१५ बैंकका लाभांशः सबैभन्दा बढी हिमालयन बैंकको, कम कुमारीको, अरु कसको कति ?

काठमाडौं । संचालनमा रहेकामध्ये १५ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गरेको घोषणा अनुसार सेयरधनीलाई सबैभन्दा बढी लाभांश हिमालयन बैंकले दिने भएको छ भने सबैभन्दा कम कुमारी बैंकको छ । बैंकहरुले सार्वजनिक गरेको लाभांश अनुसार हिमालयन बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई २६ प्रतिशत लाभांश दिएको छ । यसमध्ये २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश छ । यस्तै, अहिलेसम्म लाभांश घोषणा गर्ने १५ वटा वाणिज्य बैंकहरुमा सबैभन्दा कम लाभांश घोषणा गर्नेमा कुमारी बैंक परेको छ । कुमारी बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश गरी जम्मा ८.६७ प्रतिशत लभांश दिने भएको हो । सार्वजनिक गरिएको लाभांश दर अनुसार एनएमबी बैंकले कुल १५.८ प्रतिशत, सिद्धार्थ बैंकले १५, माछापुच्छ्रे बैंकले १४, एभरेष्ट बैंकले १०.३२, नेपाल बंगलादेश बैंकले १५.५, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३.०६ र नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने भएको छ । यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले १६, सानिमा बैंकले १७.८९, नेपाल बैंकले १७, ग्लोबल आईएमई बैंकले १३.५, एनआईसी एसिया बैंकले १५.७९ र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसरी लाभांश घोषणा गरेका बैंकमध्ये कुमारी, माछापुच्छ्रे, सिटिजन्स र सानिमा बैंकको बुक क्लोज भइसकेको छ । सम्बन्धित समाचार ११ वाणिज्य बैंकको लाभांश विश्लेषणः सबैभन्दा बढी प्रतिफल हिमालयन बैंकको, कम चार्टर्डको

साहस उर्जाको सेयर मूल्यमा लाग्यो सर्किट, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै साहस उर्जाको सेयर मूल्यमा सर्किट लागेको छ । नियमित समयमा कारोबार शुरु भएको केही समयमै संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । संस्थाको पहिलो कारोबार प्रतिकित्ता ४०५.३० रुपैयाँमा भएको थियो । त्यसको केही बेरमै संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ४४५.८० रुपैयाँ पुगेको छ । सेयर बिक्रीकर्ता भन्दा खरिदकर्ताको चाप बढी भएसँगै संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कूल ३ लाख २१ हजार ९८९ कित्ता सेयर खरिदको लागि लगानीकर्ताहरु इच्छुक देखिन्छन् भन्ने बेच्न इच्छुक कोही पनि छैनन् । हालै आईपीओ जारी गरेको संस्थाको कूल ३ करोड ५० लाख कित्ता साधारण सेयर गत बिहीबार (कार्त्तिक ११ गते) नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको थियो । नेप्सेले दोश्रो बजारमा कारोबार गर्नको लागि संस्थाको स्टक सिम्बोल एसएएचएएस तोकिएदिएको थियो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्यूनतम १३५.११ र अधिकतम ४०५.३३ रुपैयाँ तोकिदिएको थियो । यससँगै आईतबार संस्थाको पहिलो कारोबार अधिकतम मूल्य अर्थात ४०५ रुपैयाँबाटै शुरु भएको हो ।

महुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्त्तिक १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी २८ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।