लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो एजीएम
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तफबाट ४ जना सञ्चालकहरुको निर्वाचन गराउने समेत प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि बैंकले आगामी मंसिर ६ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
बुक क्लोज भएका ५ बैंकको विश्लेषणः बोनस सेयरको लोभ गर्दा फाइदा भयो कि नोक्सान ?
काठमाडौं । संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटाले लाभांश घोषणा गरेर बुक क्लोज पनि भइसकेको छ । बुक क्लोज हुनु भनेको सुचिकृत कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित भइसक्नु पनि हो । बुक क्लोज भएपछि दोस्रो बजारबाट सेयर किन्नेहरुले सो वर्षको लाभांश पाउँदैनन् । अहिलेसम्म बुक क्लोज भइसकेका बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश (एनबी) र सानिमा बैंक हुन् । यी ५ वटै बैंकले लगानीकर्तालाई दिएको लाभांशमा बोनस सेयरकै हिस्सा अधिक छ । सुचिकृत कम्पनीहरुको अंकित मूल्यभन्दा बजार मूल्य बढी हुने भएकोले नेपाली लगानीकर्ताले नगद लाभांशभन्दा बोनस सेयर दिने कम्पनीप्रति बढी आकर्षण बढाउने गरेका छन् । यी ५ वटै बैंकहरुले प्रदान गरेको बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन अर्थात बुक क्लोज हुनुअघि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरले फाइदा भयो कि भएन भन्ने विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । यसको लागि बैंकको बुक क्लोज हुनअघिको दोस्रो बजारमा कारोबार भएको अन्तिम मूल्य र बोनस सेयर प्रदान गरेर मूल्य समायोजनपछि अन्तिम कारोबार मूल्यका आधारमा फाइदा भयो कि भएन भनेर विश्लेषण गरिएको हो । यसको विश्लेषण सिटिजन्स बैंकबाट सुरु गरौं । सिटिजन्स बैंकले दिएको १२.९१ प्रतिशत बोनस सेयर सुरक्षित गर्नको लागि कुनै लगानीकर्ताले बुक क्लोज हुने अन्तिम दिन १०० कित्ता सेयर किनेको छ भने उसले प्रतिकित्ता ३९८ रुपैयाँ तिरेको छ । प्रतिकित्ता ३९८ रुपैयाँको दरले १०० कित्ता किन्नको लागि उसले ३९ हजार ८ सय रुपैयाँ लगानी गर्नुपर्छ । सिटिजन्सले १२.९१ प्रतिशत बोनस सेयर प्रदान गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम गरिदियो । त्यसमा पनि अहिले सो बैंकको सेयर मूल्य प्रतिकित्ता २९७ रुपैयाँ कायम भएको छ । तर, सो लगानीकर्तासँग अब ११२.९१ कित्ता सेयर हुने भयो । यसरी हेर्दा पनि अहिलेको बजार मूल्य अनुसार ३९ हजार ८ सय रुपैयाँ लगानी गरेर १०० कित्ता सेयर किनेको सो लगानीकर्ताको सम्पत्ति हिजोको अन्तिम कारोबार मूल्यका आधारमा ३३ हजार ५ सय रुपैयाँको हाराहारीमा मात्रै देखिन्छ । यो भनेको सुरु लगानीमा ६ हजार २ सयभन्दा पनि बढीले नोक्सान भएको अवस्था हो । जबकि १०० कित्ता सेयर किन्ने लगानीकर्ताले बुक क्लोज अघिकै मूल्यमा बोनस सेयरपछिको सम्पत्ति प्रतिकित्ता ३९८ रुपैयाँ नै कायम रहेको थियो भने उसलाई ५ हजार १ सय रुपैयाँको हाराहारीमा लाभ हुने थियो । तर, अहिले बजारको वास्तविकताले त्यस्तो देखाउँदैन । यसमा पनि सिटिजन्स बैंकले प्रदान गरेको १२.९१ प्रतिशत बोनस सेयरका कारण सो बैंकको सेयर संख्या १ करोड ६२ लाख ४० हजार कित्ताभन्दा बढी थप भएको छ । कम्पनीको सेयर आपूर्ति बढ्नु भनेको सेयर मूल्य अझ कम हुनु पनि हो । बुक क्लोज भइसकेको अर्काे बैंक कुमारी बैंकको सेयर किनेको लगानीकर्ता भने धेरै नोक्सानीमा देखिदैन । उसले बुक क्लोजअघिको मूल्य प्रतिकित्ता २८० रुपैयाँमा किनेको रहेछ भने उसले ६ प्रतिशतको बोनस सेयर पायो र अन्तिम कारोबार मूल्य प्रतिकित्ता २६४ रुपैयाँ नै भएकोले जम्मा १६ रुपैयाँ जति मात्रै गुमाउनु पर्यो । यद्यपि, बुक क्लोजअघिकै मूल्यका आधारमा मलाई १६८० रुपैयाँ नाफा हुन्छ भन्ने कसैले अनुमान गरेको थियो भने यो नोक्सानी पनि धेरै लाग्न सक्छ । माछापुच्छ्रे बैंकको बुक क्लोजअघि १०० कित्ता सेयर किनेको लगानीकर्ताले पनि मूल्य समायोजनपछि धेरै गुमाउनु परेको देखिदैन । सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३६४.९० रुपैयाँमा बुक क्लोज भएको थियो । मूल्य समायोजन हुँदा प्रतिकित्ता ३२२.०७ रुपैयाँमा भयो भने अहिले दोस्रो बजारमा प्रतिकित्ता ३२१ रुपैयाँ छ । त्यसैकारण माछापुच्छ्रे बैंकको बुक क्लोजअघि १०० कित्ता सेयर किनेको लगानीकर्ताले १३.३० प्रतिशत बोनस सेयर खाएपछि उसको सम्पत्ति आजको दिनमा १२० रुपैयाँ जतिले मात्रै घटेको छ । तर, बुक क्लोज हुने दिनको जति नै मूल्य कायम हुन्छ भन्ने अपेक्षा गरिएको रहेछ भने उसको अपेक्षित लाभ भने ४ हजार ७ सय रुपैयाँभन्दा बढी नै थियो । लाभांश घोषणापछि बुक क्लोज भइसकेको अर्काे बैंक नेपाल बंगलादेश (एनबी) बैंक हो । सो बैंकको बुक क्लोज प्रतिकित्ता ४२५.८० रुपैयाँमा भएको थियो । सो मूल्यमा १०० कित्ता सेयर खरिद गरेको लगानीकर्ताले बैंकले प्रदान गरेको १२ प्रतिशत बोनस सेयर खान पायो । तर, बोनस सेयरपछि मूल्य समायोजन हुँदा सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३८०.१८ रुपैयाँ कायम भयो । अहिले दोस्रो बजारमा एनबी बैंकको सेयर मूल्य प्रतिकित्ता ३४४ रुपैयाँ छ । आजको दिनमा कायम मूल्य अनुसार सो बैंकको बुक क्लोजको मूल्यमा १०० कित्ता सेयर किन्ने लगानीकर्ताको सम्पत्ति अहिले ४ हजार रुपैयाँ जतिले कम भएको छ । बोनस सेयर दिने अर्काे बैंक सानिमा बैंकको सेयर किन्नेले पनि अहिले सम्पत्ति घटाएका देखिन्छ । किनभने सानिमाले दिएको १७ प्रतिशत बोनस सेयर लिनको लागि कुनै लगानीकर्ताले बुक क्लोज हुने दिनको मूल्य प्रतिकित्ता ४८८.८० रुपैयाँमा १०० कित्ता सेयर किनेको रहेछ भने बोनस सेयरपछि कायम मूल्यले उसको सम्पत्ति बढेको देखाउँदैन । सानिमा बैंकले प्रदान गरेको बोनस सेयरपछि सो बैंकको सेयरमूल्य समायोजन भएर ४१७.७८ रुपैयाँ कायम भएको थियो । अहिले दोस्रो बजारमा सानिमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ छ भने बुक क्लोज अघि १०० कित्ता सेयर किन्ने लगानीकर्तासँग अहिले ११७ कित्ता सेयर भएको छ । सानिमा बैंकको बोनस सेयरपछि अहिले कायम रहेको दोस्रो बजारको मूल्यका आधारमा हेर्दा सो लगानीकर्ताले ३२ सय रुपैयाँको हाराहारीमा आफ्नो सम्पत्ति घटेका पाउँनेछन् । जबकि बुक क्लोजअघिकै मूल्य कायम भएको भए सो लगानीकर्ताले अहिले ८ हजार ३ सयभन्दा बढी सम्पत्ति बढिसकेको पाउने थिए । सम्बन्धित समाचार बुक क्लोज भएका ५ लघुवित्तको विश्लेषणः बढी लाभ बोनस सेयरले भयो कि नगद लाभांशले ?
११ लघुवित्तले बोलाए वार्षिक साधारणसभा, ४ वटाको सकियो, बाँकीको कहिले ?
काठमाडौं । हालसम्म विभिन्न ११ वटा लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाको लागि मिति तय गरिसकेका हुन् । जसमध्ये ४ वटाले सम्पन्न गरिसकेका छन् भने बाँकी ७ वटाले साधारणसभाको मिति तय गरिसकेका छन् । सभा सम्पन्न गरेका संस्थाहरुमा गुराँस, अभियान, साधना र डिप्प्रोक्स लघुवित्त रहेका छन् । त्यस्तै, आशा, सिभिल, स्वरोजगार, एनआईसी एशिया, लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्सले आआफ्नो वार्षिक साधारणसभा आव्हान गरेका छन् । जसमध्ये तीन वटा लघुवित्तले यहि महिना भित्रै सभा सक्ने तयारी गरेका छन् । आशा लघुवित्तले लगत्तै कार्त्तिक २७ गते बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक १२ गते बुक क्लोज गरिसकेका छन् । संस्थाको सभाले सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त सभाले पारित गरेसँगै कार्त्तिक ११ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । त्यस्तै, स्वरोजगार लघुवित्तले पनि आगामी कार्त्तिक २७ गते नै सभा आव्हान गरेको छ । सभाले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्दै छ । उक्त सभामा जानको लागि संस्थाले कार्त्तिक १२ गते नै बुक क्लोज गरिसकेको छ । त्यसैगरी, सिभिलले पनि आगामी कार्त्तिक २८ गते सभा डाकेको छ । कार्त्तिक १४ गते बुक क्लोज गरेको संस्थाले सभामा २० प्रतिशत लाभांश प्रस्ताव लैजाँदै छ । एनआईसी एशिया, लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्सले आगामी मंसिरमा सभा गर्ने भएका छन् । जसमध्ये सबैभन्दा पहिला एनआईसी एशिया लघुवित्तले डाकेको छ । कार्त्तिक २३ गते बुक क्लोज गरेको संस्थाले मंसिर ५ गते साधारणसभा गर्न लागेको हो । सभाले सेयरधनीलाई ५.४१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । यससँगै अब यी ४ वटा संस्थाको सेयर किन्ने लगानीकर्ताले गत आर्थिक वर्षको लाभांश पाउँदैनन् । तीन लघुवित्तको बुक क्लोज नै हुन बाँकी सभामा जान मिति तय गरेकामध्ये ३ वटा लघुवित्त(लक्ष्मी, आरएसडीसी र फर्ष्ट माइक्रोफाइनान्स) हरुको बुक क्लोज हुन नै बाँकी छ । जसमध्ये लक्ष्मी र आरएसडीसीले कार्त्तिक ३० गते बुक क्लोज गर्दै छन् भने फर्ष्ट माइक्रोफाइनान्सले मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै यी तीन वटै लघुवित्तको सेयर किन्नले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पाउने छन् । तर, उक्त लाभांशको लागि इच्छुकले बुक क्लोज हुनुभन्दा अघि नै सम्बन्धित संस्थाको सेयर खरिद गर्नुपर्ने हुन्छ । एकैदिन बुक क्लोज गर्न लागेका लक्ष्मी र आरएसडीसी लघुवित्तले सभा पनि एकैदिन गर्न लागेका छन् । उनीहरुले आगामी मंसिर १० गते आ आफ्नो वार्षिक साधारण सभा गर्न मिति तय गरेका छन् । लक्ष्मी लघुवित्तको सभाले सेयरधनीलाई कूल २७.३७ प्रतिशत लाभांश र आरएसडीसी लघुवित्तको सभाले कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, फर्ष्ट माइक्रोफाइनान्सले पनि आगामी मंसिर १६ गते सभा बोलाएको छ । संस्थाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभामा लैजाँदै छ ।