सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन् । त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो । बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ ।

रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बनेका छन् । हिमाली पदमार्गका उकालीहरु केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक पर्छ । चोपप्रसाद र छिरी शेर्पा यही साहस र आत्मविश्वासको उदाहरण बनेका हुन् । विगत केही वर्षदेखि पर्यटन क्षेत्रमा भरिया र होटल कुकका रूपमा संघर्षरत चोपप्रसादले हालै विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गर्दै नेपालको समावेशी पर्यटन यात्रामा नयाँ आशा देखाएका छन् । ५,१०६ मिटर उचाइसम्म पुग्ने कठिन मनास्लु पदमार्गमा उनले १५ दिने ट्रेक सम्पन्न गरेका हुन् । उनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, फरक क्षमता भएका समुदायका लागि प्रेरणादायी सन्देश पनि बनेको छ ।

चोपप्रसाद भन्छन्, 'नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रिय संघीय विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाबाट बहिरा युवाका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन हुने खबर पाएपछि म पनि सहभागी भएको थिएँ । तालिमअघि र तालिमपछि ट्रेकिङ अनुभवमा ठूलो फरक महसुस भयो । सिकाइले आत्मविश्वास बढायो, कठिन परिस्थितिमा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान दियो ।'

तालिमपछि उनले सामाजिक सञ्जालमार्फत दुई जना फ्रेन्च पर्यटकसँग सम्पर्क गरेका थिए । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई लिएर मनास्लु सर्किट ट्रेकमा निस्किएका चोपप्रसादले यात्रालाई सफलतापूर्वक सम्पन्न गरे । ट्रेकका क्रममा उनलाई एक सहयोगीले साथ दिएका थिए । मनास्लु नेपालकै कठिन ट्रेकिङ रुटमध्ये एक हो । तर तालिमबाट प्राप्त ज्ञान, पर्वतीय सुरक्षा सम्बन्धी सीप र पर्यटकसँगको व्यवहारिक अभ्यासले यात्रा सहज बनाएको चोपप्रसादले बताएका छन् । 'यो ट्रेकपछि मभित्रको आत्मविश्वास अझै उचो भएको छ । अब नेपालको अन्य पदमार्गमा पनि ट्रेकिङ गर्ने इच्छा जागेको छ,' उनले भने ।

तालिममा पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, संकट व्यवस्थापन तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । चोपप्रसादको यात्राले बहिरा समुदायका लागि पर्यटन क्षेत्रमा सम्भावना विस्तार भइरहेको देखाउँछ । त्यही सम्भावनालाई व्यवहारमा उतारिरहेका अर्को उदाहरण हुन् छेरी शेर्पा ।

सोलुखुम्बुका छेरी शेर्पा लामो समयदेखि विदेशी पर्यटकलाई हिमाली पदमार्गमा यात्रा गराउँदै आएका छन् । उनी सांकेतिक भाषामार्फत पर्यटकसँग संवाद गर्छन् र भिडियो कलमार्फत ट्रेकिङ योजना बनाउनेदेखि यात्राको तयारीसम्म आफैं नेतृत्व गर्छन् ।

हालै उनले एक अमेरिकी नागरिक र उनकी बहिरा नेपाली श्रीमतीलाई लिएर गोक्यो, चोला पास (५,३७५ मिटर), एभरेष्ट बेस क्याम्प हुँदै लुक्लासम्मको ट्रेक सफलतापूर्वक सम्पन्न गराएका थिए । छेरी शेर्पाका अनुसार सांकेतिक भाषाले यात्रामा फरक किसिमको विश्वास र आत्मीयता निर्माण गर्छ । 'हामीले यात्राभर संकेतमार्फत संवाद गर्यौं । शब्दभन्दा व्यवहार र बुझाइ महत्वपूर्ण भयो,' उनले भने ।

पर्यटन क्षेत्रका सरोकारवालाले बहिरा युवाका लागि सुरु गरिएको ट्रेकिङ गाइड तालिमलाई नेपालको समावेशी पर्यटन विकासको महत्वपूर्ण पहलका रूपमा लिएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ४३ करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् भने ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन् । यस्तो अवस्थामा नेपालमा सुरु गरिएको यो पहल समावेशी पर्यटनको प्रभावकारी बनेकोमा दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले खुसी व्यक्त गरे । उनले भने, 'नेपालको पर्यटन अब केवल हिमाल र प्राकृतिक सौन्दर्यमा सीमित छैन । समावेशिता र समान अवसरको अभ्यासले पर्यटनलाई अझ मानवीय र व्यापक बनाउने संकेत देखिन थालेको छ ।'

चोपप्रसाद र छेरी शेर्पाका अनुभवले पनि अवसर र तालिम पाए बहिरा समुदाय पनि पर्यटन क्षेत्रका सक्षम गाइड र प्रतिनिधि बन्न सक्छन् भन्ने देखाएको छ । उनीहरूले सरकार, पर्यटन व्यवसायी र सरोकारवालासँग बहिरा तथा फरक क्षमता भएका युवाका लागि थप रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।    

Share News