नेपाल लाइफका डीसीईओ चौधरीले पाए कार्यबाहकको जिम्मेवारी, को हुन् उनी ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशीलकुमार चौधरी नियुक्त भएका छन् । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चौधरीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओमा नियुक्त गरेको हो । चौधरी इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् । इन्स्योरेन्सका सीईओ सन्तोष प्रसाईंले राजीनामा दिएसँगै कम्पनीले चौधरीलार्य कार्यबाहक सीईओको जिम्मेवारी दिएको हो । सीईओ प्रसाईंले आफ्नो घरायसी तथा व्यक्तिगत कारणले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामालाई कार्त्तिक २१ गते बसेको बैठकले स्वीकृत गरेको हो । को हुन् चौधरी ? चौधरीसँग सामान्य स्कूलमा पढेर एउटा राम्रो कम्पनीमा लामो समय काम गरेकोसम्म अनुभव छ । बाल्यकालदेखि नै शान्त स्वभावका चौधरीलाई देहात (तराई मधेशको दुर्गम गाउँ) को सामान्य स्कूलमा पढेर पनि ठूलो कम्पनीमा काम गर्न सकिने रहेछ भन्ने लागिरहन्छ । सुशील चौधरीः देहातको पढाइ, बैंकको जागिर, नम्बर एक बीमा कम्पनीको डिसिइओ चौधरीले राष्ट्रिय वाणिज्य बैंकमा पहिला २५ वर्ष काम गरे । त्यसपछि जीवन बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । २०५८ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका उनले नेपाल लाइफबाट नै बीमा क्षेत्रमा काम गर्न सुरु गरेका हुन् । कम्पनीको म्यानेजरबाट काम शुरू गरेका चौधरीले अहिले कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् । सम्बन्धित समाचार नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले दिए राजीनामा, संचालकसँग कुरा मिलेन

सेबोन अध्यक्ष खोज्ने समितिप्रति माओवादी कर्मचारीको असहमति, अर्थमन्त्रीले नसुनेपछि प्रचण्ड गुहारिँदै

काठमाडौं । सरकारले पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोड (सेबोन) का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन पुँजी बजारको नियामक निकाय हो भने नेप्से ‘फ्रन्ट लाइन रेगुलेटर’ हो । सेबोनका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा खरिद गरेको र केही कम्पनीहरुको सेयर खरिद गर्नु बढी जोखिम हुने भन्दै अपारदर्शी कार्य गरेको जस्ता आरोप लागेको थियो । सो आरोपका विषयमा सरकारले छानविन समिति गठन गरेको थियो भने समितिले ढुंगानालाई दोषी पाइएकोले कार्वाही गर्न सिफारिस सहितको प्रतिवेदन बुझाएपछि गत असोज १९ गते उनलाई सेबोन अध्यक्ष पदबाट हटाइएको थियो । यस्तै, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमाथि पनि सर्वाेत्तमको सेयर अपारदर्शी रुपमा खरिद गरेको आरोप लागेको थियो । यस्तो आरोप लागेपछि साउदले गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए । पुँजी बजारका दुबै नियामक निकायहरु प्रमुख विहिन बनेपछि सरकारले दुबै निकायको प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको छ । सेबोन अध्यक्ष नियुक्तिको लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरेको छ । सो समितिले कात्तिक ११ गते सार्वजनिक सुचना प्रकाशित गरी सेबोन अध्यक्ष नियुक्तिको लागि आवेदन मागेको छ । सरकारले सेबोन अध्यक्ष नियुक्तिको लागि गठन गरेको छनोट तथा सिफारिस समितिप्रति सेबोनका माआवोदी निकट कर्मचारीहरु असन्तुष्ट बनेका छन् । छनोट समितिको संयोजक राष्ट्रिय योजना आयोगका अर्थतन्त्र हेर्ने सदस्यको संयोजकत्वमा बन्नुपर्ने भएपनि सरकारले उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर गलत गरेको उनीहरुको आरोप छ । सेबोनका माओवादी निकट कर्मचारीहरु भने अर्थमन्त्रालय माओवादीको भागमा परेकोले सेबोन अध्यक्ष पनि माओवादी निकट व्यक्तिले पाउनु पर्ने अपेक्षामा छन् । तर, छनोट तथा सिफारिस समितिको संयोजक नै काँग्रेस (राष्ट्रिय योजना आयोगका उपाध्यक्ष) निकटकालाई बनाइएपछि केही गडबडी हुन सक्ने भय सेबोनमा कार्यरत माओवादी निकट कर्मचारीहरुको छ । ‘अर्थमन्त्रालय माओवादीले पाएको छ, जुन मन्त्रालय जसको भागमा पर्छ त्यो मन्त्रालय अन्तरगतका निकायहरुमा नियुक्ति पनि सोही पार्टी निकटकाले पाउने हो तर, सेबोन अध्यक्ष छनोट र सिफारिस समितिको संयोजक आयोगका सदस्य बनाउनु पर्नेमा काँग्रेसी उपाध्यक्षलाई संयोजक बनाएर गडबडी गर्न लागिएको छ, हामी यसको खबरदारी गरिरहेका छौं,’ सेबोनका माओवादी निकट एक कर्मचारीले विकासन्युजसँग भने । सेबोनमा कार्यरत माओवादी निकट कर्मचारीहरुले डेपुटी कार्यकारी निर्देशक डा. नबराज अधिकारीलाई लिएर अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, संचार तथा जनसम्पर्क सल्लाहकार गोविन्द रोका ‘सचिन’ लगायतलाई तिहार अघि नै मन्त्रालय गएर भेटेका थिए । अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटेको सो टीमले अर्थमन्त्री शर्माले छनोट तथा सिफारिस समितिको संयोजक नयाँ बनाउन सम्भव नहुने बताएपछि उनीमाथि दबाब बढाउन यस्तो भेटलाई निरन्तरता दिएको हो । सेबोनका माओवादी निकट कर्मचारीहरुले सेबोनकै डेपुटी कार्यकारी निर्देशक डा. अधिकारीलाई नयाँ अध्यक्ष बनाउन दबाब दिइरहेका छन् । अर्थमन्त्री शर्माले आफूहरुलाई आश्वस्त पार्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर आफूहरुको धारणा राख्ने प्रयास भइरहेको एक कर्मचारीले जानकारी दिए । यस्तै, नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस गर्नको लागि अर्थमन्त्रालयले अर्काे एक समिति गठन गरेको छ । सो समितिले कात्तिक १३ गते नै १५ दिनको म्याद दिएर उम्मेदवारहरुलाई आवेदन दिन सार्वजनिक सुचना प्रकाशित गरिसकेको छ ।

तिहार अघिको सेयर बजारः सामान्य अंकले बढ्यो, तीन शीर्षकमा नबिलको अग्रता

काठमाडौं । तिहार अघिको सेयर बजार सामान्य अंकले बढेको छ । कार्त्तिक १७ गते बुधबारको सेयर बजार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन एक अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेयर कित्ता र कारोबार संख्याको आधारमा पनि नबिल अग्रस्थानमा रहेको छ । बैंकको एकैदिन ७ लाख ५ हजार ४३० कित्ता सेयर ७ हजार ४८३ पटकमा किनबेच भएको छ । बैंकले सेयरधनीलाई उच्च लाभांशको घोषणा गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । त्यस्तै, बुधबार तीन कम्पनीको सेयर मूल्यमा सर्किट भएको छ । महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । यससँगै महालक्ष्मीको सेयर मूल्य प्रतिकित्ता ८०३, आईसीएफसीको ९६६ र साहसको प्रतिकित्ता ५९३ रुपैयाँ रहेको छ । बजारमा छ्याङ्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ४९० रुपैयाँमा झरेको छ ।