगानीकर्ताको रुपमा प्रस्तुत भइरहेको हुन्छ भने कुनै समय कारोबारी जस्तो व्यवहार गर्ने गरेका छन् । यद्यपि, लगानीकर्ता र कारोबारी दुबैलाई सेयर लगानीबाट प्राप्त हुने प्रतिफल कम्पनीहरुले प्रदान गर्ने लाभांशले महत्व राख्छ । यस्तै महत्व राख्ने भएकोले विगतका वर्षहरुमा कम्पनीले लाभांश घोषणा गर्ने मौसम सुरु भएपछि सेयरको माग बढेर मूल्य बढ्ने तथा लाभांश वितरणको लागि बुक क्लोजपछि मूल्य घट्ने गरेको थियो । तर, सन् २०२० यता भने यो प्रबृत्तिमा फरकपन देखिएको छ । कम्पनीहरुले लाभांश घोषण गर्ने समयभन्दा पनि घोषणा तथा लाभांश वितरणपछि सेयर बजार बढ्ने गरेको तथ्यांकले पुष्टी गरेको छ । कम्पनी कानुन अनुसार कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा पछिल्लो वर्षको पुस मसान्तसम्ममा गरिसक्नु पर्ने हुन्छ । यसैकारण कम्पनीहरुले अग्रेजी महिनाको सेप्टेम्बर (भदौ) देखि नोभेम्बर (मंसिर) सम्म लाभांश प्रस्ताव गरी पुस डिसेम्बर (पुस मसान्त) सम्ममा साधारणसभा गरिसक्ने गरेका छन् । कम्पनीले लाभांश घोषणा गरी बुक क्लोज हुनुभन्दा अघि सेप्टेम्बरदेखि नोभेम्बर (भदौदेखि मंसिर) सम्म सेयर बजार बढ्ने विगतको उदाहरण वितपरित सन् २०२० यता भने लाभांश घोषणापछि सेयर बजार बढ्ने गरेको देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले यो कुराको पुष्ट पनि गर्छ । जस्तो कि सन् २०१८ को जुलाई १ मा ११८४.५३ विन्दुमा रहेको परिसुचक सो वर्षको अक्टोबर २४ मा बढेर १२४९.९३ विन्दुमा पुगेको थियो । सन् २०१९ को फेब्रुअरी १८ मा परिसुचक घटेर ११०२.५१ विन्दुमा आएको थियो । सन् २०१९ को मे ७ मा भने परिसुचक १३०१.२८ विन्दुमा पुगेको थियो । सन् २०२० को जनवरी १ मा परिसुचक ११६९.५ विन्दुमा पुगेको थियो । त्यसपछि ६ तारिकमा १२००.६९ विन्दुमा, जनवरी १६ मा १३१०.२३ विन्दुमा र फेब्रुअरी २३ मा १५०४.१४ विन्दुमा पुगेको थियो । फेब्रुअरी २७ मा परिसुचक बढेर १६३२.१७ विन्दुमा पुगेको थियो । जबकि यो समयमा कम्पनीहरुले प्रदान गर्ने लाभाशं वितरण गरिसकेका थिए । सन् २०२० को जुन २९ मा परिसुचक घटेर ११८८.७० विन्दुमा आइपुगेको थियो भने त्यसपछि उडान सुरु गरेको नेप्सेले ३१९८.६० विन्दुसम्म चुमेको थियो । नेप्सेका अनुसार सन् २०२० को जुलाई १९ मा परिसुचक बढेर १४७९ विन्दुमा, सेप्टेम्बर २ मा १५१०.५७ विन्दुमा, अक्टोबर २२ मा १६०६.२५ विन्दुमा, नोभेम्बर ११ मा १७०७.६७ विन्दुमा, नोभेम्बर २४ मा १८१०.११ विन्दुमा, नोभेम्बर २९ मा १९६८.२७ विन्दुमा र डिसेम्बर १ मा २०००.४ विन्दुमा पुगेको थियो । सन् २०२१ लागेपछि पनि सेयर बजारमा बुलरन रोकिएन । सन २०२१ को जनवरी ३ मा परिसुचक २१७५.३९ विन्दुमा पुग्यो । यस्तै, जनवरी १० मा २२३५.७२ विन्दुमा, जनवरी १७ मा २३१५ विन्दुमा, जनवरी २४ मा २४२४.८४ विन्दुमा, फेब्रुअरी ७ मा २५२४ विन्दुमा र फेब्रुअरी १६ मा २६०१ विन्दुमा परिसुचक पुगेको थियो । यस्तै, सन् २०२१ को अप्रिल १३ मा २७१४.७९ विन्दुमा, मे २३ मा २८२० विन्दुमा, जुन ६ मा २९०६.८९ विन्दुमा, जुन १४ मा ३०२५.८२ विन्दुमा, अगष्ट ३ मा ३१११.०९ विन्दुमा र अगष्ट १८ मा ३१९८.६ विन्दुमा पुगेको थियो । परिसुचक करिब ३२ सय विन्दुको नजिकबाट घट्न सुरु गरेको थियो । यसअवधिमा परिसुचक घटेर २५ सय विन्दुबाट पनि तल झरेको थियो । यद्यपि, यो सातादेखि बढ्न थालेको बजार प्रत्येक दिन दोहोरो अंकले बढ्दै गरेको छ । यसैकारण यो वर्ष पनि लाभांश मौसम सकिएपछि पनि बजार बढिरहने हो कि भन्ने देखिएको छ । लाभांश वितरणपछि खरिद गरिएको सेयरबाट लाभांश पाउनको लागि भने अर्काे एक वर्ष कुर्नुपर्ने हुन्छ ।