लामो समय अनुपस्थित रहेपछि सुदूरपश्चिमका प्रदेश सभा सदस्य देउवा पदमुक्त

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ । 

प्रदेश सभा बैठकमा लामो समयदेखि बिनाजानकारी लगातार अनुपस्थित रहँदै आएकाले उनलाई पदमुक्त गर्ने निर्णय गरिएको हो । 

सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भइसकेको र यसबारे भोलिको प्रदेश सभा बैठकमा औपचारिक घोषणा गर्ने तयारी रहेको जानकारी दिएका छन् । 

पूर्वमन्त्री समेत रहेका देउवा गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै पार्टी, प्रदेश सभा र प्रदेश सरकार कसैलाई पनि आधिकारिक जानकारी नदिई अमेरिका गएका थिए । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाशबहादुर बिनासूचना लगातार अनुपस्थित रहे पनि विगत ११ महिनादेखि उनको खातामा नियमित रूपमा प्रदेश सभाबाट तलबभत्ता दाखिला हुँदै आएको थियो । 

सूचना नै नदिई लामो समय गैरहाजिर रहेपछि सभामुखले उहाँलाई पदमुक्त गर्ने कानुनी प्रक्रिया अगाडि बढाएका हुन् । 

Share News