हवाई इन्धनको मूल्यवृद्धिसँगै उडान भाडा आकासियो, धनगढी पुग्नै २३ हजार
काठमाडौं । मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी वृद्धि भएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य दोब्बरले बढाएको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरेको छ । यो वृद्धिसँगै अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरूले आफ्नो उडान खर्च धान्नका लागि ‘फ्युल चार्ज’ बढाएका छन । वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गरेर ‘फ्युल चार्ज’ बढाएको जानकारी गराएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बुधबारदेखि नै लागू हुनेगरी नयाँ ‘फ्युल सर्चेच’ जारी गरेको छ । कहाँ जान कति भाडा ? इन्धनको मूल्यवृद्धिसँगै काठमाडौं-धनगढी रुटका भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब काठमाडौंबाट धनगढी जान अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ खर्चिनु पर्ने भएको छ । धनगढी रुटको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ । क्यानका अनुसार काठमाडौं-माउन्टेनको अधिकतम भाडा १८ हजार २६ पुगेको छ । काठमाडौं–माउन्टेनको न्यूनतम भाडा ११ हजार ३४२ कायम भएको छ । यसअघि काठमाडौं–माउन्टेनको लागि इन्धनको भाडा ४ हजार ३६० तोकिएको थियो । मूल्य बढेसँगै उक्त रुटको भाडामा इन्धनको मूल्य ८ हजार ६१५ पुगेको छ । काठमाडौं–भद्रपुरका न्युनतम भाडा ९ हजार ९८९ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ । उक्त रुटमा इन्धनको मूल्य ३ हजार ७२५ रुपैयाँले वृद्धि भएको छ । यसअघि भद्रपुर रुटको लागि इन्धनको मूल्य ३ हजार ८१५ रुपैयाँ रहेकोमा वृद्धि भएर ७ हजार ५४० रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौं–विराटनगरको न्यूनतम भाडा ८ हजार ८८ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । काठमाडौं–जनकपुरको न्यूनतम भाडादर ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ । काठमाडौं–भरतपुरको न्यूनतम भाडा ३ हजार ८८५ रुपैयाँ र अधिकतम ५ हजार ९७३ रुपैयाँ तोकिएको छ । त्यसैगरी, काठमाडौं–पोखरा रुटको न्यूनतम ५ हजार ५१५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको छ । काठमाडौं–भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ पुगेको छ । काठमाडौं–नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ कायम भएको छ । काठमाडौं–तुम्लिङटार न्यूनतम भाडा ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० कायम भएको तोकिएको छ । त्यसैगरी, काठमाडौं–सिमरा रुटको न्यूनतम भाडा ३ हजार ३४४ रुपैयाँ र अधिकतम ५ हजार ९८ रुपैयाँ कायम भएको छ । काठमाडौं–राजविराजको भाडा अधिकतम १० हजार ७५० र न्यूनतम ८ हजार ५१२ रुपैयाँ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रुले तिर्ने हवाई भाडा चार प्रमुख आधारमा निर्धारण हुन्छ । ‘हाम्रो प्यासेन्जरले तिर्ने हवाई भाडामा चार वटा कुरा सहभागी हुन्छ, लागतदर, फ्युल सर्चार्ज, एयरपोर्ट ट्याक्स र १३ प्रतिशत भ्याट,’ उनले भने । उनका अनुसार लागतदर नेपाल सरकारले स्वीकृत गरेको संरचनाअनुसार निर्धारण हुने गर्दछ, जुन २०७३ सालदेखि लागू भए पनि समयमै पुनरावलोकन हुन सकेको छैन । ‘यो प्रत्येक दुई–दुई वर्षमा समीक्षा हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन,’ भुलले बताए । हवाई भाडामा सबैभन्दा ठूलो प्रभाव इन्धनको मूल्यले पार्ने उनले स्पष्ट पारे । टोटल म्याक्सिमम फेयरमा करिब ४० प्रतिशत हिस्सा हवाई इन्धनकै हुन्छ । नेपाल सरकारको २०७५ सालको व्यवस्थाअनुसार हवाई इन्धनको मूल्य जति बढ्छ, सोही आधारमा भाडा समायोजन गर्ने प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार प्राधिकरणले नयाँ भाडादर लागू गरेको भुलको भनाइ छ । भुलले अहिलेको अवस्था असामान्य रहेको उल्लेख गर्दै यात्रुलाई केही समयका लागि समायोजन भाडामै कम्प्रोमाइज आग्रह गरे । ‘यो हवाई भाडा यात्रुका लागि महँगो हो, तर असामान्य परिस्थितिका कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘अहिले सबैले केही न केही कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ ।’
आजदेखि एसइई सुरू, जापानसहित देशभर ५ लाख १२ हजार विद्यार्थी परीक्षा दिँदै
काठमाडौं । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ । चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ । परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगि सक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ । परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ । परीक्षा भएकै दिन परीक्षक र संपरीक्षकलाई बुझाइने, परीक्षणमा लापरबाही गरेको पाइएमा लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउने, अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सामूहिक अनुगमन निषेध यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि सामूहिक अनुगमनमा रोक लगाइएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
एसइई परीक्षा बिहीबारदेखि: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै, एक महिनामै नतिजा प्रकाशन गरिने
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । उनले भने, ‘परीक्षाको सबै तयारी पूरा गरेका छौं, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग जुम बैठक सम्पन्न गर्यौँ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रूपमा परीक्षा हुनेमा ढुक्क छौँ, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आह्वान गर्दर्छौँ ।’ चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उनले जानकारी दिए । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन् । उनका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोलि परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् । बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाइ गरी प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी दिँदै उनले परीक्षामा सोधिने प्रश्न छ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको बताए । प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ । परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउँदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उनले जानकारी दिए । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिए । यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा तथ्याङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ ।