कर्णाली लगायतका दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा
काठमाडौं । सरकारले कर्णाली प्रदेशसहित देशका दुर्गम तथा भौगोलिक रूपमा कठिन क्षेत्रमा एयर एम्बुलेन्स सेवा विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आकस्मिक स्वास्थ्य सेवामा पहुँच बढाउन एयर एम्बुलेन्स सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । सरकारका अनुसार दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आपतकालीन अवस्थामा समयमै अस्पताल पुर्याउन एयर एम्बुलेन्स सेवा विस्तारलाई प्राथमिकता दिइएको हो । यस कार्यक्रममार्फत गर्भवती महिला, दुर्घटनाग्रस्त बिरामी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई तत्काल उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइनेछ। सरकारले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने, दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य पूर्वाधार विस्तार गर्ने तथा आपतकालीन उद्धार सेवामा सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।
राति काम गर्ने नर्सको भत्ता दोब्बर, संयमसेविकाको भत्ता ५० प्रतिशत बढ्यो
काठमाडाैं । सरकारले रात्रीकालीन सेवा दिने नर्स तथा स्वास्थ्यकर्मीहरूको भत्ता वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राति काम गर्ने नर्सहरूको भत्ता दोब्बर बनाइएको बताएका छन्। त्यसैगरी, समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका संयमसेविकाहरूको भत्ता ५० प्रतिशतले वृद्धि गरिएको पनि बजेटमा उल्लेख छ। सरकारका अनुसार स्वास्थ्य सेवामा कार्यरत जनशक्तिको मनोबल बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा दुर्गम र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले भत्ता वृद्धि गरिएको हो। अर्थमन्त्री वाग्लेले स्वास्थ्य क्षेत्रलाई सरकारको प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीको प्रोत्साहन बिना गुणस्तरीय सेवा सम्भव नहुने बताए।
सातै प्रदेशका सरकारी अस्पताल शिक्षण अस्पतालमा रूपान्तरण गरिने
काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तर्गत देशभरका सातै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अस्पतालहरूलाई आधुनिक शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको हो । यस योजनाअन्तर्गत कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार विस्तार, मेडिकल शिक्षा तथा चिकित्सा सेवामा परिचालन गरिने सरकारले जनाएको छ। सरकारले यी कोषमा रहेको दीर्घकालीन पुँजीलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने र गुणस्तरीय उपचार सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।