विजय लघुवित्तको मंसिर १ देखि बुक क्लोज
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको मंसिर १ देखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते बस्दै छ ।
नागवेली लघुवित्तले ४५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । नागवेली लघुवित्त विकास बैंकले आफ्नो सेयरधनीलाइै ४५.६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले सो मात्राको बोनस सेयर वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले ४५.६ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सञ्चालक समितिको बैठकलाई कम्पनीको आगामी आठौँ वार्षिक साधारणसभाले पारित गर्ने भएको छ । कम्पनीको गत वर्षको सातोँ वार्षिक साधारण सभाबाट सो मात्राको हकप्रद जारी गर्ने प्रस्ताव राखेको थियो तर विविध कारणले गर्दा उक्त हकप्रद सेयर निष्कासन गर्न नसकिएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.६ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ६४ लाख ४० हजार रुपैयाँ कायम हुने छ । बोनस पश्चात कायम भएको पुँजीमा १०० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पुँजी १४ करोड ९८ लाख रुपैयाँ नाघ्ने छ ।
सेयर बजार घट्ने क्रम जारी, नेप्से दोहोरो अंकले ओरालो, सबै समूह राताम्मे
काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । मंगलबार करिब ९ अंकले घटेको बजार बुधबार दोहोरो अंकले घटेको छ । बुधबार एक बजेसम्म २४ अंकले ओरालो लागेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १७ दशमलब ८३ अंकमा पुग्दा बुधबारको बजार बन्द भएको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से १.२० प्रतिशतले घटेर १४६६ अंकमा अडेको छ । दोहोरो अंकले घटेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्यमा ९.९८ प्रतिशत गिरावट आएको छ । बुधबार स्ट्याण्डार्ड चार्टर्ड बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् ।