मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत हकप्रद निष्कासन गर्ने, पुस २९ गते साधारणसभा

काठमाडौं, ३ पुस । मञ्जुश्री फाइनान्सले १७५ प्रतिशत (१ बराबर १.७५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णयलाई गत जेठ २६ गते बसेको कम्पनीको विशेष साधारणसभाले पारित गरिसकेको पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जनाएको छ । उक्त बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको ९औँ वार्षिक साधारणसभा यहि पुस २९ गते हुने भएको छ । सोही प्रयोजनको लागि फाइनान्सले आगामी पुस ९ गतेदेखि पुस २९ सम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ६२ करोडको सेयर कारोबार

काठमाडौं, ३ पुस । लगातार घटिरहेको सेयर बजारमा केही सुधार आएको छ । आइतबार नेप्से परिसूचक १ दशमलब २९ अंकले बढेर १५३१ दशमलब ३५ अंकमा पुगेको छ । बजारमा परिसूचक साथै कारोबार रकममा पनि केही सधार भएको छ । सो दिन १३३ कम्पनीको ७५ लाख २४ हजार कित्ता सेयर ६२ करोड २० लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । १५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको बैंकको सेयरको मूल्य प्रतिकित्ता ३ हजार २९९ रुपैयाँ रहेको छ । आइतबार बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ७२, ९ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १३ दशमलब ३५ अंकले घटेका छन् । अल्पाइन डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।

लुम्बिनी फाइनान्स एण्ड लिजिङको ३६ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडौं, ३ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयरधनीलाई ३६ दशमलब ७९ प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले ३५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ७९ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो । नेपाल राष्ट्र बैंकद्धारा स्वीकृत उक्त प्रस्तावलाई अब कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।