सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंलाई प्रश्न– झापामा सुरक्षा चुनौती बढेकै हो ?
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल या उम्मेदवारलाई जुलुस र घरदैलो नगर्न निर्देशन दियो । फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका छन् । यही सिलसिलामा झापामा निर्वाचनको माहोल बढिरहँदा जुलुसजस्ता अन्य गतिविधि गर्न नपाउने भएपछि विकासन्युजले झापाका सहायक जिल्ला प्रमुख अधिकारी तेज प्रकाश प्रसाईंसँग गरेको संक्षिप्त संवाद गरेको छ । अहिले पनि झापाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरू बिहानदेखि मतदातासँग भेटघाट गरिरहनु भएको छ ? निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारसँग निर्वाचन आचार संहिताको विषयलाई लिएर पर्याप्त छलफल गरेको थियो । तर राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना नगरेकाले जिल्ला प्रशासन कार्यालयले बाध्य भएर विज्ञप्ति निकाल्नु परेको हो । झापा जिल्लाको चुनावी माहोल हेर्दा सुरक्षाको दृष्टिकोणले अलिक संवेदनशील जस्तो देखिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशीले मतदानस्थलसमेत बढेका छन् । यसरी विज्ञप्ति निकाल्नुमा हामीले कसैलाई अवरोध गर्नु होइन । दलले गरेको वाचाहरू पुरा गर्नलाई स्मरण मात्र गराएका हौं । उम्मेदवारहरूको सुरक्षा र गर्न नसकेकाले नै जुलुस तथा घरदैलो कार्यक्रम रोक्न निर्देशन दिनु भएको हो ? निर्वाचनका लागि दलका उम्मेदवारले प्रारम्भिक घरदैलो सुरु गरिसकेका छन् । धेरै स्थानीयले विभिन्न दलका उम्मेदवारले घरदैलो अभियान चलाइसकेको भनेर खबर गर्ने गरेका छन् । यहाँ त्यस्तो छिटफुट घटना घटेमा हामी जिम्मेवार हुँदैनौं भनेर फोनमार्फत जानकारी गराउने कार्य भइरहेको छ । बाटो छेकेर सभा वा भेला गर्ने गरेको सुरक्षाको संवेदनशीलतालाई ख्याल गरेर हामीले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएका हौं । निर्वाचन आचारसंहितालाई देखाएर उम्मेदवारको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार रोक्न मिल्छ र ? उम्मेदवारलाई हामीले स्वतन्त्र रूपमा हिँडडुल गर्न रोकेका छैनौं । विभिन्न दलका उम्मेदवारलाई निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मात्र काम गर्नलाई निर्देशन दिएका छौं । दलले जारी गरेको घोषणापत्र निर्वाचन आयोगको निर्वाचन अधिकृत कार्यालयमा बुझाएपछि मात्र उम्मेदवारले घरदैलो गर्न पाउँछन् । धेरै उम्मेदवारहरूले अहिले घरदैलो कार्यक्रम गर्न थालिसक्नु भएको छ । हामीले निर्वाचन आचारसंहिता मात्र पालना गर्न भनेका छौं । दलले आफ्नो पार्टीको कमिटी गठन गर्न विभिन्न भेटघाट गर्न पाउने छन् । दलका सामान्य भेटघाटलाई हामीले रोक्न मिल्दैन । झापामा सुरक्षा चुनौती बढेकै हो ? निर्वाचनको सुरक्षालाई लिएरमा झापामा जोखिम बढेकै छ । कता–कता दलको गतिविधिलाई लिएर हामीले अलिक शंकास्पद दृष्टिले हेरिरहेका छौं । सुरक्षालाई हामीले एकदमै ध्यान दिएका छौं । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न र भयरहित वातावरणमा होस भनेर हामीले अगाडिबाट सचेत गराएका छौं । यसपालिको निर्वाचनमा झापामा अति संवेदनशील मतदानस्थलको संख्या वृद्धि भएको छ । सम्भावित दुर्घटना हुन नसकोस भनेर हामीले विभिन्न सुरक्षाका रणनीति अपनाएका छौं । निर्वाचनमा सहभागी दललाई संयमित हुन पनि आग्रह गरिरहेका छौं । झापामा २८५ वटा मतदान स्थल र ८१५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान स्थल ४३, संवेदनशील १४७ र अति संवेदनशील ९५ मतदानस्थल रहेका छन् ।
झापामा फागुन ३ गतेसम्म दल तथा उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न नपाउने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले राजनीतिक दल या उम्मेदवारलाई जुलुस तथा घरदैलो नगर्न निर्देशन दिएको छ । फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका हुन् । निर्वाचन आचार संहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (म) मा भएको व्यवस्था बमोजिम कुनै राजनीतिक दल, उम्मेदवारलाई जुलुस, आमसभा वा कोणसभा गर्न पाउने छैनन् । त्यसैगरी, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् । निर्वाचन प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्नसमेत नपाउने भएका हुन् । राजनीतिक दल र उम्मदेवारलाई आचारसंहिता पालना गर्नका लागि पटकपटक छलफल, अन्तरक्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए । ‘कोणसभा गर्ने, प्रचार प्रसार सामग्री प्रकाशन प्रसारण गर्ने र घर दैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएको हुँदा यस प्रकारका कार्य नगर्नरनगराउन हुन पुनः अनुरोध गरिएको छ,’ उनले भने, यदि कोही कसैबाट आचारसंहिताको उल्लंघन गरी कुनै पनि तरिकाले प्रचार प्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुन बमोजिम तत्काल कारवाही प्रक्रिया अघि बढाइने छ ।’
हरि र नारायणकाजीबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, के नारायणकाजीले खोल्लान् जनमतको ढोका ?
काठमाडौं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय तर प्रत्यक्ष जनमतबाट प्रतिनिधिसभा छिर्न नसकेको एउटा नाम हो–नारायणकाजी श्रेष्ठ । चार दशकभन्दा लामो राजनीतिक यात्रामा भूमिगत राजनीति, पार्टी नेतृत्व, मन्त्री पद र राष्ट्रियसभा सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको उचाइ चुमेका श्रेष्ठको एउटा चाहना छ–प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभा पुग्ने । यही अधुरो चाहनालाई पूरा गर्ने प्रयासका रूपमा उनले रोजेका छन् सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ । पार्टीभित्र सुरक्षित मानिएको क्षेत्र र मधेसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रभाव भएका कारणले श्रेष्ठको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको छ । तर, यो यात्रा सहज भने छैन । यसको एउटै कारण हुन् उनका सामु उभिएका नेकपा एमालेका सशक्त उम्मेदवार तथा निवर्तमान सांसद हरिप्रसाद उप्रेती । श्रेष्ठको चुनावी इतिहास हेर्दा राजनीतिक उचाइ र चुनावी परिणामबीच गहिरो विरोधाभास देखिन्छ । २०६४ मा पहिलो संविधानसभामा मनोनयन प्रक्रियाबाट संसद पुगेका उनी त्यसपछि मन्त्री बने, प्रभावशाली नेता बने तर जनमतको कसीमा भने बारम्बार असफल भए । श्रेष्ठ २०७० को आम चुनावमा मकवानपुर–३ मा नेकपा एमालेका उम्मेदवार सुवाषचन्द्र ठकुरीसँग पराजित भएका थिए । एमाले माओवादी गठबन्धनका बाबजुद पनि माओवादी गढ मानिएको आफ्नै गृहजिल्ला गोरखा–२ बाट २०७४ मा पनि श्रेष्ठ पराजित हुन पुगे । हरेक राजनीतिक कार्यकर्ता जनमतबाट अनुमोदित हुन चाहन्छ । यो चाहनाले नै श्रेष्ठलाई कहिले मकवानपुर पुर्यायो त कहिले गोरखा । यसपटक उनी सर्लाही पुगेका छन् । तर स्थानीय गुरु भट्टराई भने श्रेष्ठलाई पर्यटक उम्मेदवार मान्छन् । उनी भन्छन्, ‘श्रेष्ठले हारेपनि भाग्छन् जिते पनि फर्किँदैनन् ।’ २०७६ मा राष्ट्रियसभा सदस्य बनेपछि श्रेष्ठले उपप्रधानमन्त्रीसहित गृह, ऊर्जा, सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हाले । तर, यी सबै उपलब्धिमाथि एउटा प्रश्न सधैं झुण्डिरह्यो–जनताले प्रत्यक्ष रूपमा किन जिताएनन् ? श्रेष्ठ त्यही प्रश्नको उत्तर खोज्दै अहिले सर्लाही–३ मा पुगेका हुन् । नेकपाका लागि लागि सर्लाही नयाँ जिल्ला होइन । मधेसका अन्य जिल्लाभन्दा सर्लाही–३ लाई पार्टीभित्र सम्भावनायुक्त क्षेत्र मानिन्छ । त्यसैले श्रेष्ठले सर्लाही रोजेको चर्चा राजनीतिक वृत्तमा छ । तर यही क्षेत्र २०७९ मा पाँच दलीय गठबन्धनका वावजुद पनि एमालेका हरिप्रसाद उप्रेतीले जितेको यथार्थ पनि छ । त्यसैले श्रेष्ठको आगमनमा सर्लाही–३ सुरक्षितभन्दा बढी रणनीतिक जुवाखेल जस्तो देखिन्छ । श्रेष्ठको बाटोमा सबैभन्दा ठूलो पहाड बनेर उभिएका छन् एमालेका उप्रेती । २०७९ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतको अन्तरले पराजित गरेका उप्रेती यस क्षेत्रमै सक्रिय, संगठनमा पकड भएका र स्थानीय मतदातासँग प्रत्यक्ष सम्बन्ध बनाएका नेता हुन् । उप्रेतीको पक्षमा रहेका मुख्य आधारहरूमा निवर्तमान सांसदको हैसियत र एमालेको संगठित भोट बैंक रहेको स्थानीय नारायणप्रसाद गौतम बताउँछन् । उनका अनुसार स्थानीय विकास र पहुँचको दाबी सँगै स्थानीय हुनुको फाइदा उप्रेतीलाई रहेको छ । रास्वपालगायत अन्य दलहरू यो निर्वाचन क्षेत्रमा उप्रेती र श्रेष्ठबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार र नेपाली कांग्रेसका विनोदप्रसाद खनाल मैदानमा उत्रिएका छन् । श्रेष्ठ, उप्रेती, कलवार र खनालसहित ३७ जना यहाँ उम्मेदवार रहेका छन् । ढोलराम बारकोटी राप्रपा, जयप्रकाश राय जनता समाजवादी पार्टी, नेपाल, सुनिलप्रसाद गुप्ता जनमत पार्टी, सबिउल शेष प्रगतिशील लोकतान्त्रिक पार्टी, वीर बहादुर रुम्बा मंगोल नेशनल अर्गनाइजेसन, पवन कुमार महतो नेपाल कम्युनिस्ट पार्टी माओवादी, त्रिभुवन कुमार सिंह उज्यालो नेपाल पार्टी, राम बहादुर महतो कोइरी प्रजातान्त्रिक पार्टी नेपाल, शिवदयाल महरा बहुजन एकता पार्टी नेपाल, महेश राज दाहाल राष्ट्रिय मुक्ति पार्टी नेपाल उम्मेदवार रहेका छन् । त्यसैगरी, सन्दिप थापा, उमेश कुमार राय, रामपृत महरा, कृष्ण नन्दन राय, चन्दन राजवंशी, युवराज पाख्रिन, अनिल कुमार यादव, मुकेश कुमार राय, कृष्ण कुमार शाह, प्रमोद कुमार साह, कुमारी अधिकारी, लोक बहादुर दर्लामी, डम्वर बहादुर खड्का, युवराज लुईंटेल र राम चन्द्र चमार स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा रहेका छन् । २०७९ को मत हेर्दा गत निर्वाचन २०७९ मा यस निर्वाचन क्षेत्रमा नेकपा एमाले र पाँच दलीय गठबन्धनका उम्मेदवारबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको थियो । प्रत्यक्षमा एमालेका उम्मेदवार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा माओवादी केन्द्रका नरेन्द्र कलवारले ३२ हजार १६८ मत ल्याएका थिए । उप्रेतीले कलवारलाई ७७० मतको झिनो अन्तरले पराजित गरेका थिए । समानुपातिक तर्फपनि एमाले र तत्कालीन माओवादी केन्द्रको मतान्तर सानो रहेको छ । समानुपातिक तर्फ माओवादी केन्द्रले १५ हजार ४७१ मत प्राप्त गर्दा एमालेले १५ हजार ५ मत प्राप्त गरेको थियो । समानुपातिकतर्फ जसपाले १२ हजार ७९ लोकप्रिय मत ल्याएर तेस्रो हुँदा नेपाली कांग्रेसले ९ हजार ९७९ मत ल्याएर चौथो लोकप्रिय पार्टी बनेको थियो । रास्वपाले ६ हजार ९६२ लोकप्रिय मत ल्याएर छैटौं स्थान प्राप्त गरेको थियो । सर्लाही–३ उत्तरी भूभागमा फैलिएको मिश्रित क्षेत्र हो । यस निर्वाचन क्षेत्रमा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कबिलासी र बसबरीयाका ५१ ओटा वडा समेटिएका छन् । यो क्षेत्रमा पहाडी मूलका मतदाताको बाहुल्यता छ । स्थानीय मतदाता समेत रहेका गौतमका अनुसार पहाडी मतदातामा पुगेर मत बदल गर्न सक्ने अवस्था श्रेष्ठको छैन। उनी भन्छन्, ‘पहाडी मत सुरक्षित राखेर मधेसी समुदायमा आफ्नो रवाफ देखाउन सक्ने उम्मेदवारले जित निकाल्न सक्छ ।’ गौतमका अनुसार श्रेष्ठ राष्ट्रिय स्तरको नेता भएपनि यहाँका मतदाताहरूका लागि भने आफ्नो नेता होइन भन्ने भाव रहेको छ । श्रेष्ठले जित्नका लागि रास्वपाको प्रभाव न्यूनीकरण गर्नुपर्ने र आफूलाई केन्द्रको होइन, सर्लाहीकै उम्मेदवारका रूपमा स्थापित गर्नुपर्ने गौतमको सुझाव छ ।