रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा साँझ ६ बजेका लागि बोलाइएको बैठक महाधिवेशनको तयारी, संगठन पुनर्संरचना तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रहने भएको छ । पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको जानकारी दिएका छन् ।  उनका अनुसार बैठकले सबैभन्दा महत्वपूर्ण रूपमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।  केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा अब औपचारिक रूपमा महाधिवेशन केन्द्रित गतिविधिमा प्रवेश गर्न लागेको हो । रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ । २०७९ साल असार ७ गते स्थापना भएको पार्टीले महाधिवेशन गर्ने मिति पटक–पटक तय गरे पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।  पछिल्लो समय पार्टीभित्र संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आन्तरिक संरचना सुदृढीकरणको आवश्यकता बढ्दै गएपछि महाधिवेशनलाई निर्णायक मोडका रूपमा हेरिएको छ । आजको सचिवालय बैठकमा पार्टीका विभिन्न तहगत समितिहरूको भेला, वडा–पालिका–जिल्लादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको विशेष कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ ।  रास्वपाले संगठनलाई थप व्यवस्थित बनाउन नयाँ संरचनात्मक मोडालिटीमा जाने तयारी गरेको नेताहरूले बताएका छन् । त्यस्तै बैठकले पार्टीका आयोग तथा विभागका पदाधिकारी मनोनयनसम्बन्धी निर्णय पनि गर्न सक्ने सम्भावना रहेको छ । संगठनभित्र लामो समयदेखि रिक्त रहेका केही विभाग तथा जिम्मेवारीलाई पूर्णता दिने तयारी गरिएको बुझिएको छ । यसैबीच रास्वपाले केही जिल्ला समिति विघटन गर्ने विषयमा पनि छलफल गर्ने भएको छ । पार्टी नेतृत्वले अपेक्षाअनुसार काम गर्न नसकेका, निष्क्रिय रहेका वा आन्तरिक विवादमा फसेका जिल्लाका संरचनालाई पुनर्गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । बैठकमा अनुशासनसम्बन्धी विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । पछिल्लो समय पार्टीका केही सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिलाई लिएर नेतृत्वभित्र असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने, पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिने तथा आन्तरिक विषय सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै नेतृत्वले त्यसप्रति कडाइ गर्ने संकेत दिएको छ । रास्वपाका नेताहरूका अनुसार बैठकले अनुशासन उल्लंघनका घटनाबारे समीक्षा गर्दै आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने सम्भावनासमेत रहेको छ । पार्टीभित्र आन्तरिक एकता र सन्देश व्यवस्थापनलाई सुदृढ बनाउन नेतृत्व थप सचेत देखिएको छ । यस्तै सचिवालय बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ भने समसामयिक राजनीतिक विषय, संगठन विस्तार र पार्टी रणनीतिसम्बन्धी विविध प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन् ।

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन् । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार (आज) धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उनले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए ।  राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी त्यो पार्टी कहिल्यै नभनेको स्पष्ट पार्दै सभापति थापाले वर्तमान सरकारलाई पनि सोहीअनुसार सहयोग हुने, तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताए ।  उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । ‘हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको थियो । हामीसँग सङ्ख्या र आधार पनि थिए, तर पनि महाअभियोगको विपक्षमा उभियौँ’, सभापति थापाको भनाइ थियो ।  उनले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आ-आफ्नो जिम्मेवारीअनुसार सङ्गठनको काममा लाग्न निर्देशन दिए । सभापति थापाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उल्लेख गरे ।  पार्टीका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताए । उनले भने, ‘अब कांग्रेसले नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको छ । अब पार्टी मात्र होइन, समाजलगायत सबैलाई सम्हालेर साझा सङ्गठन बनाउने जिम्मेवारी आएको छ ।’ महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी सङ्गठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताए । पार्टीमा कुनै अवसर नपाएर किनाराकृत गरिएका क्षमतावान् र निष्ठावन् नेता कार्यकर्ताको उचित मूल्याङ्कन गरिने पनि उनको भनाइ थियो ।  कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एक ढिक्का बनाएर लिनुपर्नेमा जोड दिए । उनले पार्टीमा महत्त्वूर्ण योगदान गरेका पूर्वसभापति शेरबहादुर देउवालगायत नेताको सम्मानजनक अवस्थाका लागि ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरे ।  नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भेलाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पार्टीका  सहमहामन्त्रीद्वय उदयशम्शेर राणा, योगेन्द्र चौधरी, विभिन्न जिल्लाका सभापतिलगायत नेताहरूले सम्बोधन गरेका थिए ।  दुईदिने उक्त कार्यक्रममा पार्टीको तर्फबाट प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग विविध विषयमा छलफल गर्न लागिएको जनाइएको छ ।

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताएका छन् ।  शनिबार (आज) हेटौंडा उपमहानगरपालिका-११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उनले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिए ।  अध्यक्ष राईले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिए।