सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब एक अर्ब ७५ करोडको कारोबार

काठमाडौं, १६ साउन । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ दशमलब ७६ अंकले घटेर १८६२ अंकमा झरेको छ । सो दिन कारोबार रकममा पनि गिरावट आएको छ । १४१ कम्पनीको ३५ लाख ९४ हजार सेयर एक अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार हाइड्रोपावर र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा, उत्पादनमूलक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३६, २० र ११ अंकले घटेका छन् । विकास बैंकको परिसूचक सामान्य ०.३९ अंकले घटेको छ । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः २३ र १ अंकले उकालो लागेका छन् । सो दिन सबैभन्दा बढी गुह्ेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सिनर्जी फाइनान्स, तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । करिब ४ प्रतिशतले गुमाउनेमा अन्य ८ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन ३ कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंक लि.को १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कैलाश विकास बैंकको करिब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक लि., प्राइम कमर्सियल बैंक र अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर कारो बार भएको छ ।

देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, १३ साउन । देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको बोर्ड बैठकले पुँजी वृद्धिको योजना अनुसार सो मात्रामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । हकप्रद सेयर निष्काशनका लागि बैंकले साउन २० गतेदेखि २८ गतेसम्म ब्रुक क्लोज गर्ने जानकारी समेत दिएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय पारित गराउनका लागि साउन २८ गतेका लागि बिशेष साधारण सभा समेत डाकेको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड पुग्नेछ ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा होटल समूह १९५ अंकले उकालो

काठमाडौं, १२ साउन । बजारमा नेप्से परिसूचक निरन्तर बढ्ने क्रम जारी छ । मंगलबार २८ अंकले बढेको परिसूचक बुधबार पनि १४ अंकले बढेको छ । बुधबार परिसूचक १४ अंकले बढेर १८८१ अंकमा पुगेको छ । सो दिन १४८ कम्पनीको ४३ लाख ८५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक १९५ अंकले उकालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, बैकिङ र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३३, १५ र ५ अंकले बढेका छन् । बीमा, उत्पादनमूलक र अन्य समूह भने क्रमशः २३, १३ र ७ अंकले ओरालो लागेका छन् । बजारमा ९ वटा कम्पनीको सेयर मूल्य करिब १० अंकले बढेको छ । सबैभन्दा बढी लुम्बिनी फाइनान्सको १० प्रतिशतले सेयर मूल्य बढेको छ । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाँउ रिजेन्सि होटल, सिन्धु विकास बैंक, प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स कम्पनी, यूनाइटेड फाइनान्स र सोल्टी होटलका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंक लि. प्रमोटर सेयरका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । अन्य कम्पनीको ७ करोड भन्दा थौरै रुपैयाँको सेयर कारोबार भएको छ ।