वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ रकम बराबरको आईपीओ जारी गर्न लागेको हो। आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ । सम्झौतापत्रमा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) यश पुरी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । अन्नपूर्ण माछा दाना उद्योग नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योगमध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका माछा दाना उत्पादन गर्दै आएको छ । कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ ।
जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मंगलबार मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको हो बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पूँजी वृद्धि भएको छ । जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ थियो । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको छ । जीवन विकास लघुवित्तले लगानीकर्तालाई प्रतिफल वितरणमा निरन्तरता दिँदै आएको छ । यसअघि पनि संस्थाले लगातार दुई वर्ष १४ प्रतिशतकै दरले बोनस सेयर वितरण गरेको थियो । साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं पूर्वसांसद योगेन्द्र मण्डलले बैंक तथा वित्तीय संस्थालाई कमजोर बनाउन विभिन्न पक्षबाट योजनावद्ध प्रहार भइरहेको बताए । ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रलाई बलियो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । गरिब र विपन्न वर्गको उत्थानका लागि स्रोत जुटाउने उद्देश्यले जीवन विकासको स्थापना भएको स्मरण गर्दै उनले बेरोजगारी अन्त्यका लागि संस्थाले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेको बताए । जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रतिकूल अवस्थामा पनि जीवन विकासले सदस्यको घरदैलोमा पुगेर लघुवित्त र सामाजिक सेवा प्रवाह गरिरहेको बताए । सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध निर्वाचित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको निर्वाचन प्रकृयामा दुवै पदका लागि एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । यसअघि पनि उनीहरूले संस्थाको सञ्चालकका रूपमा जिम्मेवारी निभाइसकेका छन् ।