देवचुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३०७ जनाले लिए सेवा
काठमाडौं । नवलपुरको देवचुली नगरपालिका–१५, प्रगति नगर सालघारीस्थित दुर्गा मन्दिरमा महिला तथा बालबालिकालाई लक्षित गरी स्वास्थ्य सिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट ३०७ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएको स्थानिय कृष्ण गैरेले जानकारी दिए । भरतपुरको बीपी मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक, आरोग्य मल्टी सुपरस्पेशलाइज क्लिनिक र भरतपुर रोटरीको संयुक्त आयोजनामा सम्पन्न शिविरमा महिला स्वास्थ्य, स्तन क्यान्सर, बालरोगलगायत विभिन्न रोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको गैरेले बताए । गैरेका अनुसार शिविरमा १०५ जनाको भिआइए विधिवाट क्यान्सर परीक्षण तथा १६० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । अन्य सेवाग्राहीले महिला तथा बालबालिकासम्बन्धी विभिन्न स्वास्थ्य समस्यामा परामर्श तथा उपचार सेवा लिएका थिए गैरेले भने । गैरेका अनुसार शिविरमा वरिष्ठ रक्त तथा बालरोग विशेषज्ञ र बोन म्यारो ट्रान्सप्लान्टसम्बन्धी अनुभव भएका चिकित्सकहरूको टोली सहभागी भएको थियो ।
विराटनगर विमानस्थलमा साइरन, धुवाँ र आपतकालीन सवारी देखिने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत विराटनगर विमानस्थलमा फुल स्केल आपतकालीन अभ्यास (इमर्जेन्सी एक्सरसाइज) सञ्चालन हुने भएको छ । नागरिक उड्डयन कार्यालय विराटनगरले जारी गरेको सूचनाअनुसार उक्त अभ्यास २०८२ चैत २५ गते बिहान ७:३० बजे सञ्चालन गरिनेछ । अभ्यासका क्रममा विमानस्थल क्षेत्र तथा आसपासमा एम्बुलेन्स, उद्धार तथा अग्नि नियन्त्रण सेवा, सिटी फायरलगायतका आपतकालीन सवारीसाधनको आवतजावत, साइरनको आवाज र बाक्लो धुवाँ देखिन सक्ने जनाइएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा उद्धारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहनेछ । यस क्रममा देखिने गतिविधि अभ्यासकै हिस्सा भएकाले सर्वसाधारणमा कुनै त्रास वा भ्रम नलिन प्राधिकरणले आग्रह गरेको छ ।
केवाईसी नभर्दा सिमकार्ड विक्रेताको कमिसन रोकियो
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सिमकार्ड बिक्री-वितरणमा संलग्न खुद्रा विक्रेता तथा बिक्री केन्द्र (प्वाइन्ट अफ सेल्स)हरूको कमिसन भुक्तानी विवरण अद्यावधिक (केवाईसी) नभएका कारण रोकिएको जनाएको छ । टेलिकमले बिक्रेताहरूको कमिसन ‘नमस्ते पे’ विद्युतीय भुक्तानी माध्यममार्फत विवरण प्रमाणीकरण भएको एक हप्ताभित्र भुक्तानी गरिने व्यवस्था रहेको छ । तर, केही बिक्रेताहरूले नेपाल डिजिटल भुक्तानी कम्पनी (एनडीपीसी), त्रिपुरेश्वरमा हालसम्म विवरण अद्यावधिक नगरेकाले उनीहरूको कमिसन भुक्तानी हुन नसकेको जनाएको छ । टेलिकमले कमिसन नलिएका बिक्रेताहरूलाई १० दिनभित्र एनडीपीसीमा विवरण अद्यावधिक गरी भुक्तानी लिन आग्रह गरेको छ । साथै, समयमै प्रक्रिया पूरा गरी हिसाब मिलाउन सम्बन्धित डिलर तथा सरोकारवालालाई पनि जानकारी गराइएको छ ।