मुलुकको राष्ट्रिय स्वाधिनता सबैभन्दा अप्ठयारो अवस्थामा पुगेको छ : दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अप्ठयारो अवस्थामा पुगेको बताएका छन् ।

जेनजी आन्दोलनपछिका सबै परिघटनालाई लिएर हेर्दा मुलुकको स्वाधिनता निकै अप्ठयारो अवस्थामा पुगेको देखिएको संयोजक दाहालको जिकिर थियो । 

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सो संकटबाट जोगाउनका लागि सबै देशभक्त कम्युनिष्टहरूबीच एकता आवश्यक रहेको बताए ।

उनले सबै कम्युनिष्ट पार्टीहरूभित्र सिँगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढाउने आवाज उठेकाले नेतृत्वले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बेला आएको पनि बताए । 

त्यस अवसरमा संयोजक दाहालले नेतृत्वको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनका लागि अभिभावकीय भूमिका निर्वाह गरिदिन नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई आग्रह पनि गरे ।

Share News