सेयर बजारमा करेक्सन, महालक्ष्मीको उच्च कारोबार, साहससहित तीन कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा आज करेक्सन लागेको छ । पछिल्लो समद दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । कारोबारको शुरुवातमा उकालो लागेको बजारले केही समयपछि ओरालोको बाटो तय गरेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८७ बिन्दुमा सीमित भएको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । बजारमा २२६ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै बैंकको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ३६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, साहस उर्जा र पाँचथर पावर कम्पनी दुबैको सेयर मूल्य ९.९८ र ९.९८ प्रतिशतले बढेको छ । यी तीनको अन्तिम कारोबार क्रमशः ६५७, ४९० र ५१५ रुपैयाँमा भएको छ । बजारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ता ६८० रुपैयाँमा झरेको छ । सोमबार बैंकिङ्ग, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
पहिलो त्रैमासमा बैंकको व्यवसायः अधिकांशले बढाए नाफा, घटाए ईपीएस
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको आफ्नो व्यवसायको अवस्था सार्वजनिक गरेका छन् । बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी आफ्नो पहिलो त्रैमासको वित्तीय अवस्था बारे जानकारी दिएका हुन् । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार अधिकांश बैंकहरुको नाफा बढेको छ । केही बैंकको खुद व्याज आम्दानी गत वर्षको पहिलो त्रैमासका आधारमा सामान्य अंकले घटेको देखिएको छ भने केही बैंकहरुको नाफा नै घटेको पनि देखिएको छ । बैंकहरुको कर्जा तथा लगानी र निक्षेप बढेको छ । नाफा बढेको देखिए पनि अधिकांश बैंकहरुको प्रतिसेयर आम्दानी ईपीएस घटेको तथ्यांकले देखाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन, सटडाउन र निषेधाज्ञा खुकुलो भएसँगै र कोभिड संक्रमण विरुद्धको खोप लगाउन सुरु गरेसँगै अर्थतन्त्र चलायमान भएको छ । अर्थतन्त्र चलायमान भएसँगै बैंकहरुबाट निजी क्षेत्रतर्फ जाने कर्जा बढेको छ भने कर्जा प्रवाह अत्याधिक बढ्दा बैंकहरुका लगानीयोग्य रकम (तरलता) अभाव देखिएको छ । यही परिवेशमा पनि वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा के कस्तो व्यवसाय गरेका छन्, उनीहरुको वित्तीय अवस्था के कस्तो छ भनेर यो सामग्री तयार पारिएको छ । ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ११ करोड, ५ अर्ब ६३ करोड ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब बढी नाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत असोज मसान्तसम्ममा १ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको खुद व्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा रकम बढेर ८ अर्ब ७६ करोड रुपयाँ पुगेको छ । जुन गत वर्ष ८ अर्ब २० करोड रुपैयाँ थियो । त्यसैगरी, बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी सामान्य घटेको देखिन्छ । गत वर्ष २२.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घटेर २०.५७ रुपैयाँ कायम भएको छ । यस बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६.०५ रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको नाफा ५७ करोड, कति पुग्यो इपीएस ? एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बृद्धि गरेको हो । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एभरेष्ट बैंकले ३३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (इपीएस) २६.०४ रुपैयाँ पुगेको छ भने पीई रेसियो २७.४२ र प्रतिसेयर नेटवर्थ २३४.७३ रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको व्यवसायका आधारमा २ अर्ब ९४ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्न मिल्ने खुद नाफा गरेको जानकारी दिएको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत असोज मसान्तसम्ममा एभरेष्ट बैंकले १ अर्ब ९ करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । बैंकमा सर्वसाधारणको १ खर्ब ६३ अर्ब ९४ करोड ९४ करोड १७ लाख रुपैयाँ निक्षेप छ भने सर्वसाधारणलाई १ खर्ब ३५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले जानकारी दिएको छ । एभरेष्ट बैंकसँग रिजर्भमा ८ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ छ । एनएमबी बैंकको इपीएस ५ रुपैयाँ बढ्यो, नाफा अर्बमाथि एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १ अर्बभन्दा बढी गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको आधारमा बढेको पनि देखिएको छ । बैंकले प्रकाशित गरको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबीले १ अर्ब ४ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एनएमबीको नाफा ७४ करोड ८१ लाख रुपैयाँ थियो । नाफा बृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा २०.५८ रुपैयाँ रहेको एनएमबीको इपीएस चालु आर्थिक वर्षको सोही अवधिमा २५.५९ रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको इपीएस करिब ५ रुपैयाँले बढेको देखिन्छ । बैंकले पहिलो त्रैमाससम्मको व्यवसायबाट गरेको वितरणयोग्य नाफा ४५ करोड ८४ लाख रुपैयाँ रहेको पनि जानकारी दिएको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको एनएमबीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकसँग सर्वसाधारणको १ खर्ब ७३ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ निक्षेप छ भने सर्वसाधारणलाई १ खर्ब ६५ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कर्जा तथा लगानी गरिएको छ । बैंकको रिजर्भमा ५ अर्ब ३३ करोड २९ लाख रुपैयाँ छ । मेगा बैंकको नाफा ९१ करोड, इपीएस करिब ६ रुपैयाँले बढ्यो मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । गत अािर्थक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा नाफा बढेको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहलिो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार उसले ९१ करोड४६ लाख रुपैयाँ नाफा गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ६० करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो । नाफा बृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८.२१ रुपैयाँ रहेको मेगाको इपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४.२४ रुपैयाँ पुगेको छ । बैंकले पहिलो त्रैमासमा गरेको व्यवसायबाट वितरणयोग्य नाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको जानकारी दिएको छ । बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको मेगाले चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकसँग सर्वसाधारणको १ खर्ब ४२ अर्ब ३२ करोड ४५ लाख रुपैयाँ निक्षेप छ भने १ खर्ब ४१ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ सर्वसाधारणलाई कर्जा प्रदान गरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.६ छ भने प्रतिसेयर नेटवर्थ १४४.९९ रुपैयाँ पुगेको छ । मेगा बैंकको रिजर्भमा ३ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा मेगाको रिजर्भमा ३ अर्ब ६७ करोड ४१ लाख रुपैयाँ थियो । एनसीसीको नाफा ३३ करोड ४५ लाख एनसीसी बैंक एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४५ लाख ८७ हजार रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ५१ करोड ८० लाख ५७ हजार रुपैयाँ नाफा गरेको हो । एनसीसी बैंकको ९३ करोड २७ लाख रुपैयाँ ६१ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०९ रुपैयाँ प्रतिसेयर आम्दानी (ईपीएस) रहेको छ । बैंकले कुल १ खर्ब १५ अर्ब ७ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलmन गरेको छ भने कुल १ खर्ब ९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत आवमा ७९ करोड ५ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ९३ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सिटिजन्स बैंकको नाफा ६८ करोड ९९ हजार, इपीएस घट्यो सिटिजन्स बैंक इन्टरनेशनल सिटिजन्स बैंक इन्टरनेशनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड ७३ लाख ९९ हजार रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको हो । गत वर्षको सोही अवधिमान ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी (इपीएस) घटेको छ । गत वर्ष २२.६९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी (इपीएस) यस वर्ष २१.८६ रुपैयाँ कायम भएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकसँग २२ करोड ७१ लाख ३९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सिटिजन्स बैंकले १ खर्ब ४४ अर्ब ३१ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब २८ अर्ब २४ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने बढेको छ । गत वर्ष ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चासु आवको सोही अवधिमा १ अर्ब २० करोड २० लाख ५१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । इन्भेष्टमेन्ट बैंकको नाफा ९२ करोड ३७ लाख, इपीएस बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ करोड ३७ लाख ९५ हजार रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको हो । गत वर्षको सोही अवधिमा बैंकले ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकसँग २० करोड ६० लाख रुपैयाँ वितरणयोग्य नाफा छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमाससम्ममा १७.५१ रुपैयाँ रहेको ईपीएस चालु आवको पहिलो त्रैमासमा २२.७३ रुपैयाँ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको पहिलो त्रैमाससम्म कुल १ खर्ब ७० अर्ब ७७ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ६० अर्ब ४ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद व्याज आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंले चालु आवमा भने १ अर्ब २७ करोड ९० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । माछापुच्छ्रे बैंकको नाफा ५६ करोड १५ लाख, व्याज आम्दानी बढ्यो माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३६ करोड ९ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार नाफा बढेको देखिएको हो । बैंकसँग कुल वितरणयोग्य नाफा १ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकले १ खर्ब ३० अर्ब ६४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब २७ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । बैंकको चालु आवको पहिलो त्रैमासमा १ अर्ब २८ करोड ८७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने गत वर्ष बैंकले कुल ९५ करोड ५३ लाख ९१ हजार रुपैयाँ व्याज आम्दानी गरेको थियो । विओकेको नाफा बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ९२ करोड बैंक अफ काठमाण्डू (विओके) ले २५ करोड ३४ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणका अनुसार चालु आवको पहिलो त्रैमासमा नाफा बढाएको हो । गत वर्षको सोही अवधिमा बैंकले २४ करोड १४ लाख ६ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा २ करोड ९२ लाख ६८ हजार रुपैयाँ रहेको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । बैंकले गत वर्ष ७६ करोड ९९ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवमा ७९ करोड ४४ लाख २४ हजार खुद व्याज आम्दानी गरेको छ । नाफा बढपनि बैंकको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष ११.