३४ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २७ सय ६० बिन्दुमा पुगेको छ । मौद्रिक नीति पछि सेयर बजारमा लगानी गर्न लगानीकर्ताहरू उत्साहीत देखिएका छन् । आज २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, निफ्रा ग्रीन इनर्जीको ५० करोड, राधी जलविद्युत कम्पनीको ४३ करोड, एनआइसी एशिया बैंकको ३० करोड र एनआरएन इन्फ्रइस्ट्रक्चरको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सानिमा रिलायन्स लाइफको साढे १६ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको साढे १६ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । केही सेयरधनीले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा सञ्चालक समितिको असार १३ गते र असार २७ गते सम्पन्न बैंकले स्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन अर्थात् भदौ २ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
बरुण हाइड्रोको हकप्रद सेयर बिक्री खुला, १ कित्ता हुने नयाँ १ कित्ता पाउने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले आज असार ३१ गतेदेखि सतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गरेको छ । कम्पनीले हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हकप्रद सेयरबाट संकलित रकममध्ये १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुन निर्माण र ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनीमा लगानी गर्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।