प्राइम लाइफको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त, १६०% हकप्रद जारी गर्दै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धुब्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको छ । १६० प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पुँजी एक अर्ब ५८ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३५ रुपैयाँ रहेको छ ।

नेप्से दोहोरो अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । दुई सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ । सो दिन नेप्से परिसूचक १६.४१ अंकले उकालो लागेर १४७७.१४ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी बैंक अफ काठमाण्डूको २ करोड ८९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । आइतबारको सेयर बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूह ११८ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहक स्थिर रहेको छ भने ट्रेडिङ समूह सामान्य अंकले ओरालो लागेको छ । अन्य बाँकी समूहहरु भने सामान्य अंकले उकालोे लागेका छन् । त्यस्तै, सबैभन्दा बढी सहयोगी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।

कैलाश विकास बैंकको लाभांश ११ लाख रुपैयाँले घट्यो

काठमाडौं । कैलाश विकास बैंकको लाभांश ११ लाख ३२ हजार ८२९ रुपैयाँले घटेको छ । बैंकले पूर्व धोषित लभांशमा ११ लाख ३२ हजार ८२९ रुपैयाँ घटाएर कुल २१ करोड ६५ लाख ५८ हजार ३७५ रुपैयाँ नगद लभांश दिने भएको छ । यसअघि बैंकले आफ्ना सेयरधनीलाई २१ करोड ७६ लाख ९१ हजार २०४ रुपैयाँ नगद लभांश दिने घोषणा गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकको पत्र अनुसार पूर्व धोषित नगद लभांशमा परिवर्तन गरेको हो । साथै, बैंकले चुक्ता पुँजीको २२ करोड ९१ लाख ४८ हजार ८०० रुपैयाँ बराबरको (अर्थात १० प्रतिशत) बोनस सेयर वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा मंसिर १५ गते हुँदै छ । सो प्रयोजनको लागि मंसिर १ गतेदेखि १५ गतेसम्म(१५ दिन) बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी २ अर्ब ५२ करोड रुपैयाँ नाघ्ने छ ।