काठमाडौं । ग्लोबल स्कुल अफ साइन्स(जीएसएस) ले कक्षा ११ का लागि सञ्चालन गरेको प्रवेश परीक्षामा झण्डै ९ हजार विद्यार्थी सहभागी भएका छन् ।
आइतबार सम्पन्न प्रवेश परीक्षामा देखिएको विद्यार्थीको ठूलो सहभागिताले संस्थाप्रति विद्यार्थी र अभिभावकले राखेको विश्वास झल्काएको जीएसएसका कार्यक्रम निर्देशक गोकुलदेव बडूले बताए ।
उनका अनुसार जीएसएसले निर्माण गरेको शैक्षिक वातावरण, अनुशासन, व्यवस्थापन र समर्पित शिक्षक टोलीप्रतिको भरोसाका कारण विद्यार्थीको आकर्षण बढेको हो ।
प्रवेश परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी पूर्ण छात्रवृत्तिका लागि अन्तर्वार्तामा सहभागी हुन योग्य हुनेछन् । सोमबार हुने अन्तर्वार्ताबाट छनोट भएका उत्कृष्ट २५ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउने जीएसएसले जनाएको छ । अन्तर्वार्ताको नतिजा सोमबार साँझ सार्वजनिक गरिनेछ ।
त्यस्तै, ४० प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थी भने कलेज भर्नाका लागि योग्य हुनेछन् । उनीहरूले सोमबार बिहानदेखि नै भर्ना प्रक्रिया सुरु गर्न सक्ने कार्यक्रम निर्देशक बडूले जानकारी दिए ।
जीएसएसले पढाइसँगै विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित वातावरण तयार गरेको दाबी गरेको छ । कलेजका अनुसार शिक्षकहरूको मेहनत, विद्यार्थीको राम्रो प्लेसमेन्ट तथा निरन्तर उत्कृष्ट नतिजाका कारण अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको हो ।
‘यो भिड प्रचारले नभई विश्वासले आएको हो,’ कार्यक्रम निर्देशक बडूले भने, ‘यसले संस्थालाई अभिभावकप्रति अझ जिम्मेवार बनाएको छ ।’