सेयरधनीलाई स्पष्ट रुपमा नगद लाभांश पठाउन बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा गराउन आग्रह गरेको छ । बोर्डले कार्त्तिक ८ गते एक विज्ञप्ति मार्फत नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत संगठित संस्थाहरुलाई सो आग्रह गरेको हो । सूचीकृत कम्पनीहरुले आफै सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा पर्याप्त जानकारी नआएको गुनासो आएसँगै बोर्डले उक्त निर्देशन दिएको हो । ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल)को नाम मात्र आउने गरेकोले कुन कम्पनीको लाभांस हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको’ बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यससँगै कम्पनीहरुले आफै वा आफ्नो सेयर रजिष्ट्रार मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांस भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउन बोर्डले आग्रह गरेको छ । साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरुलाई अनुरोध गरेको छ ।

एनआईसी एशियाले घोषणा गर्यो गत दुई वर्षयताकै कम लाभांश

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित १५.७८९४७ प्रतिशत लाभांश गत दुई वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साेमबार ८५ अंकले उकालो लाग्यो नेप्से, सबैभन्दा बढी काराेबार महालक्ष्मी विकास बैंककाे

काठमाडौं । सोमबारको सेयर बजार ८४.९० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा ६७२ दशमलव २५ अंकमा बन्द भएको छ । सोमबार १७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ जसमा मेरो लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएको छ भने सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज २२९ कम्पनीको चार अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।