नेको इन्स्योरेन्ससहित तीन लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कार्त्तिक १६ गते मंगलबार नेको इन्स्योरेन्ससहित ३ लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेको इन्स्योरेन्स, माहुली लघुवित्त, उन्नत्ति सहकार्य लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । यी चार कम्पनीको गरी कूल ३० लाख ७२ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको १५.५० प्रतिशत अर्थात २० लाख ४२ हजार १९ कित्ता बोनस सेयर रहेको छ । त्यस्तै, माहुली लघुवित्तको ३ लाख ७३ हजार २४० कित्ता (२० प्रतिशत), उन्नत्ति सहकार्यको २ लाख ६६ हजार ३३० कित्ता (१७.८१ प्रतिशत) र जनउत्थान सामुदायिक लघुवित्तको ३ लाख ९१ हजार २४८ कित्ता (४९.४० प्रतिशत) बोनस सेयर सूचीकृत भएको हो ।

पोहोरको नजिरः पहिलो त्रैमासको ईपीएस हेरेर सेयर किन्नु कति ठिक होला ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्मको) वित्तीय विवरण सार्वजनिक गरी आफ्नो अवस्थाको बारेमा जानकारी गराएका छन् । बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांशको नाफा बढेको छ । तर, प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा नाफा बढाएका बैंकहरुको पनि ईपीएस भने घटेको देखिएको छ । चालु आवको पहिलो तीन महिनामा बैंकहरुको औसत ईपीएस २२.५६ रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा २.०५ रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुको औसत ईपीएस २०.५१ रुपैयाँ थियो । बैंकहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ईपीएस सबैभन्दा बढी छ भने सबैभन्दा कम बैंक अफ काठमाण्डूको छ । राष्ट्रिय वाणिज्य बैंकको ४५.७५ रुपैयाँ र बैंक अफ काठमाण्डूको १०.५० रुपैयाँ ईपीएस छ । लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा हेर्ने विभिन्न सूचकमध्ये प्रमुख सूचक हो, ईपीएस । कुन कम्पनीले कति लाभांश दिन सक्छ भन्ने पनि ईपीएसकै आधारमा अनुमान गर्न सकिन्छ । त्यसैले पनि कतिपय लगानीकर्ताले ईपीएसकै आधारमा मात्रै दोश्रो बजारमा लगानी गर्ने गरेको पाइन्छ । तर, ईपीएसको आधारमा मात्रै गरेको लगानी जोखिम रहित भने हुँदैन । पहिलो त्रैमासको ईपीएस अन्तिम त्रैमाससम्ममा पनि सोही हुन्छ वा बढ्छ नै भन्ने पनि हुँदैन । त्यसमा घटबढ हुने गरेको गत आर्थिक वर्षको तथ्याङ्कले देखाएको छ । उदाहरणको लागि बैंकहरुको आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क हेरौं । गत वर्षको तथ्याङ्क अनुसार १३ बैंकको पहिलो त्रैमासको ईपीएस चौथो त्रैमाससम्म पुग्दा घटेको देखिन्छ । सबैभन्दा बढी प्रभु बैंकको ईपीएस घटेको पाइएको छ । पहिलो त्रैमासमा ३२.९६ रुपैयाँ रहेको प्रभु बैंकको ईपीएस चौथो त्रैमाससम्म पुग्दा घटेर १७.७३ रुपैयाँसम्म झरेको छ । जुन १५.२३ रुपैयाँले कम हो । त्यस्तै, एनआईसी एशियाको पनि ईपीएस १३.९२ रुपैयाँले घटेको छ । गत आवको पहिलो त्रैमासमा ४२.०३ रुपैयाँ रहेको एनआईसी एशिया बैंकको ईपीएस चौथो त्रैमासमा घटेर २८.११ रुपैयाँमा झरेको छ । सबै बैंकहरुको ईपीएस चौथो त्रैमासमा पुग्दा घट्छ नै भन्ने पनि हुन्न । केही बैंकहरुको बढेको पनि पाइन्छ । जस्तै, गत आवको पहिलो त्रैमासमा १८.४६ रुपैयाँ रहेको कृषि विकास बैंकको ईपीएस चौथो त्रैमासमा बढेर ३०.६५ रुपैयाँ पुगेको छ । जुन १२.१९ रुपैयाँले बढी हो । त्यस्तै, हिमालयन बैंकको ईपीएस पनि पहिलो त्रैमासको तुलानामा चौथो त्रैमासमा ११.५९ रुपैयाँले बढेको छ । पहिलो त्रैमासमा १६.४७ रुपैयाँ रहेको हिमालयन बैंकको ईपीएस चौथो त्रैमासमा बढेर २८.०६ रुपैयाँ पुगेको छ । त्यसैले पहिलो त्रैमासको ईपीएस सोही वर्षको अत्यसम्ममा कायम हुन्छ वा हुँदैन भन्नेमा ग्यारेन्टी नहुने विज्ञहरु बताउँछन् । वित्तीय विश्लेषणको मुल आधार ईपीएसको शुद्धतासँगै विश्वसनीयता पनि हेर्नुपर्छ र सम्भव भएको अवस्थामा गत १२ महिनाको औसत (टीटीएम) हेर्नुपर्ने पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी बताउँछन् । यस्तो छ बैंकहरुको गत आर्थिक वर्षको ४ त्रैमासको परिवर्तित ईपीएस

लाभांश पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारणसभा, तोक्यो बुक क्लोजको मिति

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवालभवनमा आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी कार्त्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको प्रस्तावित २७.३६८४२१ प्रतिशत लाभांशलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३८ करोड रुपैयाँ नाघ्ने छ ।