सरकारले ३३ प्रतिशत बढी कर असुलेपछि सिनेमा हलको विरोध, देशभरका हल बन्द गर्ने चेतावनी

काठमाडौं । सरकारले चलचित्र क्षेत्रबाट ३३ प्रतिशत बढी कर लगाउन थालेपछि विरोध हुन थालेको छ । सरकारले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन कर लगायत शिर्षकमा ३३ प्रतिशत बढी कर लगाएपछि चलचित्र संघले विरोध गर्ने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै सो करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गर्ने चेतावनी दिएको हो । संघले अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने चेतावनी दिएको हो । ‘चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

कमेडी च्याम्पियन सिजन ३ को मुख्य प्रायोजक डिशहोम फाइबरनेट

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजनको मुख्य प्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ । आगामी फागुन ३ र ४ गतेबाट निरन्तर प्रसारण हुने शोको पावर्ड बाई स्पन्सरमा डिशहोम रहने भएको हो । कम्पनीका अनुसार होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक सुदिप आचार्य र एडी रिलिजबीच कार्यक्रमको प्रायोजन गर्ने सम्झौता भएको हो । तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही ज्येष्ठ नागरिकसम्म, तराई मूलदेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मको प्रस्तुति हेर्न पाइनेछ । विगतका सिजनको लोकप्रियता र विवादबारे पत्रकारको जिज्ञासामा टेलिभिजनका कार्यक्रम प्रमुख सुरज सिंह ठकुरीले उत्पादन टिमप्रति आफ्नो विश्वास रहेको र समुदाय, परिवार र धर्म, वर्ग, लिङ्गको आधारमा विभेद हुने कन्टेन्टमा आफू सिरियस भएको र सँगै कम्तीमा परिवारसँगै बसेर हेर्न सकिने समाजलाई पाच्य हुने विषयवस्तु कार्यक्रममा आउने विश्वास व्यक्त गरे । चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । यस सिजनका विजेताले पनि नगद २५ लाख तथा सोही बराबरको गाडी जित्नेछन् भने टेलिभिजनको प्रसारण सकिनेबित्तिकै ओएसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ । डिजिटल अडिसनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्रि–जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो  ।

डिशहोमको एक्सन स्पोर्टस च्यानलले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्र्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । ९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उदघाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने सामने हुनेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ । साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङको विशेष सहयोग रहेको छ। प्रतियोगिताको अफिसियल बैंक लुम्बिनी विकास बैंक तथा अफिसियल एयरलाइन्स बुद्ध एयर छन् । प्रतियोगिताका उत्कृष्ट ५ विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा युकेद्वारा सौजन्य हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालन गरेर बचत हुन आउने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने बताइएको छ ।