३० रुपैयाँ रहेको बैंकको ईपीएस यस वर्ष १०.५० रुपैयाँ कायम भएको छ । बैंकको कुल निक्षेप १ खर्ब २ अर्ब १४ करोड ६१ लाख रुपैयाँ रहेको छ भने कुल १ खर्ब ६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एनबी बैंकको नाफा घट्यो, इपीएस पनि घट्यो नेपाल बंगलादेश (एनबी) बैंकले ४१ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष बैंकले ५७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड ३९ लाख रुपैयाँ छ । गत वर्ष ८ करोड ९४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको एनबीको यसवर्ष ५ करोड ८९ लाख रुपैयाँ छ । एनबी बैंकले ७२ अर्ब १४ करोड ५० लाख रुपैयाँ कर्जा र ७७ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष २६.८९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको यसवर्ष प्रतिसेयर आम्दानी १८.२९ रुपैयाँ कायम भएको हो । हिमालयनको नाफा ४५ करोड २८ लाख, इपीएस १७ रुपैयाँ हिमालयन बैंक हिमालयन बैंकले ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ गरेको थियो । हिमालयनले नाफा बढाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाएको छ । बैंकको ईपीएस १६.९५ रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको ईपीएस १५.६२ रुपैयाँ थियो । हिमालयन बैंकको वितरणयोग्य नाफा २ अर्ब ९३ करोढ १७ लाख रुपैयाँ छ । बैंकले कुल १ खर्ब ४२ अर्ब १७ करोड २८ लाख निक्षेप संकलन गरेको छ भने १ खर्ब ३८ अर्ब ९ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हिमालयन बैंकको खुद व्याज आम्दानी बढेको छ । बैंकले गत वर्ष ९३ करोड ८९ लाख ६० हजार रुपैयाँ व्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रभु बैंकको नाफा साढे ६३ करोड रुपैयाँ, किन घट्यो प्रतिसेयर आम्दानी ? प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे ६३ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले ८५ करोड १४ हजार रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा २५.१३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको जगेडा कोष बढेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंकको जगेडा कोष ४ अर्ब ७१ करोड ५३ लाख २५ हजार रुपैयाँको पुगेको छ । यस्तै, बैंकको कुल निक्षेप १ खर्ब ६५ अर्ब ४५ करोड ३६ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानी १ खर्ब ३८ अर्ब ४७ करोड १५ लाख ५० हजार रुपैयाँ प्रवाह भएको छ । प्रभु बैंकको वितरणयोग्य नाफा ३० करोड ४४ लाख रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३२.९६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको अहिले २२.४३ रुपैयाँमा झरेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको हो । नबिल बैंकको नाफा १ अर्ब बढी, यस्ता छन् अन्य सूचक नबिल बैंकले ७.३३ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७.३३ प्रतिशतले बढेको हो । नबिल बैंकले चालु आवको पहिलो त्रैमासमा कुल १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ४२.४१ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ७.१३ प्रतिशत बढेको छ । मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.०१ प्रतिशत बढेको छ । बैंकले हालसम्म १५ अर्ब ६२ करोड ६२ लाख रुपैयाँको जगेडा कोष बनाएको छ । त्यसैगरी, नविल बैंकको निक्षेप १.०८ प्रतिशत बढेको छ भने कर्जा ४.७१ प्रतिशत बढेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकको कुल निक्षेप २ खर्ब २५ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २ खर्ब ७ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । नविलको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९.९४ रुपैयाँबाट ७.८० रुपैयाँ घटेर ३२.११ रुपैयाँमा झरेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकको प्रतिशेयर नेटवर्थ २४७.३१ रुपैयाँ रहेको छ । नाफामा एक अर्ब नजिक पुग्यो प्राइम कमर्सियल बैंक, अन्य सूचक कस्ता छन् ? प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कुल १ अर्ब १ करोड ६ लाख रुपैयाँ नाफा गरेको बैंको यस वर्ष भने नाफा थोरै घटेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंकको नाफा ३.९० प्रतिशतले घटेको हो । समीक्ष अवधिमा बैंकको व्याज आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ अर्ब ५५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा चालु आवको पहिलो त्रैमाससम्म कुल १ अर्ब ४० करोड रुपैयाँ व्याज आम्दानी गरेको हो । बैंकको व्याज आम्दानी पनि ९.६७ प्रतिशतले घटेको हो । यस्तै, हालसम्म बैंकले कुल १ खर्ब ५९ अर्ब २२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल १ खर्ब ४३ अर्ब ७७ करोड ७७ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप र कर्जामा सामान्य सुधार देखिएको छ । बैंकको वितरणयोग्य नाफा ३२ करोड ४८ लाख रुपैयाँ छ । प्राइम बैंकले जगेडा कोष पनि बढाएको छ । हाल बैंकको जगेडा कोष ५ अर्ब ७६ करोड १२ लाख रुपैयाँको पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ४.७९ रुपैयाँले झरेको छ । गत आथिर्क वर्षको सोही अवधिमा २९.११ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको ईपीएस अहिले २४.३२ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५.१४ रुपैयाँ रहेको छ । सेन्चुरी बैंकको नाफा २७ करोड २४ लाख, रिजर्भमा १ अर्ब ५५ करोड सेन्चुरी बैंकले अघिल्लो आवको सोही अवधिमा २२ करोड नाफा कमाएकोमा चालु आवको पहिलो त्रैमासमा नाफा बढाएर २७ करोड २४ लाख रुपैयाँ बनाएको छ । बैंकको चुक्तापुँजी ९ अर्ब ३४ करोड रुपैयाँ छ भने रिजर्भमा १ अर्ब ५५ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा १.८८ प्रतिशत छ भने वितरणयोग्य नाफा ९ करोड ९० लाख ६४ हजार रुपैयाँ छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४८ करोड १८ लाख, रिजर्भमा ५ अर्ब ९१ करोड स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले ४० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले यस अवधिमा ८५ अर्ब ४५ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ६८ अर्ब ९९ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ छ भने रिजर्भमा ५ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात ०.६७ प्रतिशत रहेको छ । नेपाल बैंकको नाफा ७६ करोड ४८ लाख, रिजर्भमा १७ अर्ब २२ करोड नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७६ करोड ४८ लाख नाफा गरेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले ५५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले समीक्षा अवधिमा १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ छ भने रिजर्भमा १७ अर्ब २२ करोड रुपैयाँ छ । नेपाल बैंकले समीक्षा अवधिमा ७५ करोड ४८ लाख खुद व्याज आम्दानी गरेको छ । साथै, खराब कर्जा अनुपात २ प्रतिशतमा सीमित भएको छ । बैंकको वितरणयोग्य नाफा भने १४ करोड ६८ लाख रुपैयाँ छ । सिभिल बैंकको नाफामा छलाङ, ईपीएस कति पुग्यो ? सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा सिभिलको नाफा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ थियो । असोज मसान्तसम्ममा बैंकको वितरयाणयोग्य नाफा ६० करोड २८ लाख ४६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा सिभिल बैंकको खुद व्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँबाट बढेर ७१ करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा १३ करोड ८२ लाख ३१ हजार रुपैयाँबाट बढेर ४२ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ । कुल ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड २० लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा सिभल बैंकले ९२ अर्ब ७३ करोड ९० लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८१ अर्ब ९२ करोड ९४ हजार रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सिभिल बैंकको खराब कर्जा १.५० प्रतिशतबाट घटेर ०.९६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ५ करोड राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८२ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको निक्षेप भने घटेको छ । गत आवको असोज मसान्तसम्ममा २ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्रिय वाणिज्य बैंकसँग चालु आवको सोही अवधिमा भने २ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप छ । बैंकले व्याज आम्दानीबाट २ अर्ब ३४ करोड कमाएको छ । कर्जा तथा लगानी १ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । नेपाल एसबीआईको नाफा ३७ करोड २९ लाख, ईपीएस १५.७१ नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २० करोड ५ लाख रुपैयाँ नाफा गरेको थियो । गत असोज मसान्तसम्ममा बैंकसँग वितरणयोग्य नाफा ९४ करोड १ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.७१ रुपैयाँ छ । बैंकसँग सर्वसाधारणको निक्षेप १ खर्ब ८ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ छ भने कर्जा तथा लगानी १ खर्ब ५ अर्ब ८ करोड ५ लाख रुपैयाँ छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ८५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको एसबीआई बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ८४ करोड ५४ लाख रुपैयाँ गरेको छ । एनआईसी एशिया बैंकले कमायो १ अर्ब १८ करोड नाफा एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड खुद नाफा आर्जन गरेको छ । जुन बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । बैंकले गत वर्ष १ अर्ब २ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले वार्षिक प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६५ पैसा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा घटी हो । बैंकले गत वर्ष ४२.१४ रुपैयाँ प्रतिसेयर आम्दानी आर्जन गरेको थियो । बैंकले कर्जामा ३६ प्रतिशतलेले वृद्धि गरी कुल कर्जा रकम २७७ अर्ब ८५ करोड पुर्याउन सफल भएको छ । साथै, निक्षेप २६.९९ प्रतिशतले वृद्धि गरी ३११.४५ अर्ब पुर्याएको छ । सिद्धार्थ बैंकको ईपीएस ३३.६१ रुपैयाँ सिद्धार्थ बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ५० करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले नाफा बढाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाएको छ । बैंकको ईपीएस ३३.