एभरेष्ट बैंकको २२औँ वार्षिक साधारणसभा पुस २३ गते

काठमाडौं, २७ मंसिर । एभरेष्ट बैंकले पुस २३ गतेको लागि २२औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागी पुस ६ गतेदेखि पुस २३ गते सम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर २७ गते बिहान बसेको बैंकको २७औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

नेप्से परिसूचक २२ अंकले ओरालो, ४० करोडको सेयर कारोबार

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) राताम्मे भएको छ । यसदिन नेप्से परिसूचक २१.८८ अंकले ओरालो लागेर १५२२.८० अंकमा अडिएको छ । आइतबार कारोबार खुलेदेखि नै बजार लगातार ओरालो लागेको थियो । आइतबार कारोबार रकममा भने निक्कै ओरालो लागेको छ । यसदिन ४० करोड रुपैयाँको मात्र कारोबार भयो । बिगतका दिनहरुमा बजारमा ठूलो गिरावट आएपनि यत्ति थोरै कारोबार भने कहिल्यै भएको थिएन । बजारमा खरिदकर्ताको चाप न्युन भएकोले कारोबारमा पनि गिरावट आएको सेयर बजार विष्लेष्क हरीवोल काफ्ले बताउछन् । कारोबार रकममा आएको गिरावटले बजार अझै ओरालो लाग्ने लक्षण देखिएको उनले बताए। यसदिन उत्पादमूलक समूह बाहेक सबै सूचक ओरालो लागेको छ । सबैभन्दा धेरै विमा समूहको परिसुचक १४७.५ घटेको छ भने जलविद्युत उपसूचक ७३.६ अंकले घटेको छ । त्यस्तै, होटल ६९.१३ अंकले, विकास बैंक २४ अंकले, फाइनान्स ११.८४ अंकले र अन्य २.६१ अंकले ओरालो लागेको छ । आईतबार सेयर बजारमा १४१ कम्पनीका ६ लाख ९३ हजार कित्ता सेयर खरिद बिक्रि भए । सवैभन्दा बढी कारोबार एभरेष्ट बैंकको ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै बैंक अफ काठमाण्डौ लुम्बिनी र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । घटेको बजारमा १६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीमा अपि पावर, पोखरा फाईनान्स र अरुण फाईनान्स रहे भने सबैभन्दा बढी कमाउनेमा नमस्ते वित्तीय संस्थाका लगानिकर्ता रहे ।

इक्रा नेपालको एकाधिकार तोडिदै, क्रेडिट रेटिङ संस्था स्थापनाको लागि केयरले पायो अनुमति

काठमाडौं, २६ मंसिर । नेपालमा क्रेडिट रेटिङमा एक छत्र राज गरेको इक्रा नेपालको एकाधिकार तोडिने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ संस्था स्थापना गर्नको लागि क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड (केयर), मुम्वई, इण्डियालाई सहमति दिएपछि इक्रा नेपालको एकाधिकार तोडिने भएको हो । धितोपत्र बोर्डले गत बिहीबार क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वईलाई संस्था दर्ता गर्नको लागि सहमति दिएको जनाएको छ । क्रेडिट रेटिङ नियमावली, २०६८ वमोजिम सो संस्थालाई नेपालमा कम्पनी स्थापना गरी काम गर्न अनुमति दिएको धितोपत्र बोर्डका सहप्रबक्ता निरन्जयमान घिमिरेले जानकारी दिए । उनका अनुसार विदेशमा क्रेडिट रेटिङको काम गरिरहेका कम्पनीहरुले नेपालमा सोही व्यवसाय गर्न चाहेमा उनीहरुको ५१ प्रतिशत र नेपाली साझेदारको ४९ प्रतिशत सेयर हुनुपर्ने प्रावधान छ । सोही अनुरुप सो कम्पनीले नेपालमा व्यवसाय गर्नुपर्ने छ । त्यस्तै क्रेडिट रेटिङ व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा सो कम्पनीको चुक्तापुजी ५ करोड रहने प्रस्ताव गरिएको सहप्रबक्ता घिमिरेले जानकारी दिए । कम्पनीले नेपालमा क्रेडिट रेटिङ व्यवसाय गर्नको लागि प्रचलित कानून वमोजिम कम्पनी स्थापना गर्नुपर्नेछ । कम्पनीले क्रेडिट रेटिङ व्यवसाय गर्ने अनुमति पत्रको लागि बोर्डमा निवेदन दिनु पर्नेछ सहप्रबक्ता घिमिरेले बताए । उनले भने—‘अहिले त हामीले संस्था स्थापनाको लागि मात्र अनुमति दिएका हौ, कम्पनी स्थापना गरिसकेपछि लाइसेन्सको लागि पुनः बोर्डको अनुमति चाहिन्छ ।’ नेपालमा एक मात्र क्रेडिट रेटिङ संस्था रहेको र क्रेडिट रेटिङ संस्था थपिए क्रेडिट रेटिङ व्यवसाय थप चुस्त र व्यवसायीकता बढ्न गई सेवाग्राहीले राम्रो सेवा पाउने सहप्रबक्ता घिमिरेले जानकारी दिए ।