अमेरिकी प्रतिबन्धबाट जोगिन टिकटकले गर्यो सम्झौता, ५० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्तासँग
काठमाडौं । टिकटकले आफ्नो अमेरिकी सम्पत्ति अलग (स्पिन अफ) गरी नयाँ इकाई स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको हो । टिकटकका सीईओ शो च्यूले बिहीबार कर्मचारीहरूलाई पठाएको (मेमो)मा यसबारे जानकारी दिएका हुन् । यद्यपि लेनदेन अझै पूरा भइसकेको छैन । यस कदमले टिकटक संयुक्त राज्य अमेरिकामा आफ्नो दीर्घकालीन भविष्य सुरक्षित गर्ने दिशामा एक कदम अगाडि रहेको विश्लेषकहरू बताउँछन् । गत वर्ष पारित भएको एक कानुनअनुसार टिकटकको अमेरिकी संस्करणलाई यसको मातृकम्पनी बाइटडान्सबाट अलग गर्नुपर्ने वा अमेरिकामा प्रतिबन्ध लगाइनुपर्ने व्यवस्था थियो । लोकप्रिय एपको नियन्त्रण अमेरिकी स्वामित्वमा सार्ने सम्झौता खोज्ने क्रममा ट्रम्पले पटक–पटक उक्त कानुनको कार्यान्वयन ढिलाइ गरेका थिए । सीएनएनले प्राप्त गरेको मेमोमा च्यूले भनेका छन्, ‘हामीले नयाँ ‘टिकटक युएस’ संयुक्त उद्यमका लागि लगानीकर्तासँग सम्झौता गरेका छौं, जसले १७ करोडभन्दा बढी अमेरिकीहरूलाई विश्वव्यापी समुदायको हिस्साका रूपमा अनन्त सम्भावनाहरू खोजिरहन सक्षम बनाउनेछ ।’ कम्पनीसँग परिचित एक व्यक्तिले मेमोको प्रामाणिकता पुष्टि गरेका छन् । सम्झौताअनुसार अमेरिकी टिकटक एप नयाँ संयुक्त उद्यमको नियन्त्रणमा रहनेछ, जसको ५० प्रतिशत स्वामित्व टेक कम्पनी ओराकल, निजी इक्विटी फर्म सिल्भर लेक र एमिराती समर्थित लगानी फर्म एमजिक्स (एमजीएक्स) सम्मिलित लगानीकर्ता समूहसँग हुनेछ । च्यूको मेमोअनुसार संयुक्त उद्यमको ३० प्रतिशतभन्दा अलि बढी हिस्सा ‘बाइटडान्सका केही विद्यमान लगानीकर्तासँग सम्बन्धित निकायहरू’ सँग रहनेछ भने १९.९ प्रतिशत हिस्सा बाइटडान्सले नै राख्नेछ । च्यूले सम्झौता अन्तिम रूप दिनुअघि अझै केही काम बाँकी रहेको बताए पनि सबै पक्षहरू सन् २०२६ जनवरी २२ भित्र सम्झौता टुंग्याउने दिशामा अघि बढिरहेको जानकारी दिए । उनका अनुसार बाइटडान्स र टिकटक दुवैले सम्झौताका सर्तहरूमा सहमति जनाएका छन् । ट्रम्प प्रशासनले सेप्टेम्बरमा चीनसँग टिकटकको अमेरिकी सञ्चालन नियन्त्रण प्रायः अमेरिकी लगानीकर्ताको समूहलाई हस्तान्तरण गर्ने सम्झौतामा पुगेको जनाएको थियो । राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस सम्झौतालाई योग्य सम्पत्तिको रूपमा परिभाषित गरेका थिए र लेनदेन पूरा गर्न समय दिन प्रतिबन्ध वा बिक्रीसम्बन्धी कानुनको कार्यान्वयन १२० दिनका लागि स्थगित गरेका थिए । प्राविधिक रूपमा जनवरीदेखि लागू भएको अमेरिकी कानुनअनुसार बाइटडान्सले आफ्नो अमेरिकी सम्पत्तिको करिब ८० प्रतिशत गैर–चिनियाँ लगानीकर्तालाई हस्तान्तरण नगरेसम्म टिकटकलाई प्रतिबन्ध लगाइने व्यवस्था छ। नयाँ इकाईले अमेरिकी प्रयोगकर्ताको डाटाका आधारमा टिकटकको एल्गोरिदम रिट्रेन गर्नेछ र अमेरिकनहरूको डाटा भण्डारणको जिम्मेवारी ओराकलले सम्हाल्नेछ। अमेरिकी संयुक्त उद्यमले अमेरिकी प्रयोगकर्ताका लागि सामग्री नियमनको जिम्मेवारी पनि लिनेछ । तर च्यूको मेमोले संकेत गरेअनुसार, बाइटडान्सको नियन्त्रणमा रहेको विश्वव्यापी टिकटक इकाईले नयाँ अमेरिकी प्लेटफर्ममा ई–कमर्स, विज्ञापन र मार्केटिङ व्यवस्थापन भने निरन्तर गर्नेछ। यो सम्झौता अन्तिम रूप लिनुअघि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्ने अपेक्षा गरिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्झौतामा सहमत रहेको बताएका भए पनि बेइजिङले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन । साथै यो सम्झौताले दुवै देशका नियामक निकायबाट अनुमोदन पनि लिनुपर्नेछ ।
भारत र नेपाल पर्यटन सहकार्य विस्तारका लागि पोखरामा टुरिजम मिट सम्पन्न
काठमाडौं । नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा पुस ३ गते आयोजित उक्त कार्यक्रम भारत र नेपालबीच विशेषतः उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । गण्डकी प्रदेशको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत मनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदमका रूपमा उल्लेख गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको समग्र पर्यटनको अवस्था, प्राथमिक बजार तथा भावी रणनीतिबारे विस्तृत प्रस्तुति दिए । प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक रहेको उल्लेख गर्दै भारत–नेपाल पर्यटन सहकार्यलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले बोर्डले अघि सारेका पहलहरूको चर्चा गरे । धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत दुवै देश लाभान्वित हुन सक्ने उनको भनाइ थियो । भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई नयाँ गति दिएको उल्लेख गर्दै नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट) हरूको संयुक्त प्रवर्द्धनमा दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले सीमा क्षेत्र केन्द्रित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन समन्वय आवश्यक रहेको धारणा समेत व्यक्त गरे । यस अवसरमा उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिपथहरूबारे प्रस्तुति दिए । आगामी माघ मेलालाई विशेष आकर्षणका रूपमा प्रस्तुत गर्नुका साथै उनले उत्तर प्रदेशमा पर्यटन नीतिको कार्यान्वयनमा अपनाइएका उत्कृष्ट अभ्यासहरूबारे जानकारी गराए । कार्यक्रम अन्तर्गत आयोजित बी–टु–बी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता रहेको थियो । छलफलमा स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धन, बौद्ध परिपथ, वन्यजन्तु पर्यटन, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यका विषयमा केन्द्रित संवाद भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसै कार्यक्रमको निरन्तरताका रूपमा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेश राज्यका प्रतिनिधिमण्डलका लागि मंसिर २९ देखि पुस २ गतेसम्म परिचयात्मक भ्रमण (फ्याम ट्रिप) को आयोजना गरिएको थियो । उक्त भ्रमणले पोखरा र आसपासका गन्तव्यहरूको प्रत्यक्ष अनुभवमार्फत पर्यटन सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय तथा अन्तरदेशीय कार्यक्रमहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क हुने
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने भएको छ । यसअघि एक वर्षको बच्चाको परीक्षण गरेर सिकलसेल थाहा पाउने उपकरण अस्पतालमा थियो । अहिले नयाँ र अत्याधुनिक उपकरण ल्याइएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले योसँगै बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरी रिर्पोट लिन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले विसं २०७९ मा खरिद गरेको उक्त उपकरण बुटवलबाट ल्याएर सञ्चालन गरिएको उल्लेख गर्दै पछिल्लो दुई दिनमा चार जना नवजात शिशुको परीक्षण भएको जानकारी दिए । ‘यो उपकरण पहिलोपटक भेरी अस्पातलमा सञ्चालनमा ल्याइएको हो । योसँगै भेरी अस्पतालमा पहिलोपटक नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क गर्ने छौं,’ डा. सुवेदीले भने । उनका अनुसार यसबाहेक भेरी अस्पताल नेपालगञ्जमा सिकलसेल एनिमियाका लागि १६ शय्याको सिकलसेल वार्ड सञ्चालनमा ल्याइएको छ । बिरामीको रगत परीक्षणका लागि ‘डेकेयर’ सेन्टर पनि सञ्चालनमा रहेको मेसु सेवेदीले जानकारी दिए । भेरी अस्पतालका सिकलसेलसम्बन्धी जानकार डा. राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिए । डा. पाण्डेले समयमा समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने जानकारी दिँदै भने, ‘बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न/गराउन सकिन्छ ।’ डा. पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने जानकारी दिए बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए/नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ । डा. पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकामा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिए ।