काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीनसमेत रहेका उनले अब मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका विषयमा प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार अग्रवालको नियुक्तिले स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण प्राविधिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । 'स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व प्रा. डा. अग्रवालको नियुक्तिले स्वास्थ्य नीति र सेवा सुधारमा उपयोगी सुझाव मिल्ने विश्वास गरेका छौँ,' उनले भनिन् ।
सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा प्रधानमन्त्री शाहको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अग्रवालले राज्यबाट कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा सेवा दिनेछन् ।