६१ रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको ईपीएस १७.९२ रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ९७ करोड रुपैयाँ छ । बैंकले कुल १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । बैंकले गत वर्ष एक अर्ब ३४ करोड रुपैयाँ व्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । लक्ष्मी बैंकको नाफा ५५ करोड लक्ष्मी बैंकले ५५ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ३१ करोड २३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले नाफा बढाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाएको छ । गत वर्ष १२.७३ रुपैयाँ रहेको बैंकको ईपीएस बढेर २०.६८ रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड रुपैयाँ छ । बैंकले कुल १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । बैंकले गत वर्ष ७६ करोड २३ लाख रुपैयाँ व्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ८९ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सनराइज बैंककाे नाफा ४३ करोड ७ लाख सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ७ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । जुन गत वर्षको तुलनामा ४ करोड ७८ लाख रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३८ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि बढेर ५८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनिे बढेर ९२ करोड ३२ लाख रुपैयाँ नाघेको छ । त्यसैगरी बैंकको वितरणयोग्य नाफा ६ करोड ७१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.१६ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५९.६९ रुपैयाँ र पीई रेसियो २६.०३ गुणा रहेको छ । हाल बैंकका चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोषको रकम बढेर ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकको सीडी रेसियो बढेर ८४.६५ प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा घटेर १.१३ प्रतिशतमा सीमित भएको छ । कृषि विकास बैंकले बढायो नाफा, खराब कर्जा ०.२९ ले घट्यो काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ४८ करोड ५३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास अर्थात असोजसम्ममा कूल ४६ करोड १४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, सञ्चालन नाफा पनि २.१२ प्रतिशतले बढेर ६२ करोड ५४८ लाख रुपैयाँ पुगेको छ भने वितरण योग्य नाफा पनि बढेर २ करोड ४५ लाख रुपैयाँ नाघेको छ । बैंकको खुद व्याज आम्दानी २७.३० प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन आम्दानी १६.४० प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । हाल १६ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषको रकम १५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.८१ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा लगानी ७.९८ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घटेर प्रतिकित्ता १४.७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १.२० रुपैयाँले घटी हो । पीई रेसियो ३४.५५ रहेको छ । प्रतिसेयर नेटवर्थ घटेर २४०.२ रुपैयाँ र खराब कर्जा ०.२९ ले घटेर २.०८ मा झरेको छ । कुमारी बैंकको नाफा घट्यो कुमारी बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ६० करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले नाफा घटाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटाएको छ । गत वर्ष १९.२५ रुपैयाँ रहेको बैंकको ईपीएस १५.६० रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । बैंकले कुल १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद व्याज आम्दानी पनि घटेको छ । बैंकले गत वर्ष एक अर्ब ३१ करोड रुपैयाँ व्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सानिमा बैंकको नाफा पौने ५७ करोड सानिमा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ३७ करोड ३२ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले नाफा बढाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाएको छ । बैंकको ईपीएस २२.७८ रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको ईपीएस १६.६४ रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९६ करोड रुपैयाँ छ । बैंकले कुल १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सानिमाको खुद व्याज आम्दानी बढेको छ । बैंकले गत वर्ष ९७ करोड ६६ लाख रुपैयाँ व्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
नेपाल बंगलादेश बैंकले तीन महिनामा कमायो ४१ करोड नाफा
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५ करोड ९५ लाख रुपैयाँले घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमाससम्ममा ५७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा बढेर ८ करोड ९४ लाख रुपैयाँ रहेको छ । जुन गत वर्ष ५ करोड ८९ लाख रुपैयाँ मात्रै थियो । त्यस्तै, बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड ३९ लाख रुपैयाँ छ । गत असोज मसान्तसम्ममा बैंकले कुल ७७ अर्ब ८८ करोड निक्षेप संकलन गरी कूल ७२ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष २६.८९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवमा १८.२९ रुपैयाँमा झरेको छ ।