बैतडीमा मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीका छोरासम्म चुनावी मैदानमा, कसले मार्ला बाजी ?
काठमाडौं । यति बेला देशभर निर्वाचनको रौनक बढ्दै गइरहेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको बैतडीको चुनावी माहोल पनि झनै तातेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री बनेका उम्मेदवारदेखि पूर्वप्रधानमन्त्रीका छोरासम्म चुनावी मैदानमा छन् । उसो त बैतडी नेपाली कांग्रेस र नेकपा एमालेको बलियो आधार भएको किल्ला हो । एमालेले पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं केन्द्रीय सदस्य दामोदर भण्डारीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई मैदानमा उतारेको छ । भण्डारी दुईपटक उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री समेत भइसकेका छन् । बैतडीको पाटन घर भएका उनी २०७० देखि सो क्षेत्रमा जित्दै आएका छन् । २०७० सालको निर्वाचनमा भण्डारी बैतडी १ बाट नरेन्द्र कुँवरलाई पराजित गरेका थिए । त्यतिबेला बैतडीमा २ वटा निर्वाचन क्षेत्र थिए । पछि २०७४ सालमा भने एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको तालमेल भएका थियो जसमा उमेदवार दामोदर नै रहेका थिए । २०७४ सालको निर्वाचनमा भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए । भण्डारीले ३९ हजार ५२४ मत ल्याउँदा चन्दले २८ हजार २९१ मत मात्रै पाएका थिए । त्यसपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत पाएका थिए । कुँवरलाई एक हजार ५३१ मतले पछि पार्दै भण्डारीले निर्वाचन जितेका थिए । २०७० सालदेखि निरन्तर तीन पटक चुनाव जितेका भण्डारी यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । १० स्थानीय तह, ८४ वडा र १२९ बुथहरूमा एमालेको विजय अभियान लिएर आफू घरदैलो अभियानमा होमिएको भण्डारीको भनाइ छ । उनले आफ्नो कार्यकालमा बैतडीमा विकासको ठोस आधार तयार भएको दाबी गरे । १० वटै पालिका केन्द्र जोड्ने सडकको आधारभूत रूपरेखा आफ्नै पालामा तयार भएको जिकिर उनको छ । त्यसैगरी, जिल्लाभर तीव्र रूपमा विद्युतीकरणको काम अघि बढेको पनि उनले बताए । त्यस्तै, तीनवटा आङ्गिक क्याम्पसको स्थापना, विद्यालयमा भौतिक पूर्वाधार सुधार र जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहितको बनाउने कार्य आफ्नो पालामा अघि बढेको उनले सुनाए । ‘हामीले धेरै कामको सुरुवात गरेका छौं, अब त्यसलाई तार्किक निष्कर्षमा पुर्याउनु छ,’ भण्डारीले विकासन्युजसँग भने । उनले आफ्नो आगामी कार्यकालको पहिलो प्राथमिकतामा अघिल्ला कार्यकालमा सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका अधुरा योजनाहरूलाई पूरा गर्ने दावी गरे । जनताले भोग्दै आएको प्रशासनिक झन्झट र सेवा प्रवाहमा देखिएका कमजोरीहरूप्रति भण्डारी सचेत रहेको बताउँछन् । उनी भन्छन, ‘अहिलेको प्रशासनिक स्वरूपमा रहेका कमजोरीका कारण जनताले चाहेजस्तो सेवा पाउन सकेका छैनन् । एमालेको बहुमतको सरकार बनेपछि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनु हाम्रो मुख्य उद्देश्य हुनेछ ।’ भण्डारीका अनुसार सबै वडामा व्यवस्थित सडक सञ्जाल पुर्याउने विशेषज्ञ सेवासहितको जिल्ला अस्पताल, जनमुखी र झन्झटरहित प्रशासनिक सेवा तथा भौतिक संरचना र जनशक्तिको उचित व्यवस्थापनलगायत एजेण्डा अघि सारिएको छ । नेपाली कांग्रेसले भने भण्डारीको विरासतलाई टक्कर दिन यसपटक बैतडीका नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई मैदानमा उतारेको छ । उनी सहिद दशरथ चन्दका नाति हुन् । शिक्षक संघको राजनीतिबाट उदाएका चन्द पहिलोपटक चुनावी मैदानमा होमिएका हुन् । उनी बैतडी जिल्ला सभापतिसमेत हुन् । बैतडीमा चन्दको पडक राम्रो रहेको धेरैको बुझाइ छ । तीन दशकदेखि क्रिकेटको विकासमा लागिपरेका चन्द जित्ने दाउमा छन् । सहिद दशरथ चन्दको विरासत जोगाउने मेसोमा चन्द बैतडीबाट चुनाव लड्न पाउनुलाई चन्दले आफ्नो लागि ऐतिहासिक अवसर रहेको बताउँछन् । उनी भन्छन्, ‘म पार्टीमा पुरानो भए पनि जनताको मत माग्न पहिलोपटक आएको छु । बैतडीले पटक-पटक मन्त्री त पायो, तर विकास र न्याय पाएन । अबको लडाइँ बैतडीको स्वाभिमान र समग्र समृद्धिका लागि हो ।’ दशरथचन्द नगरपालिका घर भएका चन्द बैतडीको विकास इच्छाशक्तिको कमीले रोकिएको दावी गर्छन् । ‘महाकाली नदीको झुलाघाटमा पक्की पुल बन्नुपर्ने ३० वर्ष पहिले नै हो । तर पुराना प्रतिनिधिहरूको प्राथमिकतामा यो परेन । बैतडीबाट भइरहेको पलायन र बाँझिदै गएका खेतबारी रोक्न कनेक्टिभिटी अनिवार्य छ,’ उनी भन्छन् । धार्मिक पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्दै बैतडीलाई राष्ट्रिय मूलधारमा जोड्ने उनको मुख्य एजेण्डा छ । आफ्नो राजनीतिक दर्शन ‘सामाजिक न्याय’ मा आधारित रहेको बताउँदै चन्द भन्छन्, ‘अहिले शक्तिको आडमा कार्यकर्ता पोस्न सामुदायिक भवन बनाउने चलन छ, जहाँ स्कुलको भवन आवश्यक छ । नेताले चाहेको विकास होइन, जनताले खोजेको विकास मेरो प्राथमिकता हो ।’ बैतडीमा योग्य र शक्तिशाली प्रतिनिधित्वको अभाव रहेको चन्दको दावी छ । ‘म केन्द्रसँग विकास खोसेर ल्याउन सक्ने क्षमता राख्छु । म परिणाम दिन आएको हुँ, समय कटाउने खेलोमा लाग्दिनँ,’ उनले भने । अरु प्रतिस्पर्धीहरूको तुलनामा आफूले धेरै काम गरेको उनी बताउँछन् । ‘म क्रिकेट संघमा हुँदा नेपालले दुई पटक विश्वकप खेल्ने अवसर पायो । शिक्षक संघमा हुँदा ५४३ विद्यालयको शैक्षिक सुधारमा काम गरें । मसँग अनुभव र विज्ञता दुवै छ । मलाई समस्या बुझ्न अध्ययन गरिरहनु पर्दैन, म आफै त्यो भोगाइबाट आएको मान्छे हुँ,’ उनले भने । उनी अमर सहिददशरथ चन्दका नाति हुन् । सहिदको जन्मघरको संरक्षण उनले गर्दै आएका छन् । २० वर्षदेखिको प्रतीक्षामा रहेको झुलाघाट पक्की पुलको निर्माण सम्पन्न गर्ने, बैतडीलाई सुदूरपश्चिमकै शैक्षिक र खेलकुद हब बनाउने, बाँझो जमिन उपयोग गरी पलायन रोक्ने तथा पहुँचको आधारमा नभई आवश्यकताका आधारमा बजेट वितरण गर्ने लगायतका एजेण्डा चन्दले अघि सारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट एमाले उम्मेदवार भण्डारीकै नाता पर्ने हरिमोहन भण्डारी मैदानमा छन् । दामोदर र हरिमोहन पाटन नगरपालिकाका एउटै गाउँका भण्डारी बन्धु हुन् । हरिमोहनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दिँदै ११ हजार १८ मत प्राप्त गरेका थिए । उनी एमालेका उम्मेदवार तथा जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए । स्वतन्त्र उम्मेदवार भएर पनि उल्लेख्य मत प्राप्त गर्न सफल भण्डारीको राजनीतिक प्रभाव भने कमजोर नरहेको स्थानीयहरू बताउँछन्। २०७४ सालको निर्वाचनमा हरिमोहन नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १५ हजार १२६ मत प्राप्त गरे पनि तत्कालीन नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए । लगातार दुई निर्वाचनमा पराजय भोगेका हरिमोहन यसपटक भने आफू जित्ने दावी गर्छन् । विद्यमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै हरिमोहन नयाँ सोच र जवाफदेही राजनीति हुनुपर्नेमा जोड दिन्छन् । उनले सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र संस्थागत सुधारलाई आफ्नो प्रमुख राजनीतिक एजेण्डा बनाएका छन् । हरिमोहन पूर्वाधार विकास, कृषि क्रान्ति, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र रोजगारी सिर्जना अब भाषणमा सीमित नभई कार्यान्वयनको चरणमा पुग्नुपर्ने बताउँछन् । ‘विगतका मन्त्री र उम्मेदवारहरूले जस्तो खोक्रो आश्वासन दिने होइन, त्यसलाई पूर्ण रूपमा पूरा गर्ने राजनीति मेरो बाटो हो,’ हरिमोहनले भने । परम्परागत दलहरूको असफलता र त्यसबाट जनतामा पैदा भएको निराशालाई चिर्दै नयाँ सोच, नयाँ शैली र जवाफदेही राजनीतिक अभ्यासमार्फत मात्र परिवर्तन सम्भव हुने उनले दावी गरे । ‘जनताको बहुमतबाट निर्वाचित हुनेमा म पूर्ण विश्वस्त छु,’ उनले भने । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई उनले केवल विरोधको कार्यक्रम नभई दशकौंदेखि मौलाउँदै आएको सिन्डिकेट, भ्रष्टाचार र अवसरविहीनताको विरुद्धको ऐतिहासिक संघर्षको संज्ञा दिए । हरिमोहन पनि बैतडीको राजनीतिमा परिचित र प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन् । यसपटक चन्द र दुई भण्डारीबीच नै कडा टक्कर हुने धेरैको आँकलन छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले परमान्नद भट्टलाई मैदानमा उतारेको छ । उनी चुनावी मैदानमा पहिलो पटक होमिएका हुन् । सुर्नयाँ गाउँपालिकाका भट्टलाई जिल्लामा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । आफू बैतडीमा लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ । एमाले बैतडीका संस्थापक नेतासमेत रहेका भट्ट यसअघि जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए । उम्मेदवार भट्टले निर्वाचन जितेपछि बैतडीको समग्र विकासलाई प्राथमिकतामा राख्दै सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस पहल गर्ने बताए । ‘बैतडीलाई पछि पारिएको जिल्लाको रूपमा होइन, सम्भावनायुक्त जिल्लाको रूपमा स्थापित गर्ने मेरो लक्ष्य हो । यसअघि बैतडीले प्रधानमन्त्री, मन्त्री पायो तर विकास पाएन । हामी बन्न आएका होइनौं, बनाउन आएका हौं,’ भट्टले विकासन्युजसँग भने । उनी पनि यति बेला घरदैलो अभियानमा व्यस्त छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूपेन चन्दलाई मैदानमा उतारेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा भूपेन पाइलट, आईटी इन्जिनियर र कलाकार पनि हुन् । उनको उम्मेदवारीले जिल्लाका स्थापित र हेभीवेट नेताहरूलाई बलियो चुनौती दिने आँकलन देखिएको स्थानीयहरू बताउँछन् । लामो समय विदेशमा विज्ञता हासिल गरेर स्वदेश फर्किएका चन्द अहिले राजनीतिको माध्यमबाट देशको सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका हुन् । चन्दको चुनावी अभियानले युवाका मुद्दालाई केन्द्रमा राखेको छ । राप्रपा बैतडीका अध्यक्ष इन्द्रशरण देव भट्टका अनुसार पुराना दल र नेताहरूको कार्यशैलीबाट जनता वाक्क-दिक्क भएकाले नयाँ अनुहारको खोजी भएको हो । ‘विगतमा उहाँहरूले गरेका काम देखेर जनतामा निराशा छ, त्यसैले अहिले मतदाताहरूले परिवर्तन खोजिरहेका छन्,’ भट्टले विकासन्युजसँग भने । ‘जहाँ गए पनि राम्रो उत्साह पाएका छौं, पुराना दलबाट निराश भएका