बलिउड अभिनेता धर्मेन्द्रको निधन, पहिलो फिल्ममा काम गर्दा पारिश्रमिक मात्र ८० रुपैयाँ

काठमाडौं । बलिउडका ‘हीम्यान’ भनेर चिनिने दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनले नोभेम्बर २४ मा अन्तिम श्वास लिए । केही दिनअघि मात्र उनी उपचारपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर फर्किएका थिए । त्यसपछि घरमै उनको उपचार भइरहेको थियो ।  धर्मेन्द्र पछिल्ला दिनदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए । उनी आफ्नो पछाडिबाट करोडौं भारु बराबरको सम्पत्ति छोडेर गएका छन् । लामो करिअरमा उनले धेरै धन कमाए र बलिउडका सबैभन्दा धनी अभिनेतामध्ये एक भए । मिडिया रिपोर्टअनुसार धर्मेन्द्रको नेटवर्थ करिब ४५० करोड भारु रहेको छ । उनले १९६०, ७० र ८० को दशकमा लिड एक्टरका रूपमा फिल्म खेल्दै यो धन कमाएका हुन् ।  रिपोर्टहरूका अनुसार आफ्नो डेब्यू फिल्म ‘दिल भी तेरा हम भी तेरे’ का लागि उनलाई मात्र ५१ रुपैयाँ पारिश्रमिक दिइएको थियो । उनका सम्पत्तिको ठूलो हिस्सा रियल इस्टेटमा रहेको छ । रिपोर्टअनुसार महाराष्ट्रमा धर्मेन्द्रका घरहरूको कूल मूल्य १७ करोड रुपैयाँभन्दा बढी छ । उनले खेतीयोग्य र गैरखेतीयोग्य जमिनसमेत किनेका छन्, जसको कूल मूल्य करिब १.४ करोड भारु पर्दछ । उनी लोनावालास्थित आफ्नो फार्महाउस नजिकै ३० कुटेज भएको एक लक्जरी रिसोर्ट निर्माण गर्ने योजनामा पनि थिए । धर्मेन्द्र महँगा गाडीहरूको निकै शौखिन थिए । उनीसँग १९६० मा किनेको फिएटदेखि लिएर भिन्टेज फिएट र मर्सिडिज–बेन्जसम्मका कार रहेको बताइन्छ । कुनै गाडी लाखौंको छ भने कुनै करोडौँको मूल्यको छ । उनले प्रोडक्सन हाउसमा पनि लगानी गरेका थिए र ‘यमला पगला दीवाना’ जस्ता फिल्महरू निर्माण गरेका थिए ।  सन् २०२२ मा उनले ‘गरम धरम ढाबा’ नामबाट होटल व्यवसायमा हात हालेका थिए । त्यसपछि करनाल हाईवेमा ‘ही–म्यान’ नामको अर्को रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए । हालै धर्मेन्द्र करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । यस फिल्मका लागि उनले ५ करोड रुपैयाँ लिएका थिए । २३ जुलाई २०२३ मा रिलिज भएको उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार समेत गरेको थियो ।

आइवर्ट नेपालको चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

काठमाडौं । आइवर्ट नेपालद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगिता सम्पन्न भएको छ । महिला सशक्तिकरण, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मंसिर १ गते चलचित्र विकास बोर्डमा सम्पन्न गरिएको हो । महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रहरू भारतबाट ‘ब्याक स्टोरी’, बंगलादेशबाट ‘एक्स्ट्रा गर्ल फ्र्रम द सिल्भर स्क्रिन’ र ‘द लाइफ अफ अक्टोपस फिसरम्यान’, तथा केन्याबाट एक चलचित्र प्रदर्शन गरिएको थियो । त्यसैगरी, आइवर्ट नेपालको छैटौँ लघुचलचित्र प्रतियोगितामा अन्तिम छनोटमा परेका ९ लघुचलचित्रमध्ये पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारि माइलाज गार्डेन’ प्रथम, सरिता साहको ‘पुतला’ दोस्रो र निशा मानन्धरको ‘बडी नट माइन्’ तेस्रो भएका छन् । प्रतियोगितामा आकांक्षा जिसी भुजेलद्वारा खोजमूलक पत्रकारितामा आधारित रूपमा निर्माण गरिएको वृत्तचित्र ‘डस्ट टु डिस्क्लोज’ लाई विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । विजेताहरूलाई पुरस्कार, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा छानिएका सबै चलचित्र १५ मिनेटभित्रका थिए । प्रतियोगिताका निर्णायकहरूमा चलचित्र निर्माता अनुपा श्रेष्ठ, पत्रकार तथा वृत्तचित्र निर्माता देवकी बिष्ट र निर्देशक समुन्द्र भट्ट रहेका थिए । यस वर्षदेखि आइवर्ट नेपालले मोबाइलबाट निर्माण भएका लघुचलचित्रहरूको पनि प्रतियोगिता आरम्भ गरेको छ । नागार्जुन नगरपालिकाको दस वटै वडाहरूमा नागार्जुन नगरपालिका र इमेज एकेडेमीसँग सहकार्यमा गत असारमा आयोजित मोबाइल फिल्म मेकिङ्ग तालिममा सहभागीहरूले बनाएका ६ लघुचलचित्रमध्ये चण्डिका केसीको ‘ओ नेगेटिभ’ प्रथम, अनुशा पौडेलको ‘मेनोपज’ दोस्रो र दिपा बलामीको ‘द मिस्ड कल’ तेस्रो भएका छन् । विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । मोबाइल चलचित्रतर्फका निर्णायकहरू आइवर्ट नेपालका बोर्ड सदस्यहरू रहेका थिए । महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी पहिलो महिला कुलपति माननीय निशा शर्माले गरेकी थिइन् । कार्यक्रममा रास्वपाका पूर्व सांसद तथा चलचित्र निर्माता अशिम शाह, निफका अध्यक्ष केपी पाठक, निफका कार्यक्रम संयोजक शिव पुरी, प्रेस काउन्सिलका मदनकृष्ण सिलवाल, आइवर्ट इन्टरनेशनलकी सचिव मन्दिरा राउत, आइयुसिएन क्षेत्रीय परिषद् सदस्य रोशनी अधिकारी पाठक, फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, रेडियो सगरमाथा स्टेशन म्यानेजर उर्वशी बस्न्यात, अन्नपूर्ण नेटवर्ककी रिता अधिकारी, अर्थर अवार्डकी अध्यक्ष शिला खड्का, वरिष्ठ सर्जन डा. उत्सवमान श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमा बोल्दै कुलपति निशा शर्माले नेपाली कला क्षेत्रमा अनेकौं चुनौती भए पनि महिलाहरूको सहभागिता दिनानुदिन बढिरहेको जनाउँदै महिलाहरू कुनै पनि क्षेत्रमा पछि हट्न नहुने धारणा व्यक्त गरिन् । महोत्सवकी निर्देशक संगीता श्रेष्ठका अनुसार नेपाली चलचित्र उद्योगमा महिला निर्देशकहरू निकै कम रहेका अवस्थामा यस्ता महोत्सव र प्रतियोगिताले महिला निर्देशक तथा फिल्ममेकरहरूलाई उत्साह र अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । समारोहमा श्रेष्ठद्वारा निर्देशित तथा नेपाल आदिवासी चलचित्र महोत्सव बेलायतमा ‘बेस्ट डकुमेन्ट्री फिल्म’ बनेको ‘द एभरेस्ट मम’ को नेपाल प्रिमियर पनि गरिएको थियो।  आइवर्ट नेपालकी अध्यक्ष इच्छा गुरुङका अनुसार महिला पत्रकारहरू, चलचित्र निर्माणमा रुचि राख्ने महिलाहरुको क्षमता अभिवृद्धि, उनीहरूको सिर्जनाको सम्मान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । चलचित्रमार्फत महिला सशक्तिकरण, भाषा, संस्कृति र पर्यटनको आदानप्रदान हुने पनि उनले बताइन् ।  

एनपीएल दोस्रो संस्करणका सबै खेल अब डिशहोम गोमा मात्र हेर्न सकिने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट प्राप्त अनलाइन प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम गो एपमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कीर्तिपुरस्थित ट्यु क्रिकेट मैदानमा मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । डिश मिडियाका अनुसार एनपीएल–२ का सबै खेल केवल डिशहोम गो एप र वेबसाइटमार्फत हेर्न सकिनेछन् । युट्युबमार्फत प्रसारण नहुने जनाउँदै कम्पनीले सम्पूर्ण खेल ‘स्वच्छ प्रसारण’ (क्लिन फिड – विज्ञापनरहित) हुने बताएको छ, जसले दर्शकलाई उच्च गुणस्तरको अनुभव प्रदान गर्नेछ । दर्शकले इसेवा, खल्ती, भिसा तथा मास्टरकार्डमार्फत सजिलै भुक्तानी गरी ‘सिजन पास’ खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । मोबाइल, ल्यापटप वा टेलिभिजनमार्फत सुरक्षित रूपमा भुक्तानी गरी, विश्वका जुनसुकै स्थानबाट खेल हेर्न सकिने सुविधा उपलब्ध छ । सदस्यता शुल्क नेपालभित्रका दर्शकका लागि ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकका लागि ५०० रुपैयाँ तथा अन्य मुलुकका लागि १० अमेरिकी डलर निर्धारण गरिएको छ । एकपटक सदस्यता लिएपछि सम्पूर्ण प्रतियोगिताका प्रत्यक्ष प्रसारण, पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिनेछ । डिशहोम गो सेवा मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ। एप गुगल प्ले स्टोर तथा एप स्टोरमा उपलब्ध छ । कम्पनीका अनुसार एपमा सजिलो दर्ता प्रक्रिया, विज्ञापनरहित प्रसारण तथा खेल सामग्रीमा २४ घण्टा पहुँच सुनिश्चित गरिएको छ । उच्च गुणस्तरको प्रसारणका लागि डिशहोम गोले अन्तर्राष्ट्रिय अनलाइन समाधान प्रदायक ‘मोबायोटिक्स’ तथा विश्वप्रसिद्ध सामग्री वितरण प्रदायक ‘अकामाई’सँग सहकार्य गरेको छ । यी संस्थाहरूले आईसीसी च्याम्पियन्स ट्रफी र आइपिएल जस्ता ठूलो दर्शकसंख्या भएका प्रतियोगितामा आफ्ना प्राविधिक क्षमता प्रमाणित गरिसकेका छन् । डिश मिडिया नेटवर्कका प्रतिनिधिले एनपीएल दोस्रो संस्करणलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्‍याउने लक्ष्य राखिएको बताउँदै, लोकप्रिय डिजिटल भुक्तानी माध्यम उपलब्ध गराइएकोले दर्शकका लागि पहुँच अझ सहज बनेको बताएका छन् । अघिल्लो संस्करणमा पनि देश–विदेशबाट उल्लेखनीय चासो प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले एनपीएल–२ हेर्नका लागि डिशहोम गो नै एक मात्र आधिकारिक डिजिटल प्रसारण माध्यम भएको उल्लेख गर्दै, अन्य कुनै पनि माध्यममार्फत प्रसारण नहुने स्पष्ट गरेको छ ।