उच्च शिक्षा सुधारका लागि आज प्रधानमन्त्री र उपकुलपति छलफल हुँदै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा आमन्त्रित गरिएको छ । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, तिनका समाधानका उपाय तथा तत्काल समाधान गर्न सकिने विषयहरूबारे विस्तृत छलफल हुने जनाइएको छ । छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन् । साथै पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित रहनेछन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि बैठकमा सहभागी हुनेछन् । त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि छलफल हुने कार्यक्रम छ । साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन् । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनेछन् । सरकारले उच्च शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान र सुधारका उपाय खोज्न यो छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
काठमाडौं-ढाका नियमित उडान गर्दै निगम, दिल्ली रुटमा सातामा १० उडान
काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए । बङ्गलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ । त्यसैगरी निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप ३ दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाडौं-दिल्ली-काठमाडौं साताको १० उडान भइरहेको छ । कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धि मूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ ।
गरिबका छोरीबुहारी व्यथाले छट्पटाउँदा अनमीको भर, २४ घण्टा नै सेवामा खटिन्छिन् टीकादेवी
काठमाडौं । सिरहाको नरहा गाउँपालिका-४ वर्छवामा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् । सामान्यतया एउटा व्यवस्थित प्रसूति गृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ । भौतिक पूर्वाधारमा कमी नभए पनि पर्याप्त दक्ष जनशक्ति नहुँदा प्रसूति गृहमा सेवाग्राहीको सङ्ख्या निकै न्यून छ । चालु आर्थिक वर्षको ९ महिनामा यहाँ केवल १९ जनाले मात्र सुत्केरी सेवा लिएका छन् । तीमध्ये ११ जना स्थानीय ‘सदाय’ समुदायका विपन्न महिला हुन्, जो अन्यत्र जान आर्थिक वा भौगोलिक रूपमा असमर्थ थिए । वर्छवा स्वास्थ्य चौकीका प्रमुख महेश कुमार रजक स्वास्थ्यकर्मी अभावले रातको समयमा निकै चुनौती हुने बताउँछन् । उनले भने, ‘दिउँसो कार्यालय समयमा त हामी अन्य कर्मचारी पनि हुन्छौं, केही सहज हुन्छ । तर सुत्केरी गराउन प्रायः राति आउँछन्, जुन बेला एक जनाको भरमा सम्भव नै हुँदैन । कहिलेकाहीँ उहाँ (अनमी) पनि बिदामा बसेको बेला त संस्था नै खाली हुने अवस्था छ ।’ वर्षौदेखि सेवा दिइरहेकी अनमी टीकादेवी ढुङ्गेलले पनि एक्लै काम गर्दाको सकस सुनाउँदै भनिन्, ‘दिउँसो त्यति समस्या हुँदैन, तर रातको समयमा एक्लै सुत्केरी गराउनुपर्दा डर र जोखिम दुवै हुन्छ । कोही नभएपछि बिरामीको सेवाका लागि जे-जति सकिन्छ, गरिरहेकै छु ।’ प्रसूति गृहमा कर्मचारी अभाव देखाइरहँदा नरहा गाउँपालिकाले भने स्वास्थ्यका प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा खटाएको छ । स्वास्थ्यतर्फका सिनियर अहेव अरुण कुमार सिंहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने अर्का कर्मचारी बैजनाथ साहलाई ५ नम्बर वडाको सचिव बनाइएको छ । यतिमात्र होइन, अन्य तीन जना स्वास्थ्यकर्मीलाई कुनै ठोस जिम्मेवारी नदिई स्वास्थ्य शाखामा ‘काज’मा राखिएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत आदित्य कुमार कर्ण भने जनशक्ति अभावलाई नै मुख्य कारण भएको बताए । उनले भने, ‘हामीसँग स्वास्थ्यतर्फका कर्मचारी कम भएकैले त्यहाँ थप जनशक्ति पठाउन नसकिएको हो । हामी व्यवस्था मिलाउँदैछौँ, चाँडै थप जनशक्ति पठाउने प्रयास गर्नेछौँ ।’ प्रशासनिक पहुँच र राजनीतिक खिचातानीका कारण दक्ष स्वास्थ्यकर्मीलाई उनीहरूको कार्यक्षेत्रभन्दा बाहिर राख्दा दुर्गमका महिलाहरू सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित भइरहेको स्थानीयको गुनासो छ । स्थानीय सकलदेव यादवले भने, ‘पालिकाले पहुँचवाला स्वास्थ्यकर्मीलाई वडा र जिन्सी शाखामा आराम गराएर राखेको छ, तर हामीजस्ता गरिबका छोरीबुहारी सुत्केरी व्यथाले छट्पटाउँदा एउटा अनमीको भर पर्नुपर्छ । यो त सिधा सिधा हाम्रो स्वास्थ्यमाथि खेलबाड हो ।’ एक्लो अनमीको भरमा चल्ने यस्तो सेवाले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने जोखिम देखिएको स्थानीय बताउँछन् । उनीहरूले तत्काल स्वास्थ्यकर्मीको व्यवस्थापन गरी प्रसूति गृहलाई पूर्ण क्षमतामा चलाउन माग गरेका छन् ।