सभापति थापा भन्छन्– पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् । आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् ।  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो ।  सोही सन्दर्भलाई थापाले जन्मेदेखि आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका हुन् । उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, त्योभन्दा धेरै निन्दा यो गएको तीन दिनमा भएको छ, मेरो ।’ उनले सञ्चारमाध्यमका हेडलाइन नै आफ्नो निन्दाले भरिएको पनि बताए ।

भुसालको टिप्पणी: मुलुक पहिला नालायकहरूबाट शासित, निर्वाचनपछि लफङ्गाहरूबाट

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।  आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  उक्त निर्वाचनमा कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय बेहोरेको नेता भुसालको भनाइ छ । उनले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भएपनि निर्वाचनपछि लफङ्गाहरूबाट शासित हुन पुगेको टिप्पणी पनि गरे । उनले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भएपनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताए ।  मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरु बढ्ने जोखिम बढेको उनको भनाइ छ । उनले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्नसमेत गरे ।  नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औंल्याए । –न्युज एजेन्सी नेपाल

मञ्चमै आक्रोश, कागज खोसाखोस

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर सूमहको राष्ट्रिय भेलाको समापनको क्षण । मञ्चमा नेताहरू आसनमा थिए । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको हातमा थियो पार्टीको राजनीतिक निष्कर्ष समेटिएको प्रस्तावको कागज । कार्यक्रम समापनतिर पुग्दै थियो । तर, त्यही कागजमा लेखिएको एउटा शब्दले कांग्रेसको मञ्चलाई एकाएक तनावग्रस्त बनायो । त्यो शब्द थियो ‘हिन्दु’ ।  प्रस्ताव सार्वजनिक गर्ने तयारी भइरहेका बेला कांग्रेसभित्रको इतर समूहको भेलामा नेताहरूबीच मतभेद सतहमा आयो । विवाद यति बढ्यो कि मञ्चमै कागज खोसाखोसको अवस्था सिर्जना भयो । केही नेता आसनबाट उठेर प्रतिवाद गर्न पुगे भने केहीले प्रस्ताव सच्याउन खोजे ।  विवादको केन्द्रमा थियो– नेपालको सनातन धार्मिक पहिचान र त्यसलाई कांग्रेसको राजनीतिक दस्तावेजमा कसरी समेट्ने भन्ने प्रश्न ।  राष्ट्रिय सम्मेलनको समापनमा सनातन हिन्दु राष्ट्रको अभियान चलाउँदै आएका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मबारे स्पष्ट धारणा राख्न आग्रह गरेका थिए । देउवाले आफू हिन्दु भएको बताउँदै धार्मिक आस्था राख्न पाउने अधिकारको पक्षमा बोलेपछि मञ्चको माहोल थप तातियो । त्यसपछि प्रस्तावमा सनातन धर्मसम्बन्धी विषय समेट्ने विषयले औपचारिक रूप लिन थाल्यो ।  एउटा शब्द, दुई धार प्रस्तावको तेस्रो बुँदामा नेपालमा परम्परादेखि कायम रहेको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडिएको थियो । हिन्दु, बौद्ध, किराँत र प्रकृति धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूतिसहित ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ प्रतिबद्धता प्रस्तावमा राखियो ।  यही वाक्यांशमा कांग्रेस संस्थापक इतर समूहभित्र असहमतिको आवाज चर्कियो । नेता विमलेन्द्र निधिले मञ्चबाटै हस्तक्षेप गर्दै संविधानको मूल भावनाविपरीत हुने कुनै पनि विषय पार्टीको प्रस्तावमा राख्न नहुने धारणा राखे । संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको स्मरण गराउँदै उनले प्रस्तावलाई संवैधानिक व्यवस्थासँग मिलाउनुपर्नेमा जोड दिए । निधिको हस्तक्षेपपछि मञ्चमा तनाव बढ्यो । उनले प्रस्तावमाथि आफ्नो कुरा राख्न खोज्दा नेता डा. प्रकाशशरण महतसँग उनको भनाभनको अवस्था आयो । त्यसक्रममा निधिले महतलाई केहीबेरका लागि हट्न आग्रह गरेको दृश्य अहिले सामाजिक सञ्जालमा समेत व्यापक भाइरल भइरहेको छ ।  कांग्रेसभित्र धर्मको विषयमा रहेको मतभेद भाषणमा मात्र सीमित रहेन । प्रस्ताव सच्याउने प्रयास भएपछि मञ्चमा नेताहरूबीच शारीरिक रूपमा नै हस्तक्षेप गर्नुपर्ने अवस्था आयो ।  निधिले प्रस्तावमा परिवर्तन गर्न खोजेपछि उनलाई रोक्न शंकर भण्डारी, दीपक कुइँकेललगायतका नेताहरू अघि बढे । केही नेताले निधिलाई आसनतर्फ फर्काए । बाहिरबाट हेर्दा यो एउटा सामान्य प्रस्तावमाथिको विवाद जस्तो देखिए पनि घटनाले कांग्रेसभित्र धर्मनिरपेक्षता र सनातन सांस्कृतिक पहिचानलाई लिएर रहेको वैचारिक दूरीलाई मञ्चमै उजागर गरिदियो ।  कांग्रेसका एक नेताका अनुसार विवादको जड हिन्दु धर्म मान्ने वा नमान्ने भन्ने व्यक्तिगत विषयभन्दा पनि त्यसलाई पार्टीको आधिकारिक राजनीतिक दस्तावेजमा कुन भाषामा र कुन संवैधानिक सीमाभित्र राख्ने भन्ने विषय थियो ।  ‘कांग्रेसभित्र धार्मिक स्वतन्त्रतामाथि विवाद छैन । समस्या पार्टीको दस्तावेजमा प्रयोग गरिएको भाषाले भविष्यमा के राजनीतिक अर्थ दिन्छ भन्ने हो । संविधानको मर्म र पार्टीको परम्परागत लोकतान्त्रिक चरित्र दुवैलाई ध्यान दिनुपर्छ भन्ने हाम्रो धारणा हो,’ ती नेताले भने ।  मञ्चमा विवाद भइरहँदा सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गरिरहेका शंकर भण्डारीले भने यसलाई कांग्रेसको वैचारिक यात्रामा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।  देउवाको भनाइले थप्यो अर्थ विवादको अर्को महत्त्व‍पूर्ण पाटो शेरबहादुर देउवाको अभिव्यक्ति हो । भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दु भएको र आफ्नो धार्मिक आस्थालाई सार्वजनिक रूपमा व्यक्त गर्न पाउने अधिकार आफूलाई पनि रहेको बताएका थिए । उनले नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक समुदाय रहेको उल्लेख गर्दै आफू कुनै धर्मको विरोधी नभएको स्पष्ट पारे । देउवाको यो भनाइले कांग्रेसको पछिल्लो राजनीतिक बहसलाई थप अर्थपूर्ण बनाएको छ । किनकि कांग्रेसले एकातिर धर्मनिरपेक्ष संविधानको पक्षमा आफूलाई उभ्याउँदै आएको छ भने अर्कोतिर अहिले पार्टीको राजनीतिक प्रस्तावमै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता आएको छ । यसले कांग्रेसको आगामी राजनीतिक यात्रामा धर्म, संस्कृति र राष्ट्रिय पहिचानको प्रश्नले नयाँ स्थान बनाउन थालेको संकेत गरेको छ ।