सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन् । त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो । बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ । रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बनेका छन् । हिमाली पदमार्गका उकालीहरु केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक पर्छ । चोपप्रसाद र छिरी शेर्पा यही साहस र आत्मविश्वासको उदाहरण बनेका हुन् । विगत केही वर्षदेखि पर्यटन क्षेत्रमा भरिया र होटल कुकका रूपमा संघर्षरत चोपप्रसादले हालै विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गर्दै नेपालको समावेशी पर्यटन यात्रामा नयाँ आशा देखाएका छन् । ५,१०६ मिटर उचाइसम्म पुग्ने कठिन मनास्लु पदमार्गमा उनले १५ दिने ट्रेक सम्पन्न गरेका हुन् । उनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, फरक क्षमता भएका समुदायका लागि प्रेरणादायी सन्देश पनि बनेको छ । चोपप्रसाद भन्छन्, 'नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रिय संघीय विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाबाट बहिरा युवाका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन हुने खबर पाएपछि म पनि सहभागी भएको थिएँ । तालिमअघि र तालिमपछि ट्रेकिङ अनुभवमा ठूलो फरक महसुस भयो । सिकाइले आत्मविश्वास बढायो, कठिन परिस्थितिमा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान दियो ।' तालिमपछि उनले सामाजिक सञ्जालमार्फत दुई जना फ्रेन्च पर्यटकसँग सम्पर्क गरेका थिए । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई लिएर मनास्लु सर्किट ट्रेकमा निस्किएका चोपप्रसादले यात्रालाई सफलतापूर्वक सम्पन्न गरे । ट्रेकका क्रममा उनलाई एक सहयोगीले साथ दिएका थिए । मनास्लु नेपालकै कठिन ट्रेकिङ रुटमध्ये एक हो । तर तालिमबाट प्राप्त ज्ञान, पर्वतीय सुरक्षा सम्बन्धी सीप र पर्यटकसँगको व्यवहारिक अभ्यासले यात्रा सहज बनाएको चोपप्रसादले बताएका छन् । 'यो ट्रेकपछि मभित्रको आत्मविश्वास अझै उचो भएको छ । अब नेपालको अन्य पदमार्गमा पनि ट्रेकिङ गर्ने इच्छा जागेको छ,' उनले भने । तालिममा पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, संकट व्यवस्थापन तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । चोपप्रसादको यात्राले बहिरा समुदायका लागि पर्यटन क्षेत्रमा सम्भावना विस्तार भइरहेको देखाउँछ । त्यही सम्भावनालाई व्यवहारमा उतारिरहेका अर्को उदाहरण हुन् छेरी शेर्पा । सोलुखुम्बुका छेरी शेर्पा लामो समयदेखि विदेशी पर्यटकलाई हिमाली पदमार्गमा यात्रा गराउँदै आएका छन् । उनी सांकेतिक भाषामार्फत पर्यटकसँग संवाद गर्छन् र भिडियो कलमार्फत ट्रेकिङ योजना बनाउनेदेखि यात्राको तयारीसम्म आफैं नेतृत्व गर्छन् । हालै उनले एक अमेरिकी नागरिक र उनकी बहिरा नेपाली श्रीमतीलाई लिएर गोक्यो, चोला पास (५,३७५ मिटर), एभरेष्ट बेस क्याम्प हुँदै लुक्लासम्मको ट्रेक सफलतापूर्वक सम्पन्न गराएका थिए । छेरी शेर्पाका अनुसार सांकेतिक भाषाले यात्रामा फरक किसिमको विश्वास र आत्मीयता निर्माण गर्छ । 'हामीले यात्राभर संकेतमार्फत संवाद गर्‍यौं । शब्दभन्दा व्यवहार र बुझाइ महत्वपूर्ण भयो,' उनले भने । पर्यटन क्षेत्रका सरोकारवालाले बहिरा युवाका लागि सुरु गरिएको ट्रेकिङ गाइड तालिमलाई नेपालको समावेशी पर्यटन विकासको महत्वपूर्ण पहलका रूपमा लिएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ४३ करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् भने ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन् । यस्तो अवस्थामा नेपालमा सुरु गरिएको यो पहल समावेशी पर्यटनको प्रभावकारी बनेकोमा दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले खुसी व्यक्त गरे । उनले भने, 'नेपालको पर्यटन अब केवल हिमाल र प्राकृतिक सौन्दर्यमा सीमित छैन । समावेशिता र समान अवसरको अभ्यासले पर्यटनलाई अझ मानवीय र व्यापक बनाउने संकेत देखिन थालेको छ ।' चोपप्रसाद र छेरी शेर्पाका अनुभवले पनि अवसर र तालिम पाए बहिरा समुदाय पनि पर्यटन क्षेत्रका सक्षम गाइड र प्रतिनिधि बन्न सक्छन् भन्ने देखाएको छ । उनीहरूले सरकार, पर्यटन व्यवसायी र सरोकारवालासँग बहिरा तथा फरक क्षमता भएका युवाका लागि थप रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।    

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

नवीन पौडेल काठमाडौं । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ ।      सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ ।      कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् ।      क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । 'भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ', उनले भनिन्, 'विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।' गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।      गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताइन् । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उनको भनाइ छ ।      अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ ।      अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । 'पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ', उनले भने । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । 'गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ', रेग्मीले भने । स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताए । 'ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ', उनी थप्छन्, 'स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।'      भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर  सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । 'सिजनमा घरबास भरिभराउ हुन्छ', गुरुङ भन्छन्, 'विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन् ।'      भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौंबाट घुम्न आउनुभएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाए ।      'यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ', उनले थपे । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उनको धारणा छ ।      गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवद्र्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।      प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ । रासस  

आहा ! युनिग्लोब {भिडियो स्टोरी}

काठमाडौं । काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिर नजिकै छ युनिग्लोब सेकेन्डरी स्कुल एण्ड कलेज । विद्यालय प्राङ्गणमा छन् कक्षा १२ मा पढ्दै गरेका वा पढिसकेका विद्यार्थी । कोही अभिभावकसँग कुरा गर्दैछन् भने कोही अभिभावक र विद्यार्थीलाई विद्यालयका प्रत्येक कक्षाकोठा भ्रमण गराउँदै छन् ।  सँगै विद्यालयका शिक्षक कर्मचारी पनि छन् । तर, शिक्षक कर्मचारीको भन्दा बढी भूमिकामा विद्यार्थी सक्रिय छन् ।  गेटबाट कोही मान्छे प्रवेश गर्नेबित्तिकै विद्यार्थी मुसुक्क हाँस्दै दुई हात जोडेर स्वागत गरिहाल्छन् अनि भन्छन्, ‘हामी तपाईंलाई के सहयोग गर्न सक्छौं ?’ विद्यार्थीको यस्तो स्वागत र त्यहाँका विद्यार्थीले देखाउने संस्कारले अभिभावकलाई झनै लोभ्याउँछ । सोमबार साँझ एसईईको नतिजा आउने दिन थियो । छोराछोरी पास हुने ढुक्कमा रहेका अभिभावक कोही एक्लै, कोही छोराछोरीलाई लिएर युनिग्लोबमा आइरहेका थिए । विद्यार्थीले नम्र रूपमा बोलेको, अभिभावकलाई काउन्सिलिङ गरेको देख्दा यहाँका विद्यार्थी पनि स्मार्ट रहेछन् भन्ने लाग्थ्यो ।  विद्यालयबारे बुझ्न आएका अभिभावक । काठमाडौंको चौमतीकी शर्मिला श्रेष्ठ युनिग्लोब स्कुल आइन् । छोराले एसईई परीक्षा दिएसँगै उनलाई कुन विद्यालय पढाउने भन्ने दोधार थियो । उपत्यकाका विभिन्न स्कुल/कलेजमा उनी बुझ्न गइन् । शर्मिला कमलादीमै रहेको नेपाल लाइफ इन्स्योरेन्समा काम गर्छिन् । उनी कार्यालय आऊजाऊ गर्दा युनिग्लोबका विद्यार्थीलाई देखिरहन्थिन् । उनका एकजना छिमेकीका छोरा पनि यही विद्यालय पढ्थे । शर्मिलाले छोराका लागि विद्यालय छनोट गर्दा छिमेकीका छोराले यो विद्यालयको नाम सिफारिस गरे । त्यसपछि शर्मिला श्रीमानसँगै युनिग्लोब विद्यालयबारे बुझ्न पुगेकी थिइन् । विद्यालय भ्रमण गरेपश्चात विद्यालयले दिने सेवा सुविधा, विद्यार्थीलाई गर्ने हेरचाहबारे निकै राम्रो अनुभव पाएको उनी बताउँछिन् । ‘यहाँ पढेका विद्यार्थीहरू निकै सक्रिय रहेछन्, मलाई विद्यालयमा पढाइ मात्र हुन्छ भन्ने लाग्थ्यो तर यो स्कुल र यहाँका भाइबहिनीले गरेको व्यवहारले विद्यालय शिक्षा दिने ठाउँमात्र होइन, संस्कार दिने ठाउँ पनि रहेछ भन्ने थाहा पाएँ,’ विकासन्युजसँग कुरा गर्दै उनले भनिन् ।  एसईई पास भएर छोराछोरीका लागि राम्रो विद्यालयको खोजीमा रहेका अभिभावक काठमाडौंका विभिन्न विद्यालय कलेजको भ्रमण गरिरहेका छन् । कुनै विद्यालयमा कस्ता विषयहरू पढाइ हुन्छ, त्यहाँको अवस्था कस्तो छ, शिक्षक कर्मचारीको व्यवहार कस्तो छ भन्ने विषयमा जानकारी लिइरहेका छन् । यस्तै, जानकारी लिन युनिग्लोब विद्यालय/कलेजमा पनि विद्यार्थी र अभिभावकको भीड लागिरहेको छ । काठमाडौंको भ्याली पब्लिक हाइस्कुलबाट एसईई दिएकी टेनिसा अधिकारी र आयुशा पन्त पनि सोमबार युनिग्लोब पुगेका थिए । आफूभन्दा अगाडिका दाइ/दिदीहरूबाट यो विद्यालयका बारेमा थाहा पाएका उनीहरू विद्यालयबारे बुझ्न आएका हुन् । विज्ञान विषय लिएर पढ्ने योजना बनाएका उनीहरू यो विषय पढ्दा आवश्यक ल्याब छ/छैन, पढ्ने वातावरण कस्तो, यसका लागि शुल्क कति लाग्छ भन्ने यावत विषयमा बुझ्न आएका थिए । कलेजको भ्रमणपश्चात उनीहरू सन्तुष्ट थिए । विद्यालयमा पुगेका विद्यार्थी र अभिभावकलाई परामर्श गर्न बसिरहेकी रोजी विद्यालय भ्रमण गर्न बुझ्न आउनेहरूको बाक्लो भीड रहेको बताउँछिन् । अभिभावक विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराउन पाउँदा, आफूले पढेका विषयबारे जानकारी गराउनुपर्दा खुसी लागेको उनी बताउँछिन् । रोजी यही विद्यालयमा अध्ययन गरेकी हुन् र विगत तीन वर्षदेखि विद्यार्थी अभिभावकलाई परामर्श दिँदै आएकी छिन् । के छ युनिग्लोबमा ? युनिग्लोब कक्षा ११ र १२ को शिक्षाका लागि उत्कृष्ट विद्यालयभित्र पर्छ । यो विद्यालयले कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा विद्यार्थीलाई अध्ययन/अध्यापन गराउँदै आएको छ । छोटो समयमै उत्कृष्ट नतिजा दिन सफल युनिग्लोब स्कुल/कलेजमा विद्यार्थीको आकर्षण पनि बढ्दै गइरहेको छ । २०७१ सालमा स्थापना भई सञ्चालनमा आएको विद्यालयले अभिभावक/विद्यार्थीको चाहना अनुसार पठनपाठन गराउँदै आएको छ । विद्यार्थीको रुचि विज्ञान र व्यवस्थापनमा बढिरहेको बेला यो विद्यालयले विद्यार्थीको रुचिलाई आत्मसात गर्दै  विज्ञान, व्यवस्थापन र कानुनका विषयहरू पढाइ भइरहेको विद्यालयले जनाएको छ ।  यो विद्यालयले पनि अन्य विद्यालयजस्तै पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पाठ्यक्रम पढाउँछ । तर त्यो ज्ञान विद्यार्थीमाझ कसरी पस्किन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने विद्यालयका प्रिन्सिपल डा. गणेश रेग्मी बताउँछन् ।  उनी यो विद्यालयमा सिकाइ हुने शिक्षणविधि अन्य विद्यालयभन्दा फरक भएकाले युनिग्लोब अन्य विद्यालयभन्दा फरक रहेको र विद्यार्थीको रोजाइमा परेको दावी गर्छन् । डा. गणेश रेग्मी उनी भन्छन्, ‘हामी पाठ्यक्रममा भएको कुरालाई अभ्यासमा आधारित शिक्षणविधि अवलम्बन गर्छौं जसले विद्यार्थीले पाउनुपर्ने, पाठ्यक्रमले र्निदिष्ट गरेको कुरालाई विद्यार्थीसम्म पुर्‍याउन मद्दत गर्छ । यसका लागि अनुभवी र दक्ष शिक्षकहरू हुनुहुन्छ, उहाँहरूले विद्यार्थीको व्यक्तिगत विशेषता, रुचि, क्षमता  र सिक्ने शैली पहिचान गरेर पढाउनुहुन्छ ।’ कुन विषयमा कति सिट ? युनिग्लोबले विज्ञान र व्यवस्थापनमा ६/६ सय जना विद्यार्थी कक्षा ११ मा भर्ना गर्छ भने कानुनमा ४० जना विद्यार्थी भर्ना गर्छ । अहिले नेपाली विद्यार्थीको रोजाइमा विज्ञान र व्यवस्थापन बढी पर्छ । त्यसैले यी सिटमा आवश्यक मात्रामा विद्यार्थी भर्ना गरिरहेको रेग्मी बताउँछन् ।  ‘कानुन पढ्ने विद्यार्थी भनेको भविष्यमा उसले कानुनलाई नै आफ्नो पेशागत उन्नतिका लागि छान्ने विषय भएकाले विद्यार्थीको तुलनात्मक रूपमा यसमा कमी देखिएको हो, त्यसैले पनि हामीले यसमा विद्यार्थी कम लिएका हौं,’ रेग्मीले भने । यस अगाडिका वर्षहरूमा सबै सिट पुरा भई धेरै विद्यार्थीलाई भर्ना गर्न नसकेको उनी बताउँछन् । विज्ञान तर्फका कक्षामा अनिवार्य अंग्रेजी र नेपाली विषय रहेको छ भने फिजिक्स, म्याथम्याटिक्स, केमेस्ट्री, सोसल स्टडिज एण्ड लाइफ स्किल्स शिक्षाका विषय पनि रहेका छन् । यीबाहेक कक्षा १२ मा बायोलोजी र कम्प्युटर साइन्सलाई वैकल्पिक विषयका रुपमा राखिएको छ ।  यस्तै, म्यानेजमेन्ट व्यवस्थापनतर्फ कक्षा ११ मा अनिवार्य विषय अन्तर्गत अंग्रेजी, नेपाली, म्याथम्याटिक्स, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन र एकाउन्ट रहेका छन् । पहिलो ऐच्छिकका रूपमा इकोनोमिक्स, ट्राभल एन्ड माउन्टरिङ स्टडिज तथा दोस्रो ऐच्छिकमा बिजनेस स्टडिज, कम्प्युटर साइन्स, बिजनेस म्याथमेटिक्स र होटल म्यानेजमेन्ट छन् ।  त्यस्तै, कानुन (ल) पढ्ने विद्यार्थीहरूलाई समेत किताबी ज्ञानसँगै व्यावहारिक कुरामा बढी जोड दिइन्छ । फिल्ड भिजिट गराउने, बहस गर्न सिकाउने अभ्यास पनि विद्यालयले गर्दै आएको छ ।  काुनन विषयका लागि कक्षा ११ मा अनिवार्य अंग्रेजी, नेपाली, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन, जुरिस्प्रिडेन्स एन्ड लिगल थ्योरी, प्रोस्युडर ल र कन्स्टिच्युसनल ल रहेका छन् । अत्याधुनिक ल्याबको व्यवस्था विज्ञान विषय पढ्ने विद्यार्थीका लागि सबैभन्दा नभई नहुने ल्याब हो । युनिग्लोबमा अत्याधुनिक ल्याबको व्यवस्था रहेको छ । यही विद्यालयमा कक्षा १२ पढेका विद्यार्थी श्रेयश चन्द विद्यालयमा विद्यार्थीलाई आवश्यक ल्याबको व्यवस्था रहेको बताउँछन् ।  ल्याबमा रहेका उपकरण विद्यार्थी आफैले चलाउन सक्नुपर्छ । वर्षभरि गरिएको अभ्यासलाई नोट गर्नुपर्छ, हरेक विषय सय पूर्णांकको भए पनि ७५ नम्बरको सैद्धान्तिक भए पनि बाँकी व्यहारिक नम्बर हुन्छ । कलेजमा केमेस्ट्री ल्याब, फिजिक्स ल्याब, जिओलोजी र बोटनी ल्याबको सुविधा छ ।  अतिरिक्त क्रियाकलाप युनिग्लोबले विद्यार्थीलाई पढाउने काम मात्र गर्दैन, उसले त्यो बाहेकका अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । जसका लागि विद्यालयको आफ्नै समिनार हल छ भने खेलकुदका लागि पर्याप्त खेल्ने ठाउँ छ । विद्यालयका अनुसार यो विद्यालयले खेलकुद क्षेत्रमा पनि विद्यार्थी उत्तिकै सक्रिय बनाउँदै आएको छ ।  युनिग्लोबकी छात्रा आरोशी पीया विद्यालयले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिने गरेको बताउँछिन् । यसका लागि विद्यालयले वार्षिक तीनवटा बास्केटबल सम्बन्धी प्रतियोगिता आयोजना गर्छ । जहाँ विद्यालयभित्रकै टोलीमा प्रतिस्पर्धा हुन्छ भने एक पटक अन्य विद्यालय निम्तो गरी प्रतिस्पर्धा गराउँछ ।  यस्तै, विद्यालयले भलिबल र किक्रेट प्रतियोगिताको पनि आयोजना गर्छ । जसका लागि विद्यालयले बाहिरका अन्य खेलमैदान प्रयोग गर्ने गर्छ । उनी अहिलेको अवस्थामा आवश्यक ठानिएका खेलहरू विद्यालयले खेलाइरहको बताउँछिन् ।   यस्ताे छ शुल्क यो विद्यालयले काठमाडौं महानगरले निर्धाणगरेको शुल्कअनुसार विद्यार्थीबाट शुल्क लिन्छ । एउटा विद्यार्थीले औषतमा मासिक १० देखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । एक जना विद्यार्थीले विज्ञान विषय लिएर पढ्दा १३ देखि १४ हजार सम्म शुल्क तिर्नुपर्ने हुन्छ भने व्यवस्थापन र कानुन पढ्ने विद्यार्थीले मासिक १० देखि १२ हजार तिर्नुपर्छ ।   योबाहेक विद्यालयले आवश्यकताअनुसार छात्रवृत्तिको व्यवस्था गरेको छ । पाठ्यक्रमसँगै एक्स्ट्रा करिकुलर एक्टिभिटी अर्थात् नियमित पाठ्यक्रमबाहिरको अतिरिक्त क्रियाकलाप पनि सिकाइन्छ भने कोकरिकुलर एक्टिभीटी अर्थात् पाठ्यक्रमसँग सम्बन्धित् सहपाठ्यक्रम गतिविधि पनि विद्यार्थीलाई सिकाइन्छ ।  पढाउनु त प्राथमिकता नै हो तर विद्यार्थीको चौतर्फी विकासका लागि होलिस्टिक एप्रोचमा पढाइ हुन्छ । यो विद्यालयमा उक वर्षमा करिब १ सय ५० भन्दा बढी कार्यक्रम हुन्छन् । जसमा हरेक विद्यार्थीले आफूमा भएको प्रतिभा प्रस्तुत गर्छन् भने यस्ता कार्यक्रमको नेतृत्व पनि विद्यार्थी आफैले गर्छन् । यस्ता कार्यक्रमले विद्यार्थीको पढाइभन्दा बाहिरको ज्ञानहासिल गर्ने अवसर पनि प्रदान गर्छ । कसरी मान्छेसँग कुराकानी गर्ने, बोल्ने, कस्तो व्यवहार गर्ने कसरी नेतृत्व लिन सक्ने भन्ने विषयमा पनि विद्यार्थीलाइ यस्ता कार्यक्रमले सहयोग पुग्छ ।  युनिग्लोबको फिजिक्स विभागका शिक्षक शेषराज भण्डारी जुन विषयमा आफ्नो भविष्य बनाउने लक्ष्य छ विद्यार्थीले त्यही अनुसारको विद्यालय छनोट गर्नसक्नुपर्ने बताउँछन् ।  विद्यार्थीमा शिक्षाभन्दा पहिले असल संस्कारको विकास हुनुपर्ने बताउँदै संस्कारयुक्त शिक्षा आवश्यक रहेको उनको भनाइ छ ।  शेषराज भण्डारी । कुनै पनि विद्यार्थीमा सकारात्मक संस्कारको विकास भइसकेपछि मात्र सिकाइलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै भण्डारी युनिग्लोब विद्यालयले यसको सुरुवात गरेको बताए ।