६१ अंकले घट्यो नेप्से, आईसीएफसी र महालक्ष्मीको सेयरमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । मंगलबारको सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । नियमित कारोबार खुलेको साढे १ घण्टामा नेप्से परिसूचक ६१.२९ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१७ प्रतिशतले घटी हो । दिउँसो १२ बजेर ३५ मिनेट जाँदा परिसूचक सो मात्राले घटेर २७६८.३५ बिन्दुमा झरेको छ । यो अवधिसम्म २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी साहस उर्जाको कारोबार भएको छ । कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । यो समाचार तयार पार्दासम्म दुई संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार बढेर सकारात्मक सर्किट लागेको यी दुई संस्थाको सेयरमा आज नकारात्मक सर्किट लागेको छ । यससँगै आईसीएफसी फाइनान्सको सेयर मूल्य १०६.३० रुपैयाँले घटेर ९५६.७० रुपैयाँ र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ८८ रुपैयाँले घटेर प्रतिकित्ता ७९३ रुपैयाँमा झरेको छ । घटेको बजारमा पनि तेह्रथुम पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३६३ रुपैयाँ पुगेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको चौधौं वार्षिक साधारणसभा आगामी मंसिर १९ गते हुँदै छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र एक करोड ९० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । यससँगै आज मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६१८.०१ रुपैयाँदेखि नै शुरु हुने छ ।