कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, २४ असार । कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त निर्णय २०७२/८र/१९ गते नै बैंकको पाचौँ साधारणसभाले पारित गरिसकेको थियो । सो प्रक्रियाको लागि आउँदो साउन ३ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी करिब ५ करोड रुपैयाँ रहेको छ । बजारमा उक्त बैंकको सेयर करिब ६ सय २० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ ।
नेप्सेले भारतीय कम्पनीकै सफ्टवेयर किन्ने
काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुर्व सम्झौता अनुसार भारतीय कम्पनीसँगै नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्ट वेयर खरिद गर्ने सम्झौता गरेको थियो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितो पत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्ट वेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ इन्कर्पाेरेशन अदालत गएको थियो । पुर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेप्सेले सफ्ट वेयर खरिद नगर्ने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो । नेप्सेको सम्झौता उल्लंघन गर्ने मनासाय नरहेको भन्ने आदेश दिएको थियो । ‘अदालतको आदेशको अर्थ पत्ता लगाउने प्रयास गरिरहेका छौं, अब सफ्टवेयर खरिद प्रक्रिया अघि बढ्छ’, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले विकासन्युजसँग भने । नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता भैसकेको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ । नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’ अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।
आँखुखोला जलविद्युत् आयोजनाले करिब आठ लाख कित्ता सेयर जारी गर्ने
काठमाडौं, २३ असार । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए । धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ । यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ । आयोजनाको कुल लागत रु चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ । रासस