होटल संघ नेपाल र भारतीय पर्यटन व्यवसायीबीच २५ भन्दा बढी सेवा सम्झौता

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भारत गएको होटल संघ नेपाल (हान) को प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी सेवा सम्झौता गरेको संघले जनाएको छ ।   संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा भारत गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा यही वैशाख १५ र १६ गते भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष आकर्षक योजनाहरू प्रस्तुत गर्न नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमसहित ‘बी टु बी’ बैठकहरूको आयोजना गरिएको थियो ।  कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको संघले जनाएको छ । नेपाल पर्यटन बोर्डको सह-आयोजनामा नेपाली दूतावास नयाँ दिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीहरूले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूसँग व्यवसायिक भेटघाट गरेका थिए ।  गर्मीको छुट्टीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालीको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधा प्रति भारतीय पर्यटकहरुको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इण्डिया, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इण्डिया, टूर्स एण्ड ट्राभल एसोसिएसन अफ इण्डिया, इण्डियन वेडिङ इण्डष्ट्री एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।

विद्यार्थी भर्ना र शुल्क विवाद टुंग्याउन स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको छ । विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छलफल हुन लागेको हो । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार (भोलि) काठमाडौं उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ । शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्कबारे देखिएको अन्यौलता, वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गर्न लागिएको हो ।  विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधिलगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिधिलाई एकै ठाउँमा बोलाएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौं महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष सहभागी हुनेछन् भने गृहमन्त्राल र शिक्षा मन्त्रालयका उच्चअधिकारीको पनि उपस्थिति रहनेछ ।  केही संस्थागत विद्यालयहरुले कानुन विपरित शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि गैरकानुनी रूपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयले हालै निर्देशन दिएको थियो । संघीय सरकारले विद्यालयहरुलाई वैशाख १५ बाट विद्यालय भर्ना थाल्न र वैशाख २१ गतेबाट पठनपाठन सुरु गराउन निर्देशन दिएको थियो । तर काठमाडौं उपत्यकाका स्थानीय तहहरूले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान सुरु गर्न र वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए ।

प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार (आज) शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताएका हुन् । सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर बहन गर्नुपर्ने उनले औंल्याएका छन् । सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेस बिना सुशासन र पारदर्शिता मजबुत हुन नसक्ने धारणा राखेका छन् । साथै उनले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता, व्यावसायिक मर्यादा तथा सार्वजनिक हितप्रतिको उत्तरदायित्व उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे । ‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् । डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग तथा प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए । समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैं महत्त्वपूर्ण रहने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मानसमेत व्यक्त गरेका छन् । ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त उनले व्यक्त गरे ।