सार्वजनिक खरिद एेन विपरित हिमालय एयरलाइन्सलाई एयरपोर्टभित्र जग्गा, विमानस्थलभित्रै कार्यालय
काठमाडौं, २२ साउन । नागरिक उड्डयन प्राधिकरणले अवैधानिक रुपमा हिमालय एयरलाइन्सलाई विमानस्थलभित्र कार्यालय खोल्ने सुविधा दिएको खुलेको छ। यो विमानस्थलभित्रको अति संवेदनशिल क्षेत्र हो। हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । पुर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई दिएको हो। हिमालय एयरलाइन्सले कुनै प्रक्रिया पूरा नगरी सो जग्गा पाएको खुलासा भएको हो। एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान प्रयोग नगरेर उडान नै सुरु नगरेको हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए । हिमालयलाई तीन महिना अगाडि नै अनुमति दिइएको पाइएको छ । एयरलाइन्सले अनुमति पाएपछि रातारात भवन बनाएर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
फेसबुकले ल्यायो इन्टरनेट नभएको बेला भिडियो हेर्न मिल्ने सुविधा, एन्ड्रोइड एपमा सुविधा
काठमाडौं २२ साउन। भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ। फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर त्यसका लागि इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ। भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो जति पटक पनि हेर्न सकिन्छ र चाहेमा डिलिट गर्न पनि सकिन्छ। भिडियो तपाईँको मोबाइलमा नै सेभ हुने भए पनि यसलाई फेसबुकबिना यत्तिकै हेर्न भने सकिन्न। फेसबुकले यसअघि जुलाई ११ देखि केही व्यक्तिहरुको समूहमा अफलाइन भिडियोको टेस्ट गर्न लागेको बताएको थियो।
चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द
चीन, २१ साउन । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा