आइतबार स्थगित गरिएको नेसनल हाइड्रोको साधारणसभा अब पुस १३ गते हुने
काठमाडौं, २७ मंसिर । नेसनल हाइड्रोपावरको वार्षिक साधारणसभा अब पुस १३ गते हुने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले सो दिनको लागि साधारणसभा बोलाएको छ । यस अघि कम्पनीले आइतबार साधारणसभा बोलाएको थियो तर आवश्यक कोरम नपुगेको कारणले स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधानका कारण आइतबार सभा स्थगित गरिएको थियो । अब पुस १३ गते बोलाइएको सभामा भने २५ प्रतिशत सेयरहोल्डर उपस्थित भए पनि साधारणसभा गर्न कोरम पुग्ने कम्पनीले जनाइएको छ ।
पुर्णिमा विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, २७ । पुर्णिमा विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्रामा हकप्रद निष्कासन हुने छ । बैंकले आगामी पुस २३ गते ९औँ वार्षिक साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी ३० करोड २५ लाख रुपैयाँ रहेको छ । बजारमा बैंकको प्रतिकित्ता सेयर ४४० रुपैयाँमा किनबेच भइरहेको छ ।
धितोपत्र बोर्डमा तीन अर्ब ४० लाख बराबरको बोनस सेयर दर्ता
काठमाडौं, २७ मंसिर । सेयर बजारमा सुचिकृत कम्पनीहरुमध्ये ३४ वटा कम्पनीहरुले तीन करोड ४० लाख कित्ता सेयर आफ्ना लगानीकर्ताहरुलाई दिने भएका छन् । कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट दिने बोनस सेयर ३ अर्ब ४० करोड ३८ लाख रुपैयाँ बराबरको हो । नेपाल धितोपत्र बोर्डले आइतबार सम्ममा सो रकम बराबरको बोनस सेयर दर्ता भएको जनाएको छ । सवैभन्दा बढी बोनस सेयर दिने कम्पनीमा स्ट्यान्डार्ड चार्टर्ड बैंक रहेको छ । सो बैंकले आफ्नो नाफाबाट सेयरधनीहरुलाई ५६ करोड ४२ लाख बराबरको सेयर दिने छ । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ५१ करोड ३६ लाख बराबरको बोनस सेयर दिने भएको छ, भने माछापुच्छ्रे बैंकले ५३ करोड ३० लाख, नागरिक लगानी कोषले १५ करोड ७५ लाख, गुँरास लाइफ इन्सुरेन्सले ५ करोड, काक्रेविहार विकास बैंकले ५६ लाख ९२ हजार ५०० , साल्ट टे«निड कर्पोरेसनले एक करोड सात लाख र सगरमाथा फइनान्सले ५ करोड ५ लाख बराबरको बोनस सेयर दिने छन् । त्यस्तै हिमालय जनरल इन्सुरेन्सले ५ करोड ३५ लाख, नमस्ते वित्तिय संस्थाले ६२ लाख, आइसीएफसी फाइनान्सले ४ करोड ४८ लाख, प्रुडेन्सियल इन्सुरेन्सले ३ करोड २४ लाख, कालिन्चोक डेभलपमेन्ट बैंकले ६० लाख, मिसन डेभलपमेन्ट बैंकले २ करोड २४लाख, कर्णाली डेभलपमेन्ट बैंकले २ करोड, नेपाल लाइफ इन्सुरेन्स कम्पनीले ४३ करोड ३५ लाख, प्रोफेसनल दियालो विकास बैंकले २ करोड र लुम्विनी फाइनान्स एण्ड लिजिड कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ बोनस सेयरका लागि छुट्याएका छन् । यसैगरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले ९५ लाख, रिलायन्स लोटस फाइनान्सले ७ करोड ४२ लाख ,राप्तीभेरी विकास बैंकले १ करोड ८७ लाख, रिलायवल डेभलपमेन्ट बैंकले ७ करोड १६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ३४ लाख, सुप्रिम डेभलपमेन्ट बैंकले १२ करोड १७ लाख, हाम्रो विकास बैंकले १ करोड ५९ लाख, भागर्व विकास बैंकले दुई करोड, महाकाली डेभलपमेन्ट बैंकले २ करोड १६ लाख, वाग्मति डेभलपमेन्ट बैंकले ८० लाख र भक्तपुर फाइनान्सले एक करोड १० लाख रुपैयाँ बोनस सेयरका लागि छुट्याएका छन् । बोर्डका अनुसार मातृभुमि विकास बैंकले ७२ लाख, अपी पावर कम्पनीले ५ करोड, प्रभु इन्सुरेन्सले ५ करोड ५९ लाख, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले ३ करोड ४५ लाख र ओरेन्टल होटलले १३ करोड १९ लाख बराबरको बोनस सेयर दिने छन् । बोनस सेयरका कम्पनीहरुले गत आर्थिक वर्षमा कमाएको खुद नाफबाट दिने छन् ।