सेयर बजार निरन्तर ओरालो, ब्रोकर मार्जिन कर्जाले पनि छोएन
काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार ब्रोकर मार्जिन ल्याण्डिङ सार्वजनिक भएपछि पनि मंगलबारको सेयर बजार बढ्न सकेन । बोर्डले सोमबार सार्वजनिक गरेको निर्देशन अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा सुविधा अन्तर्गत अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने भएपछि त्यसको असर मंगलबारको सेयर बजारमा पर्न गएको हो । साे दिनकाे नेप्से परिसूचक ८.९७ अंकले ओरालो लागेर १४८४ अंकमा अडेकाे छ । सो दिन १५९ कम्पनीको जम्मा ११ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कुल ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ट्रेनिङ समूहको परिसूचक सामान्य अंकले हरियो भएको छ भने कारोबार भएका अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४९.७३ अंकले ओरालो लागेको छ । सो दिन सबैभन्दा बढी काबेली विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् । त्यस्तै, बैंकको ब्याजदर बढी भएपछि लगानी आउन नसकेकाले सेयर बजार घटेको भन्ने बुझिन्छ । साथै, अब आउने चुनाव पछि बामपन्थी गठबन्धन सरकार बन्ने सम्भावना भएपछि लगानीकर्ता डराएका छन् जसको प्रभाव बजारमा पुग्न गएको भन्ने अनुमान गर्न सकिन्छ ।
तीन करोड ३७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर
काठमाडौं । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन करोड ३७ लाख ४ हजार ५७३ कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा ४ कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर गरी जम्मा ५ वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । ती मध्ये रिलायवल माइक्रोफाइनान्स, सेञ्चुरी कमर्शियल बैंक, हाम्रो विकास बैंक र एभरेष्ट बैंकको हकप्रद र मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो । रिलायवल माइक्रोफाइनान्सको २ लाख ८२ हजार ५०० कित्ता र सेञ्चुरी बैंकको एक करोड ७० लाख २४ हजार ३८१ कित्ता हकप्रद बजारमा सेयर कारोबारका लागि थपिएका छन् । त्यस्तै, हाम्रो विकास बैंकको ८ लाख ८० हजार ७७० कित्ता र एभरेष्ट बैंकको एक करोड ५० लाख ८८ हजार ०८७ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएका छन् । त्यसैगरी, मिसन डेभलपमेन्ट बैंकको ४ लाख २८ हजार ८३५ कित्ता बोनस सेयर मंगलबार थपिएको हो ।
जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड नगद लाभांश दिने
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई ५० करोड रुपैयाँ नगद लभांश दिने भएको छ । कम्पनीले गत वर्षको चुक्ता पुँजीको पाँच प्रतिशत(कर सहित)का दरले सो मात्राको नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।