नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो, अधिकांश समूहमा छायो हरियाली
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेकोे छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा २७.५१ अंकले उकालो लागेर बन्द भएको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २५८४.५२ बिन्दुमा पुगेको छ । त्यस्तै, क वर्गको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ । परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । गत बिहीबार २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने २ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नियमित समयसम्म भएको कारोबारमा २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन १५ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ७०९ रुपैयाँमा भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको ९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ट्रेडिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूह १०५ अंकले बढेको छ । ट्रेडिङ्ग समूह भने ३२.४७ अंकले घटेको छ । दोहोरो अंकले बढेको बजारमा दुई संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । बेष्ट फाइनान्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ४४१ र ६८० रुपैयाँ पुगेको छ । बेष्ट फाइनान्स सहि ट्रयाकमा, सेयर मूल्य १० प्रतिशतले वृद्धि आइतबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको भने सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात १६९.५० रुपैयाँले घटेर प्रतिकित्ता १५२५.६० रुपैयाँमा झरेको छ ।
सपाेर्ट लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश, चुक्ता पुँजी साढे ८ करोड नाघ्ने
काठमाडौं । सपाेर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कूल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हालको चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ बढी हुनेछ । प्रस्तावित लाभांश आर्थिक वर्ष २०७५/७६ को तुलनामा बढी हो । संस्थाले सो वर्षको नाफाबाट सेयरधनीलाई कूल १०.५२६ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।
माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक ७ गते एकैदिन माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२२.०७ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा बैंकको सेयर मूूल्य प्रतिकित्ता ३६४.९० रुपैयाँ रहेको थियो । सानिमा बैंकको पनि १७ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४१७.७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४८८.८० रुपैयाँमा भएको थियो । यससँगै यी दुबै बैंकको पहिलो कारोबार सामायोजित मूल्य बाटै शुरु हुनेछ ।