होटेल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने, २ लाख कित्ता आवेदन दिन सकिने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

लुम्बिनीमा म्यारियट प्रवेश, नेपालको पहिलो पाँचतारे वाटर तथा इको–रिसोर्ट सञ्चालनमा आउने

काठमाडौं । लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलसँग साझेदारी गरी ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डअन्तर्गत रिसोर्ट सञ्चालन हुने भएको छ ।  दुवै पक्षबीच औपचारिक होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) मा हस्ताक्षर भएसँगै रिसोर्टलाई पाँचतारे स्तरमा स्तरोन्नति गरिने भएको हो । रिसोर्ट रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा सन् २०१८ देखि सञ्चालनमा छ। काठमाडौं उपत्यकाबाहिर नेपालमा म्यारियट इन्टरनेशनलको यो पहिलो तथा एकमात्र उपस्थिति हो । सम्झौता दुवै संस्थाका शीर्ष नेतृत्वको उपस्थितिमा सम्पन्न भएको हो । सम्झौतामा लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशनकुमार न्यौपाने सहभागी थिए भने म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्यासिफिक क्षेत्रका चिफ अपरेसन अफिसर नीरज गोविल, दक्षिण एशिया विकास विभागका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट तथा उपाध्यक्ष जुही रोय सहभागी थिए । रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे होटल सञ्चालनको इजाजतपत्र प्राप्त गर्ने लक्ष्य लिएको जनाएको छ । ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ अत्याधुनिक प्रविधि र विश्वस्तरीय सेवासुविधासहित नेपालको पहिलो तथा एकमात्र पाँचतारे वाटर रिसोर्टका रूपमा सञ्चालनमा आउनेछ । रिसोर्टमा म्युजिकल फाउन्टेन, थ्री डी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट तथा वाटर स्पाजस्ता सुविधा समावेश गरिनेछन् । साथै वैश्विक जलवायु चुनौतीलाई ध्यानमा राख्दै परियोजनालाई ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्टका रूपमा विकास गरिएको जनाइएको छ । परियोजनाले नेपालमा खेलिने प्रमुख खेलकुदलाई समर्थन गर्ने विश्वस्तरीय पूर्वाधार निर्माण गर्दै रिसोर्टलाई स्पोर्ट्स टुरिज्मको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ ।  यससँगै रिसोर्टले नेपालको पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्टका रूपमा नेचुरोथेरापी अभ्यास गर्ने पनि जनाइएको छ । रिसोर्ट परिसरमा बुद्ध थिम पार्क निर्माण गरिने बताइएको छ, जसअन्तर्गत मिनी स्तूपा, मिनी बुद्ध संग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक केन्द्र समावेश हुनेछन् । रिसोर्टलाई अन्तर्राष्ट्रिय सम्मेलन, डेस्टिनेसन विवाह तथा वाटर, इको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । परियोजनाले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, लुम्बिनी प्यालेस रिसोर्टले उक्त परियोजनामा सार्वजनिक लगानी आकर्षित गर्न प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको लागि तयारी भइरहेको जानकारी पनि दिएको छ ।  

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालो मोसो प्रहार, कारवाहीको माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै कालो मोसो प्रहार भएको छ ।  बुधबार (आज) दिउँसो कार्यकक्षमै रहेका बेला आएका अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए । नचिनेका केही व्यक्ति कार्यकक्षमा आएर ने.क.पा. बहुमतको सदस्य रहेको बताउँदै उनीमाथि कालो मोसो दलेको बताइएको छ। ओझामाथि कालोमोसो दलिएको फोटो बुधबार सामाजिक सञ्जाल भाइरल भएको छ । जहाँ कालोमोसो दल्नेहरूले नेकपा बहुमत जिन्दावाद, भ्रष्टाचारी होसियार भन्दै कालो मोसो प्रहार गरिएको देखिएको छ ।  कालोमोसो दल्नेहरू हतारहतार जंगलतिर भागेका थिए । कार्यकक्षमा प्रवेश गर्दा सामान्य व्यवहार देखाए पनि एक्कासि मोसो प्रहार गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्षमाथि मोसो प्रहार गरिएकोमा अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।   उनीहरूले दुर्व्यवहार गर्ने माथि कारवाही नहुँदासम्म आकस्मिक बाहेकका सेवा नदिने बताउँदै बिरामीप्रति पर्ने असुविधाप्रति माफी मागेका छन् । ‘यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङ्क्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्धति व्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न कियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशील संस्थाभित्र प्रवेश गरि प्रमाणविहीन र तथ्यहीन आरोपहरू लगाउँदै अस्पताल जस्तो गरिमामय पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ, अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ । कर्मचारीले यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबलमा गिराउने काम भएको बताएका छन् ।  घटनाको दोषीमाथि छानबिन गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै कर्मचारीले भविष्यमा यस्ता अराजक गतिविधिहरू हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन्