काठमाडौं । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले शैक्षिक उपाधिको समकक्षताका लागि अनलाईन आवेदन माग्न सुरु गरेको छ ।
विदेशी विश्वविद्यालय तथा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता वितरण गर्ने अधिकार पाएको आयोगले अनलाइन आवेदन लिन सुरु गरेको हो ।
यस अगाडि त्रिभुवन विश्वविद्यालयले वितरण गर्दै आएको समकक्षता उपाधि साउन एक गतेदेखि विश्वविद्यालय आयोगलाई दिइएको थियो । आयोगले तत्काल वितरण कार्य सुरु गर्न नसके पनि आवेदन भने लिन सुरु गरेको छ।
आयोगका अनुसार समकक्षताका लागि आवश्यक पूर्वतयारी तथा प्राविधिक कार्य जारी रहेको छ भने समकक्षतासम्बन्धी सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने आयोगले जनाएको छ ।
आवेदकहरूले विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आयोगले आवश्यक कागजात, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी सोही पोर्टलमा उपलब्ध गराइने उल्लेख गरेको छ ।