मानिसहरू हामीसँग जोडिइरहनुभएको छ । हाम्रो जित्ने सम्भावना ९० प्रतिशत छ,’ उनले थपे । चन्दले देशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गरी सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस नीति निर्माण गरी कार्यान्वयन गर्नेलगायतका एजेण्डा अघि सारेका छन् । एक दशभन्दा बढी समय विदेशमा बिताएर नेपाल आएका चन्दले देशको लागि केही गर्ने भन्दै चुनावमा होमिएको बताउँछन् । उनले भने, ‘पहिलेका बाट पार लाग्ने देखिएन । त्यसैले म चुनावमा होमिएको हुँ । सबैले यसपटक मलाई भोट दिएर जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु । अब देशलाई पार्टीको कार्यकर्ता होइन, देशको सेवक चाहिएको छ ।’ उनले आफ्ना बुवा तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री भएपछि मेचीदेखि महाकालीसम्मका सबै जनता मेरा हुन् भन्ने भावना राखेर अघि बढेको दाबी गरे । आफ्नो क्षेत्रलाई मात्र काखी च्यापेर राष्ट्रिय नेता बन्न नसकिने उनको भनाइ छ । कस्तो छ निर्वाचन तयारी ? जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खकेन्द्र भारतीले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, मतदान सामग्री र अन्य लजिस्टिक तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि सबैतिर धमाधम काम भइरहेको छ । हामी निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न कटिबद्ध छौं,’ भारतीले विकासन्युजसँग भने । भारतीका अनुसार बैतडीमा कुल मतदाता संख्या १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् । जिल्लाभर १२९ मतदान स्थल र २१४ मतदान केन्द्र तोकिएको छ । जिल्लाभरि रहेका २१४ ओटा मतदान केन्द्रमा १ हजार ४४२ जना कर्मचारी खटाउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । सुरक्षाको हिसाबले बैतडीका ३३ ओटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सुरक्षाका लागि सबै ठाउँमा शान्तिपूर्ण मतदानको व्यवस्था मिलाइएको भारतीको भनाइ छ । ‘हाम्रो लागि सबै मतदान केन्द्रहरू उत्तिकै महत्त्वपूर्ण र सुरक्षित छन्,’ उनले भने, ‘हामीले सबै मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरेका छौं ।’ बैतडीमा १० वटा राजनीतिक दल र एक जना स्वतन्त्रसहित ११ जनाले मनोनयन दर्ता गराएका छन् । एमालेबाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालबाट आन सिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्र राज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नबराज कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम बहादुर कुवँर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी, आमजनता पार्टीबाट बिशन सिंह बोहरा तथा जयप्रकाश बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कोशी प्रदेश : जनजाति प्रतिनिधित्वमा कुन दल कति अगाडि ?
काठमाडौं । नेपाल चार वर्ण छत्तीस जातको साझा फुलबारी हो । नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहले भनेको यही भनाइ आज पनि राजनीतिक प्रतिनिधित्व र समावेशिताको बहसमा उत्तिकै सान्दर्भिक छ । यही मर्मलाई आधार मानेर हामीले कोशी प्रदेशबाट संसद भवन पुग्ने अभियानमा रहेका उम्मेदवारहरू कुन दलका र कुन जातीय क्लस्टरका हुन् भन्नेबारेमा खोज्ने प्रयत्न गरेका छौं । हिमाल, पहाड र तराई भूगोल समेटिएको कोशी प्रदेशमा १४ जिल्ला र २५ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । यसमध्ये करिब ७२ प्रतिशत अर्थात ३५ लाख ७४ हजार ३१० जना मतदाता छन् । तीमध्ये १८ लाख २८ हजार २१३ पुरुष र १७ लाख ४६ हजार ६३ महिला मतदाता रहेका छन् । कोशी प्रदेशको कुल जनसंख्याको ४४ दशमलव ६ प्रतिशत जनजाति समुदायको हिस्सा छ । जनजाति समुदायभित्र राई १० दशमलव २ प्रतिशत, लिम्बु ७ दशमलव ८ प्रतिशत छन् । तामाङ, थारु र मगरको संयुक्त हिस्सा १२ दशमलव ८ प्रतिशत छ भने नेवार, राजवंशी र हिमाली जनजातिको जनसंख्या १२ दशमलव ५ प्रतिशत रहेको छ । यही जनसांख्यिक आधारलाई मध्यनजर गर्दै चार ठूला दलहरूले कोशी प्रदेशमा जनजाति समुदायबाट कति उम्मेदवार उठाए भन्ने तथ्य हामीले खोजेका छौं । नेकपा एमालेले यस प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार जनजाति समुदायवाट उठाएको छ । उक्त दलका २५ मध्ये १७ जना उम्मेदवार यस प्रदेशमा जनजाति समुदायबाट रहेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६ जना र नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १०–१० जना उम्मेदवार जनजाति पृष्ठभूमिका रहेका छन् । एमालेले सबैभन्दा धेरै जनजाति उम्मेदवार उठाएको छ । एमाले कोशी प्रदेशकै सबैभन्दा ठूलो दल पनि हो । एमालेका अधिकांश जिल्लामा जनजाति प्रत्यासी रहेको एमालेका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले बताए । एमालेले ताप्लेजुङ, पाँचथर, इलामका दुवै निर्वाचन क्षेत्र, झापाका ३ र ४ नम्बर क्षेत्र, मोरङका दुई क्षेत्र, धनकुटा, सुनसरी ३, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर–२ मा जनजाति उम्मेदवार मैदानमा उतारेको छ । नेपाली कांग्रेसले ताप्लेजुङ, पाँचथर, इलाम–१, झापा–४, सुनसरी–१ र ३, मोरङ–१, खोटाङ र उदयपुर–२ मा जनजाति उम्मेदवार खटाएको छ । कांग्रेस नेता रामहरि खतिवडाले कांग्रेसको जनजाति उम्मेदवारी सीमित भएपनि भूगोलमा फैलिएको जानकारी दिए । नेकपाले संखुवासभा, इलामका दुवै निर्वाचन क्षेत्र, झापा–२ र ५, भोजपुर, सोलुखुम्बु, मोरङका चारवटै र सुनसरीका दुई निर्वाचन क्षेत्र, उदयपुर–२ तथा ओखलढुंगामा जनजाति उम्मेदवारलाई नै प्रत्यासी बनाएको छ । नेकपाले पूर्वी तराई र पहाडमा बलियोगरी जनजाति उम्मेदवार उठाएको तत्कालीन नेकपा माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । समावेशिताको दृष्टिले हेर्दा रास्वपाले संखुवासभा, ताप्लेजुङ र इलामका दुई निर्वाचन क्षेत्रमा जनजाति उम्मेदवार अघि सारेको छ । मोरङ–१, सुनसरी–३ तथा उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पनि जनजाति उम्मेदवार छन् । तर, झापाबाट भने रास्वपाले कुनै पनि जनजाति उम्मेदवार उठाएको छैन । रास्वपा समावेशितामा सचेत रहेको केन्द्रीय सदस्य निशा डाँगीले बताइन् । कोशी प्रदेशको जनसांख्यिक बनोट हेर्दा जनजाति समुदायको प्रतिनिधित्व राजनीतिको केन्द्रमा हुनु स्वाभाविक देखिन्छ । चार ठूला दलमध्ये एमाले र नेकपाले संख्यात्मक रूपमा अग्रता लिएका छन् भने कांग्रेस र रास्वपाको उपस्थिति तुलनात्मक रूपमा कम छ । फुलबारीमा सबै रंगका फूल फुल्नु नै समावेशी लोकतन्त्रको सौन्दर्य हो । अब प्रश्न यही हो—उम्मेदवारीको संख्या मात्र पर्याप्त पक्कै होइन । तीमध्ये जनमतबाट को को अनुमोदित होलान् ? यसको उत्तर फागुनको अन्तिम साताले नै बताउला ।
सुनसरी-२ मा एमालेभित्रको द्वन्द्वले कांग्रेस र रास्वपालाई राहत, यस्तो छ चुनावी अंकगणित
काठमाडौं । सुनसरी २ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन रोचक हुँदैछ । किनभने गत निर्वाचनमा जस्तै पुराना दलले नयाँ र टेस्टेड उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि प्रदेश सभा सदस्य भइसकेका राजीव कोइरालालाई उठाएको छ । कोइराला जिल्लामा कांग्रेसवृत्तमा राम्रो नेता मानिन्छन् । उनी सुनसरी कांग्रेसको दुई पटक सभापति भइसकेका छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा २ नम्बर क्षेत्रबाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए । उनले ३२ हजार ८ सय मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ पाएका थिए । प्रदेश सभाकै निर्वाचनमा कोइरालासमेत पराजित भएका थिए । उनी एमालेका उम्मेदवार रामप्रसाद मेहतासँग पराजित भएका थिए । एमालेका उम्मेदवार मेहताले १८ हजार १९१ मत प्राप्त गरेका थिए । कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका थिए । यतिखेर कांग्रेसका उम्मेदवार कोइरालाले घरदैलो अभियान सुरु गरिसकेका छन् । उनलाई यसपटक प्रदेशसभाको निर्वाचनमा पराजित भएको बदला लिनु छ । कोइराला निर्वाचित भए यात्रा विराटनगरबाट काठमाडौंतर्फ मोडिनेछ । यसअघि उनी प्रदेशसभाका लागि विराटनगर जाने गर्थे । उनी कोशी प्रदेश सभा कांग्रेसबाट संसदीय दलका नेतासमेत भएका थिए । कांग्रेसका कार्यकर्ता तथा शुभ चिन्तकहरूले एमालेले कमजोर उम्मेदवार उठाएकाले पनि राजीव कोइरालाले सहजै जित हासिल गर्ने अनुमान गरेका छन् । २ नम्बर क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाका कांग्रेस सभापति सुदीप अधिकारी कांग्रेस र रास्वपाको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताउँछन् । ‘कांग्रेसको विशेष महाधिवेशनको कारण हामीलाई मतदाताको घरमा जान सहज भएको छ,’ उनले भने, ‘पुराना नेताहरूलाई विशेष अधिवेशनबाट नेतृत्वबाट विदा गरेका छौं भनेर भन्न पाइएको छ । यसपटक कांग्रेसको उम्मेदवार निर्वाचित भएमा युवा नेतृत्वले मुलुक हाँक्न सक्छन् ।’ पार्टीले विवादरहित र निष्कलंक उम्मेदवार उठाएको अधिकारी दाबी गर्छन् । उनले भने, ‘अन्य दलका व्यक्तिहरू पनि कांग्रेसको उम्मेदवारप्रति सकारात्मक रहेको पाइएको छ । प्रदेश सभा सदस्य भइसकेको र दुई पटक जिल्ला सभापति भइसकेकाले उहाँप्रति सबैको भरोसा छ ।’ कार्यकर्ताहरूले मिहिनेत गरेमा यसपटक कांग्रेसको उम्मेदवार विजयी हुने सम्भावना रहेको उनको भनाइ छ । जति धेरै जितको सम्भावना भए पनि कोइरालालाई चुनौती उत्तिकै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ दलहरूले भोट काट्ने जोखिम उत्तिकै छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वापाले करिब २० हजार मत हासिल गरेको थियो । यस पटकको निर्वाचन झन रास्वपामय भएको चुनावी माहोलले देखाइरहेको छ । सुनसरी २ मा आलोपालो कांग्रेस एमालेको जित हुँदै आएको इतिहास छ । प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा कांग्रेसका सीताराम मेहताले जित हासिल गरेका थिए । गत निर्वाचनमा भने एमालेका भीम आचार्य निर्वाचित भएका थिए । त्यहीँ भएर पनि कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा कार्यकर्ताहरू ढुक्क छन् । कतिपय कार्यकर्ताहरू आत्मविश्वासका साथ निर्वाचन प्रचारप्रसारमा लागेका छन् । त्रिपक्षीय प्रतिस्पर्धा सुनसरी २ मा भने एमालेले कोशी प्रदेश युवा संघका संयोजक सुजन लामालाई टिकट दिएको छ । सुरुमा एमालेले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई त्यस क्षेत्रमा टिकट दिइएको थियो । तर, पछि उनको टिकट खोसेर लामालाई दिइएको थियो । उनले टिकट पाउनासाथ सुनसरी एमालेमा विरोध भएको थियो । लामा एमाले युवाहरूमा मात्र परिचित छन् । २ नम्बर क्षेत्रमा युवाको भन्दा वयस्क उमेरका एमालेहरूको बाहुल्यता रहेकाले उनीमाथि अन्तर्घात हुन सक्ने सम्भावना देखिन्छ । लामा युवा उम्मेदवार भएकाले समाज र राजनीतिक चेतना समेत नभएको भन्दै स्थानीयहरू असन्तुष्टि छन् । उनलाई निर्वाचनमा सबैभन्दा धेरै धोका एमालेका कार्यकर्ताबाट हुने बताइएको छ । इटहरीको १० वटा वडामा एमालेको मत राम्रो रहेको छ । सोही क्षेत्रमा एमालेको मतदाता रहे पनि तल्लो क्षेत्रमा भने एमालेको उपस्थिति न्यून छ । अन्य स्थानीय तहका वडामा एमालेको मत कमजोर रहेको छ । अन्य भेगमा एमालेको भन्दा कांग्रेसको मतदाताहरूको संख्या बढी छ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य डेगराज फुँयालले २ नम्बर क्षेत्रमा २० भन्दा बढी वडामा एमाले जनप्रतिनिधि रहेकाले आफ्नो उम्मेदवारले सहजै जित हासिल गर्ने दाबी गरे । ‘एमालेको उम्मेदवारलाई जिताउन घरदैलो अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रबाट युवा उम्मेदवार रहेकाले अन्य दलका युवाहरू एमालेमा प्रवेश गर्ने लहर बढेको छ ।’ २ नम्बर क्षेत्रका एमालेहरू उम्मेदवारलाई विजयी गराउन एकढिक्का भएर लागिसकेको फुँयालले बताए । पार्टीका पुराना तथा अग्रज कार्यकर्ताहरूमा अहिलेको उम्मेदवारमा कुनै तुष नभएको दाबी गरे । कार्यकर्ता एक भएर सबै वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसारमा लागिसकेको फुँयालले बताए । ‘२ नम्बर क्षेत्रमा एमालेको प्रतिस्पर्धा कांग्रेसको उम्मेदवारसँग हुन्छ,’ उनले भने । गत निर्वाचनमा रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए । यस पटक पनि पार्टीबाट तिनै उम्मेदवार पुनः दोहोरिएका छन । मुलुकभर रास्वपातर्फ मतदाताहरू आकर्षित भएकाले उनले पनि जित हासिल गर्न सक्ने सम्भावना बढी देखिन्छ । यी हुन् अन्य उम्मेदवारहरू सुनसरी २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुजना लामा, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, रास्वपाबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता, नेमकिपाबाट गीता मैया बाजीको उम्मेदवारी परेको छ । यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट अतित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति राईबाट चेतन राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टी गोपाल तामाङ, राष्ट्रिय मुक्ति नेपाल सन्तोष कुमार मेहता, राष्ट्र निर्माण दल नेपालबाट आदित्य आचार्य र आम जनता पार्टीबाट निरञ्जन ठाकुर चुनावी प्रतिस्पर्धामा छन् । सुनसरी–२ मा स्वतन्त्र उम्मेदवारका रुपमा अन्जनता देवी गुप्ता, इफतखार हसन (इकवाल), डम्बरबहादुर बराइली, देवेन्द्र पौडेल, नवराज पौडेल, भीमबहादुर दाहाल, रोसनी राई, राजकुमार खत्री रसत्यनारायण पण्डित उम्मेदवार बनेका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदाता रहेका छन् भने ४० वटा मतदानस्थल र मतदान केन्द्र १६१ वटा रहेका छन् । २ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको १० वटा वडा, रामधुनी नगरपालिकाको ६ वटा वडा, इनरूवा नगरपालिकाको ६ वटा वडा, देवानगञ्ज गाउँपालिकाको ७ वटा वडा र हरिनगर गाउँपालिका १ वटा वडा पर्छन् ।