२७ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २७६१ बिन्दुमा पुगेको छ । आज ५८ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३१७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ३५ करोड, नेपाल रिपब्लीक मिडियाको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड र शिवम् सिमेन्टको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
दार्चुला पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा
काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले रुपन्देहीको बुटवल, मिलनचोकमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । श्रावण महिनाको अन्तिम सातादेखि स्वस्तिपूर्वक उद्घाटन गरी शाखा सञ्चालनमा आएको हो । बुटवल शाखामार्फत रुपन्देहीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीलगायतका नजिकका जिल्लाका सर्वसाधारणले दोस्रो बजारमा नयाँ प्रविधिमार्फत सेयर कारोबार गर्न अझ सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए । कम्पनीले निकट भविष्यमा अन्य सम्भावित स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले दिए । उनका अनुसार, कम्पनीले आम सर्वसाधारणलाई सहज र पहुँचयोग्य बनाउँदै सेयर कारोबार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल धितोपत्र बोर्डको अनुमति तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भाद्र १० गतेदेखि औपचारिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले ग्राहकलाई प्रविधिमैत्री ढंगले धितोपत्र ब्रोकरेज र निक्षेप सदस्य (डिपी) सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष प्रदिप केसीले बताए ।